+
+

कोरोनाको नक्कली रिपोर्ट दिने कर्मचारीलाई कारबाही भएन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते २०:४४

१५ भदौ, काठमाडौं । कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको आरोप लागेका शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवलाई कारबाही नगरेकामा अस्पतालका कर्मचारी असन्तुष्ट बनेका छन् ।

यादवले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको उजुरी परेपछि उनलाई अस्पतालले ३ महिना निलम्वन गरेको थियो । यसबीचमा उनले नक्कली रिपोर्ट दिएको पुष्टि हुँदा पनि कारबाही भएको छैन । यादव निलम्वन अवधि पूरा गरेर काममा फर्किन लागेकामा अस्पतालका कर्मचारी असन्तुष्ट बनेका हुन् ।

कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि नै बसुन्धाराको धौलागिरी क्लिनिकबाट स्वाब संकलन र गंगालाल हृदयरोग केन्द्रमा परीक्षण गरी गलत रिपोर्ट दिएको भनी यादवविरुद्ध पीडितले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दिएका थिए ।

उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा यादवले धौलागिरी क्लिनिकको नामबाट बिल काटेर गंगालाल र त्रिवि शिक्षण अस्पतालको ल्याबको रिपोर्ट दिने गरेको फेला पारेको थियो । यसरी रिपोर्ट दिएवापत उनले एक जना बराबर २५ सय रुपैयाँ असुलेको पाइएको थियो । यादवले नक्कली रिपोर्ट बनाउन बार्गेनिङ गरेको भिडियो गत वैशाखमा बाहिरिएको थियो ।

महाराजगञ्ज प्रहरी प्रभागका अनुसार उनले स्वाब संकलन गरेर परीक्षण नै नगरी ‘फोटोसप’ गरेर रिपोर्ट दिएको अनुसन्धानको क्रममा खुलेको थियो । प्रहरीका अनुसार उनको कम्प्युटरको अभिलेख हेर्दा ३० देखि ४० लाख रुपैयाँ बराबरको नक्कली रिपोर्ट बनाएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी रमेश बस्नेत प्रहरी वृत महाराजगञ्जले उक्त विषयमा अनुसन्धान गरिरहेको बताउँछन् । ‘अहिले सो केस अनुसन्धानकै क्रममा छ’ उनी भन्छन् ।

यादवविरुद्ध उजुरी परेपछि गंगालाल हृदय रोग केन्द्रले पनि छानविन उपसमिति गठन गरेको थियो । सो उपसमितिले यादवले संस्थाको लेटरप्याडको दुरुपयोग गर्दै नक्कली कागजात तयार गरी संक्रामक रोग फैलाउने काम गरेको ठहर गरेको छ ।

उपसमितिको प्रतिवेदनपछि अहिले अस्पताल सञ्चालक समितिले  कर्मचारी नियमावली विपरीत काम गरेको निष्कर्ष निकालेर सजाय गर्न अर्को उपसमिति गठा गरेको छ ।

अस्पताल सञ्चालक समिति सदस्य बिजय राई (विपिन) को संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका कानून उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सलटेन्ट प्याथोलोजिष्ट डा. शंकर काफ्ले सदस्य छन् ।

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कर्मचारीहरु भने यादवलाई कारबाहीको सट्टा उपसमिति बनाएर पन्छिने काम मात्र भइरहेको बताउँछन् ।

यादवलाई कारबाहीबाट बचाउन अस्पतालकै चिकित्सकहरु लागेका एक कर्मचारी बताउँछन् । ‘कोरोना संक्रमणको बेलामा सयौँ मानिसको स्वाब संकलन गरेर परीक्षण नै नगरी रिपोर्ट दिने मानिसलाई कारवाही गर्नुको सट्टा, अस्पतालका चिकित्सकले नै संरक्षण गर्न लागिपरेको देख्दा काम गर्नेहरुको मनोबल गिरेको छ’ ती कर्मचारी भन्छन्,  ।

यादवविरुद्ध उजुरी परेपछि गत वैशाख ३ गते अस्पतालले उनलाई ३ महिनाको लागि निलम्बन गरेको थियो । यादवले आफ्नो निलम्बनको कारबाहीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दिएका थिए । तर अदालतले उनको मुद्दा खारेज गरिदिएको छ ।

यादवलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म उजुरी परेको छ । गंगालाल अस्पतालका कर्मचारीहरु स्वास्थ्य मन्त्रालयको संरचना अन्तर्गत नपर्ने भएकाले यो विषयमा मन्त्रालयले कुनै कारवाही गर्न नमिल्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले अनलाइनखबरसँग बताए ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी  यादवलाई सञ्चालक समितिले मात्र कारवाही गर्न सक्ने बताउँछन् । हाल सञ्चालक समितिको बैठक नबसेकाले कारबाहीको निर्णय नभएको उनको भनाइ छ ।

‘यस्तो विषयमा कुनैपनि निर्णय गर्ने अधिकार अस्पताल प्रशासनलाई मात्र हुन्न, अहिले बोर्ड बैठक नबसेकाले यो विषयमा केही प्रकिया अघि बढेको छैन’ डा. अधिकारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?