Comments Add Comment
नेपाली राजनीतिको विसंगति :

एकपटक पार्टी प्रमुख, आजीवन प्रमुख 

१४ भदौ, काठमाडौं । ‘अनुकूल समयमा नेतृत्व हस्तान्तरण हुनेछ । …निर्विकल्प भन्ने केही हुँदैन । विकल्प त आइहाल्छ, तर त्यसको लागि उपयुक्त समय पर्खिनुपर्छ ।’

-केपी शर्मा ओली (अध्यक्ष, नेकपा एमाले)

‘म त छिटोभन्दा छिटो राजनीतिबाट बिदा भएर संस्मरण लेख्न चाहन्छु । तर, नेतृत्व हाँक्न तपाईं जस्ता युवा तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’

-पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष, माओवादी केन्द्र)

‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । …अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु ।’

-माधवकुमार नेपाल (अध्यक्ष, एकीकृत समाजवादी)

ललितपुरको च्यासलमा ९ भदौमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अनुकूल समयको शर्त राखेर आगामी मंसीर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनबाट पनि नेतृत्वमा दोहोरिने सन्देश दिए ।

नेपालका पार्टी नेतृत्वहरुलाई समर्थकको खाँचो पनि छैन । ‘अनुकूल समय भनेको पार्टी बलियो भएको अवस्था हो’ एमाले नेता आनन्द पोखरेल ओलीको आशय प्रष्ट पार्दै भन्छन्, ‘अहिले उहाँ र पाँच दलको एजेण्डाबीच लडाइँ छ । त्यसकारण पनि एमालेमा एक अवधि केपी ओलीको नेतृत्व अपरिहार्य छ ।’

नेतृत्व नछाड्ने दाबी गरिरहेका एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका पार्टी प्रमुखहरू उमेर र अनुभव दुवैले पाका भइसके । उमेरले देउवा ७५, ओली ७०, प्रचण्ड ६७ र नेपाल ६९ वर्ष पुगे । सबै नेता प्रधानमन्त्री पनि भइसके ।

त्यसको भोलिपल्ट १० भदौमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि एक अवधि राजनीतिमा रहने बताए । ‘मेरो मोटो कुरा के छ भने आगामी चुनावपछि पाँच वर्ष सक्रिय राजनीतिमा रहन्छु’, उनले भने ।

एमालेबाट अलग भएर उनले बनाएको एकीकृत समाजवादीले अघिल्लो दिन ९ भदौमा निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो । अध्यक्ष नेपालको अभिव्यक्तिलाई पदकै निम्ति पार्टी विभाजन गरेको आरोपसँग जोडेर हेरियो । त्यसपछि ११ भदौमा पार्टी निकट पेशागत महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै नेपालले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताए, तर सशर्त । अध्यक्ष नेपालले आफूलाई छोडेर एमालेमै बसेका नेताहरु आए नेतृत्व छाड्न तयार रहेको बताए । जबकि, ती नेताहरुले ८ भदौमा १० बुँदे सहमति गरेर एमालेभित्रै अन्तरसंघर्ष गर्ने बताइसकेका छन् ।

ओली र नेपालपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरणबारे बोल्दै ‘अध्यक्ष छाड्नलाई विकल्प तयार नभइसकेको’ जनाए । १२ भदौमा पार्टी निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेलामा प्रचण्डले नेतृत्व छाड्न तयार भए पनि युवाहरू तयार नभएको बताए ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ९–१२ मंसीरमा हुने १४औं महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । देउवाले नछाड्ने भएपछि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदका लागि अभियान चलाएका छन् ।

२०७४ सालको निर्वाचनमा आफ्नो नेतृत्वमा काग्रेस नराम्रोसँग पराजित भएकाले एकपटक ठूलो दल बनाएर मात्रै पार्टीबाट बिदा लिने देउवाले बताउने गरेका छन् ।

