+
+

अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

१५ भदौ, काठमाडौं । तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अमेरिका पूर्णरुपमा अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते ८:१९

१५ भदौ, काठमाडौं । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो ।

अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे ।

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको छ ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?