+
+

बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम – पोषणविद् उमा कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १२:३०

विगतमा बालबच्चाहरु कुपोषित हुन्थे । उनीहरुले भरपेट खानै पाउँदैनथे । तर, अहिले परिस्थिति ठीक विपरित छ । बच्चाहरुले आवश्यक्ताभन्दा बढी खानेकुरा खाइरहेका छन् । आमाबुवाहरुले कोचीकोची खाना ख्वाउने प्रवृत्ति देखिएको छ । यसले गर्दा बच्चाहरु मोटोपनको सिकार समेत भइरहेका छन् ।

अर्कोतिर अहिलेका बालकालिकाहरु घरको खानामा भन्दा बढी बजारको खानेकुरामा लोभिएका छन् । रेष्टुरेन्टमा पाक्ने परिकार र फास्टफुडले पेट भर्ने गरेका छन् । यस किसिमको खानपान शैलीले उनीहरुको स्वास्थ्यलाई कति हानी गरिरहेका छ ? उनीहरुले आवश्यक पोषकतत्व पाइरहेका छन् वा छैनन् ? यसै यसै सन्दर्भमा पोषणविद् उमा कोइरालासँग कुराकानी गरिएको छ ।

के खाँदैछन् अहिलेका बालबच्चा ?

बच्चाको खानपानलाई ध्यान दिँदा दुई किसिमले हेर्नुपर्ने हुन्छ । जसमा एउटा त भेगको हिसाबमा खानपिनले असर गर्छ । जस्तो शहरी भेगका बालबालिका र ग्रामीण भेगका बालबालिकाको अवस्थालाई छुट्टाछुट्टै अध्ययन गर्नुपर्ने हुन्छ । त्यस्तै, भूगोलको आधारमा हिमाल, पहाड र तराई क्षेत्रका बालबालिकाको प्रभावलाई पनि छुट्टाछुट्टै मूल्यांकन गर्नुपर्ने हुन्छ ।

यसरी अध्ययन गर्दा पछिल्लो समय केटाकेटीको खानपान अवस्था त्यति चित्तबुझ्दो भने छैन । यसबारेमा त्यति धेरै अध्ययन त भइसकेको छैन । जति अध्ययन भएको छ त्यसले ३० देखि ३५ प्रतिशत बच्चाले मात्रै खानुपर्ने पोषणयुक्त खाना खाने गरेको देखाएको छ । हिमाली भेगमा त २५ प्रतिशतले मात्रै खानुपर्ने पोषणयुक्त खाना खाने गर्छन् ।

सामान्यतया पोषणयुक्त खानाको सवालमा एउटा नारा छ ‘हरेक बार, खाना चार’ । तर यस अनुसार खाना खाने चलन धेरैतिर छैन । खाना नै खाए पनि क्यालोरी मात्रै भएको र फाइबर समेत पर्याप्त नभएको खाना खाने चलन छ । यसले गर्दा पनि पोषणको हिसाबमा हेर्दा चिन्ताजनक अवस्था देखिन्छ ।

पोषणविद् उमा कोइराला

जंकफुडको जोखिम

यो गुणात्मक खानेकुरा कम र बजारी खानेकुरा धेरै खाँदाको परिणाम हो । गुणात्मक खानेकुराहरु उनीहरुको वृत्ति विकासको लागि नभइ नहुने कुरा हो । जसमा सिजनल फलफूलहरु एवं नियमित खानाले पनि महत्वपूर्ण योगदान दिन्छ ।

हिजोआज बाहिरी खानेकुरा अत्यधिक खाने चलन छ । विज्ञापनले गर्दा पनि प्रशोधित खानेकुरामा पनि आकर्षण बढीरहेको छ । त्यस्ता प्रशोधित खानेकुराहरुमा बोसो बढाउने मात्रा बढी हुन्छ । अर्काे समस्या भनेको बच्चाहरुले हिजोआज बाहिरी अभ्यासलाई ध्यान दिने गरेका छैनन् । पढाइ र मोबाइलको लतले गर्दा शहरी जीवनमा बाहिरी अभ्यास शून्यप्रायः छ । यसले पनि असर गर्ने देखिन्छ ।

जंकफुडमा कति पोषक तत्व ?

