+
+
Shares

प्रकाशमानसँग गोपालमानको प्रस्ताव : नेतापुत्रको समूहमा मलाई पनि थप्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते २०:४०

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले तीन ‘नेतापुत्र’को समूहमा आफूलाई पनि समेट्न प्रस्ताव गरेका छन् । आसन्न १४ औं महाधिवेशनमा नेतृत्वका आकांक्षी श्रेष्ठले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग तीन नेता पुत्रको समूहमा आफूलाई पनि समेट्न आग्रह गरेका हुन् ।

आइतबार नेता सिंहसँगको भेटमा पूर्व उपसभापति समेत रहेका श्रेष्ठले भने, ‘तपाईंहरु तीन जना नेताहरुमा एक जना मलाई पनि राख्नुस्, हामी मिलेर अगाडि जाउँ । तपाईंहरुले जहाँ बोलाउनुहुन्छ, म त्यहीं आउँछु ।’

कांग्रेसका संस्थापक बीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका छोराहरु महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निरन्तर संवादमा जुटिरहेका छन् । बीपी पुत्र शशांक, महेन्द्रनारायण पुत्र विमलेन्द्र र गणेशमान पुत्र प्रकाशमानबीच आगामी महाधिवेशनमा  मिलेर जानेबारे छलफल हुँदै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने नेता श्रेष्ठले पूर्व महामन्त्री सिंहलाई नेतृत्वमा सहयोग गर्न आग्रह गरे । ‘मेरो उमेरले पनि अर्को महाधिवेशनमा लडुँला भन्ने छैन, यसपटक म नेतृत्व गर्छु, त्यसका लागि मलाई सहयोग गर्नुस्,’ उनले भने, ‘अर्को महाधिवेशनमा मेरो पूरा समर्थन तपाईंलाई हुन्छ । तपाईंको उमेर पनि छ । यसपटक मैले तयारी पनि अगाडि बढाएको छु ।’

नेता श्रेष्ठले आफू सभापतिको उम्मेदवार बन्नेबारे सभापति देउवालाई पनि जानकारी गराइसकेको बताए । उनले गणेशमानसँग आफ्नो राम्रो सम्बन्ध रहेको प्रसंग सुनाउँदै नेता सिंहको समर्थन खोजेका थिए । तर सिंह आफैं नेतृत्वमा दाबी गर्दै आएका  छन् । उनले नेता श्रेष्ठलाई सहयोग गर्नेबारे कुनै वचन भने दिएनन् । श्रेष्ठ भेट्न सिंहलाई भेट्न उनकै निवास पुगेका हुन् ।

कांग्रेस महाधिवेशन अनिश्चित भए पनि नेतृत्वका आकांक्षीहरुले अनौपचारिक छलफललाई भने निरन्तरता दिएका  छन् । दुई साता अघि नेता श्रेष्ठ र उपसभापति निधिबीच पनि छलफल भएको थियो । दुई नेताले नेतृत्वमा दाबी गर्दै एकअर्काको समर्थन खोजेका थिए ।

नेता श्रेष्ठले महामन्त्री कोइरालासँग पनि छिट्टै भेट्ने बताए । ‘मेरो टेलिफोनमा कुराकानी भएको छ, अब भेटेरै छलफल गर्छौं,’ उनले अनलाइनखबरसँग भने, ‘सबैको सहयोगमा पार्टीमा एकढिक्का बनाउन मचाहिं सभापति बन्न चाहन्छु ।’

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ । तर क्रियाशील सदस्यता विवाद कायमै रहेकाले स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । कांग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?