अर्थात्, महाधिवेशन/राष्ट्रिय सम्मेलनको तयारीमा रहेका कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका प्रमुखहरू फेरि पनि नेतृत्वमा आउन प्रयासरत छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

कांग्रेस र एमालेले मंसीरमा महाधिवेशन गर्दैछन् । माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ भने नवगठित एकीकृत समाजवादी राष्ट्रिय सम्मेलनको तयारीमा छ ।

माओवादी केन्द्रका नेता हिमाल शर्मा पार्टीहरुमा पुस्तान्तरणको बहस आवश्यक भएको बताउँछन् । दोस्रो पुस्ताका नेताहरुको पनि परीक्षण भइसकेकाले प्रमुख नेतृत्वसँगै उनीहरुले पनि छाड्नुपर्ने उनको धारणा छ । तर उनै शर्मा भन्छन्, ‘माओवादी केन्द्रको नेतृत्वमा भने तत्काल परिवर्तनको सम्भावना र आवश्यकता दुवै छैन ।’

अतिरिक्त ‘शासनको’ मोह

नेतृत्व नछाड्ने दाबी गरिरहेका एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका पार्टी प्रमुखहरू उमेर र अनुभव दुवैले पाका भइसके । उमेरले देउवा ७५, ओली ७०, प्रचण्ड ६७ र नेपाल ६९ वर्ष पुगे । सबै नेता प्रधानमन्त्री पनि भइसके । देउवा पाँच पटक, ओली तीन पटक, र प्रचण्ड दुई पटक र नेपाल एक पटक प्रधानमन्त्री भए ।

देउवा यसअघि चार पटक (२९ जेठ–१९ माघ २०६१, ११ साउन २०५८–१८ असोज २०५९), २७ भदौ २०५२–२९ फागुन २०५३ र २४ जेठ २०७४–३ फागुन २०७४) प्रधानमन्त्री भएका थिए । ओली तीन पटक (३० वैशाख–२९ असार २०७८, ३ फागुन २०७४–३० वैशाख २०७८ र २५ असोज २०७२–१९ साउन २०७३) प्रधानमन्त्री भए । त्यस्तै, प्रचण्ड दुई पटक (१९ साउन २०७३–२४ जेठ २०७४ र २ भदौ २०६५–२१ वैशाख २०६६ तथा माधवकुमार नेपाल एक पटक (२१ वैशाख २०६६–२३ माघ २०६७) प्रधानमन्त्री भएका थिए ।

पाँचौं पटक प्रधानमन्त्री बनेको डेढ महीनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिरहेका देउवा ‘आफू सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषीले बताएको’ सुनाउने गर्छन् । यसको अर्थ, उनी आगामी आम निर्वाचनपछि पनि प्रधानमन्त्रीको दौडमा रहनेछन् । चौतर्फी अस्वीकृतिको बाबजुद कांग्रेस सभापतिमा दोहोरिने उनको प्रयास ज्योतिषीको भविष्यवाणीबाट पनि प्रोत्साहित देखिन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

नेपाली कांग्रेस विभाजन गरेर २०५९ देखि २०६४ सालसम्म कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गरेका देउवा २०७२ मा मूल पार्टीका सभापति निर्वाचित भएका हुन् । रामचन्द्र पौडेललाई पराजित गरी सभापति बनेका उनले विधानअनुसार चार वर्षमा पार्टी महाधिवेशन गराएनन् । पार्टीलाई साढे पाँच वर्षभित्र महाधिवेशन गराउनैपर्ने संवैधानिक बाध्यतामा पुर्‍याएका देउवा फेरि सभापति बने भने अर्को चार वर्षमा महाधिवेशन हुने निश्चित हुन्न । तैपनि उनी डेढ दशक सभापति बन्ने आधार यो मंसिरमा तयार पार्न चाहन्छन् ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष ओली देउवाकै बाटोमा छन् । तीन पटक प्रधानमन्त्री बनेका ओली विगतका आफ्ना प्रतिबद्धता र अभिव्यक्ति विपरीत फेरि अध्यक्ष बन्ने योजनामा छन् । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणकै एजेण्डा लिएर २०७१ सालको नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित उनले भन्ने गरेका छन्, ‘म कक्षा दोहोर्‍याएर पढ्ने विद्यार्थी होइन ।’