बच्चाहरुमा जंकफूडबाट कति पोषण मिल्छ ? भन्ने कुरा अझै पनि अध्ययनको विषय हो । यसमा पर्याप्त अध्ययन भइसकेको छैन । हाम्रो क्वालिटी कन्ट्रोल गर्ने मेकानिजम एकदमै कमजोर छ । जसका कारण चाउचाउ र बिस्कुटहरुमा लेखिएको पोषणको मात्रा तोकिए बमोजिम छ कि छैन ? भन्ने विषयमा थप अध्ययन जरुरी छ । ३ वर्षअघि भएको एक अध्ययनमा यसबारे निराशाजनक तथ्य भेटिएको थियो । यस्ता प्रशोधित खानेकुराहरुमा भनेजति तौल र गुणस्तर नभएको पाइएको थियो । त्यसपछि अध्ययन भएको जानकारी छैन ।

बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम

नेपाली खानालाई संसारकै सन्तुलित खानाको सूचीमा राखिन्छ । दाल, भात, तरकारी, अचार, दूध, दही जस्ता सन्तुलित खानेकुरा नियमित खाने हो भने त्यो आफैँमा सन्तुलित हुन्छ । त्यसमा दाल अलिकति बाक्लो बनाउनु पर्छ । भरसक मांसाहारीहरुले छाकमा एउटा अण्डा खानु उचित हुन्छ ।

फलफूलमा हामीले गाउँघरमा खाने खाना नै पर्याप्त छ । त्यो कुरा हामीले पनि अनुभव गरेको हो । जस्तो बाहिरबाट ल्याएको एउटा स्याउ खानुभन्दा घरमा फलेको नास्पाती उपयुक्त हुन्छ । बाहिरबाट ल्याएको सात वटा सुन्तला बराबर एउटा अम्बाले पोषण दिन्छ ।

बालबच्चामा मोटोपनको भय

मोटोपना घटाउन फास्टिङ गर्ने चलन धेरैजसो उच्च घरानाको शोख हो । उहाँहरु गुणस्तरको खाना खाने र शारीरिक परिश्रम कम गर्ने गर्नुहुन्छ । त्यस्तो अवस्थामा फास्टिङको आवश्यकता पर्छ । तर सामान्य शारीरिक अभ्यास गर्नेहरुमा फास्टिङको आवश्यकता नै पर्दैन ।

चाडपर्व, उपवास र पोषणको प्रश्न

व्रत बस्दा पनि केही आधारभूत विषयमा ध्यान दिनुपर्ने हुन्छ । एउटा त हामीले शरीरको प्रकृति अनुसार कस्तो खाले व्रत बस्ने यकिन गर्नुपर्छ । हाम्रो खानाको बानी कस्तो छ ? ग्यास्ट्रिक जस्ता समस्याहरु छ कि छैन ? जस्तो कुरालाई ध्यानमा राखेर व्रत बस्नुपर्छ । यसरी व्रत बस्दा पोषणको समस्या हुँदैन । यो हाम्रो संस्कार पनि भएकोले यसलाई पनि मान्नुपर्ने हुन सक्छ । त्यसको लागि पूर्खाहरुले जस्तै व्रत बस्दा मिश्री खाने चलन देखिन्छ । त्यसलाई पनि हामीले अनुशरण गर्न सक्छौं । तर यस क्रममा पिरो, चिल्लो र अमिलो खाना कम खायो भने यसले पौष्टिक सन्तुलन गराउँछ ।

रोग लागेपछि कसरी खानामा सन्तुलन मिलाउने ?

यो गलत कुरा हो । दीर्घ रोग भएपछि मान्छेले खानेकुरा धेरै बार्छन् । कतिपय रोगमा खाना बार्नै पर्ने पनि हुन सक्छ । त्यस्तो अवस्थामा उस्तै पौष्टिक आहारको लागि अरु खानेकुरा खानुपर्छ । यसरी समयमा पौष्टिक आहारको सन्तुलन मिलाउन सकिएन भने यसले अन्य समस्या निम्त्याउन सक्छ । त्यसैले यसमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?