+
+

नागरिक अभियन्ताले शुरु गरे काठमाडौंको फोहोर सिसडोल पुर्‍याउने अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १४:१४

१५ भदौ, काठमाडौं । काठमाडौंमा थुप्रिएको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान शुरु गरिएको छ ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान शुरु गरेका हुन् ।

काठमाडौंको रत्नपार्कबाट शुरु गरिएको उक्त अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिए । वर्षायाममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले फोहोर सिसडोलसम्म पुर्‍याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको उनको भनाइ छ ।

‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन,’ अभियन्ता मानवले भने, ‘राजनीतिक दलहरुले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आए पनि समाधान हुन सकेन । त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैंले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान शुरू गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोरमुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु ।’

सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगञ्ज सफाइ अभियान लगायतका संस्थाहरु सहभागी भएका छन् । अभियानमा सहभागीहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?