गएको वर्षसम्म अध्यक्ष ओलीले दशौं महाधिवेशनमा नेतृत्व दाबी नरहने बताउने गरेका थिए । २८ फागुन २०७७ पछि भने उनी अध्यक्षमा दोहोरिन पार्टी विधान नै संशोधन गर्नतिर लागे । उनले आफू निकट केन्द्रीय सदस्यहरुको मात्र बैठक राखेर पार्टी विधानको ७० वर्षे उमेर हद हटाइदिएका छन् ।

मोहन वैद्य ‘किरण’को उत्तराधिकारी बनेर नेतृत्वमा आएको प्रचण्ड त माओवादी केन्द्रको पर्याय नै बनेका छन् । सेक्टर काण्डपछि २०४५ सालको सम्मेलनमा उनी महामन्त्री चुनिए । त्यसको ३३ वर्षपछि पनि उनी पार्टी नेतृत्वमा छन् । प्रचण्डको राजनीतिक कार्यक्रमले निरन्तर नेतृत्वमा राखेको उनी निकट नेताहरुको तर्क छ, तर यही कारण मात्र उनी नेतृत्वमा रहेको पुष्टि हुँदैन ।

प्रचण्ड निरन्तर नेतृत्वमा रहिरहनुको पछाडि टुटफुट र एकता प्रमुख कारण देखिन्छ । प्रचण्ड नेतृत्व आएपछि नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन, नेकपा (चौम) लगायत दलहरूबीच एकता हुँदा ११ जना त महामन्त्री भए । तर, पार्टी प्रमुखमा भने अहिले पनि प्रचण्ड नै निर्विकल्प छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
‘विश्वमा ४० भन्दा धेरै देशको नेतृत्व ४० वर्ष मुनिकाले गरिरहेका छन्, नेपालमा भने पत्रिका समेत अरुले पढेर सुनाउनुपर्ने र लिखित भाषण आफैं पढ्न नसक्ने अवस्थामा पुग्दा पनि नेतृत्वमा रहने प्रवृत्ति छ ।’ -कांग्रेस नेता रामहरि खतिवडा

शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी १० भन्दा बढी फुट्यो । एकता पनि भएका छन् । ६ जेठ २०७३ मा १० समूह मिलेर बनेको माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड बने । ३ जेठ २०७५ मा एमालेसँग एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि उनी अध्यक्ष रहे । २३ फागुन २०७७ मा नेकपा खारेज भएर पुनर्स्थापित भएको माओवादी केन्द्रमा प्रचण्ड नै अध्यक्ष रहे ।

प्रचण्ड मात्र नभएर अन्य नेताहरू पनि विभाजन र एकताकै कारण नेता बनिरहेको उदाहरण छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि विभाजन र एकताका कारण नेता बन्नेमध्ये एक हुन् । २०५४ मा वामदेव गौतमसहित नेताहरुले एमाले विभाजन र २०५८ मा फेरि एकता गर्दा नेपाल लगातार एमालेको नेतृत्वमा रहने वातावरण बनेको थियो । अहिले फेरि एमाले विभाजन भएर नेपाल अध्यक्ष बनेका छन् ।

देउवा पनि २०५९ सालमा कांग्रेस विभाजन गरेरै पहिलो पटक पार्टी सभापति बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेस केन्द्रित दलसहित अन्य साना पार्टीहरुमा पनि विभाजन र एकता गर्दै नेतृत्वमा टिकेका उदाहरण भेटिन्छ ।

यादव र ठाकुर पनि उस्तै

तराई–मधेशको एजेण्डाबाट उदाएका दलहरुमा पनि कांग्रेस, एमाले, माओवादीकै नियति देखिन्छ । कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी (तपलोपा) प्रमुख बनेका महन्थ ठाकुर ७८ वर्षको उमेरमा पनि नेतृत्वमै विराजमान छन् । उनी नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले निर्वाचन आयोगबाट ११ भदौमा दर्ता प्रमाणपत्र पाएपछि ठाकुरको नेतृत्व अझ लम्बिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन गरेर ठाकुर नेतृत्वमा नयाँ दल बनेको हो । यसअघि विभिन्न ६ दलसँग मिलेर ठाकुर राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष थिए । यो दल ११ वैशाख २०७७ मा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग एकता गरी जसपा बन्यो । एकता एक वर्ष पनि राम्ररी चलेन ।

मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादव (६०) पनि नेतृत्व हस्तान्तरण र पार्टीको आन्तरिक लोकतन्त्रको सन्दर्भमा अरु नेता हिंडेकै बाटोमा छन् ।

उनी २०५४ सालदेखि निरन्तर नेतृत्वमा छन् । मधेशी जनअधिकार फोरम नामक गैरसरकारी संस्था दर्ता गरेर त्यसको अध्यक्ष बनेका यादव मधेश विद्रोह मार्फत राजनीतिमा उठे । अन्तरिम संविधान २०६३ को व्यवस्थाप्रति असहमतिमा मधेश विद्रोह गरेर पहिलो संविधानसभा चुनावमा चौथो दलको नेता बन्न पुगेका यादवसँग अहिले डा. बाबुराम भट्टराई र अशोक राई जस्ता ‘ब्राण्ड’ पनि छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर

यादव पनि निरन्तर पार्टी विभाजन र एकताको शृङ्खलाबाटै अगाडि बढेका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३० र समानुपातिकमा २२ गरी ५२ सिट जितेको उनको दल २०६७ मा विभाजित भएर विजय गच्छदारले फोरम लोकतान्त्रिक बनाए । त्यसपछि पनि फोरम गणतान्त्रिक, फोरम मधेश लगायत दल बन्यो । र, उनी पार्टी नेतृत्वमा रहिरहेका छन् ।

यादवले एकता अभियान पनि चलाए । ३२ जेठ २०७२ मा अशोक राई र २३ वैशाख २०७६ मा डा. भट्टराईको पार्टीसँग एकता गरी समाजवादी पार्टी, नेपालको अध्यक्ष बने । राई र भट्टराई पनि पार्टी विभाजनबाटै नेतृत्वमा पुगेका थिए । २०६९ मा राई एमालेबाट र २०७२ मा भट्टराई माओवादीबाट अलग भएका थिए ।

१० वैशाख २०७७ मा तत्कालीन सपा र राजपाबीच एकता हुँदा पनि उपेन्द्र र महन्थ अध्यक्ष बने । एक वर्ष कट्दा नकट्दै पार्टी फुट्यो । अहिले जसपाको अध्यक्ष यादव छन् भने ठाकुर लोसपाको अध्यक्ष छन् ।

कांग्रेस नेता रामहरि खतिवडा एकपटक नेतृत्वमा पुगेपछि आजीवन त्यही रहन मरिहत्ते गर्ने प्रवृत्तिको कारण पनि राजनीतिप्रति आकर्षण बढ्न नसकेको बताउँछन् । ‘विश्वमा ४० भन्दा धेरै देशको नेतृत्व ४० वर्ष मुनिकाले गरिरहेका छन्’ उनी भन्छन्, ‘नेपालमा भने पत्रिका समेत अरुले पढेर सुनाउनुपर्ने र लिखित भाषण आफैं पढ्न नसक्ने अवस्थामा पुग्दा पनि नेतृत्वमा रहने प्रवृत्ति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सइन्द्र राई

राजनीतिक ब्युरोमा कार्यरत वरिष्ठ सम्बाददाता राई मुलतः बामपन्थी राजनीतिक मामिलामा कलम चलाउँदै आएका छन् ।

Advertisment