Comments Add Comment

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

१७ साउन, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ ।

अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै पर्ने अवस्था आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् ।

आइतबार साँझ टेकु अस्पताल परिसरको टहरामा कामदाहरु बेड राख्दै थिए, इलेक्ट्रिसियनहरुले बत्ती जोड्दै थिए । बेड तयार नहुँदै २ जना संक्रमित अक्सिजनको सहरामा त्यही पल्टिएका थिए । आकस्मिक कक्षबाहिर ३ जना संक्रमित अक्सिजनको सहारामा पालो कुर्दै थिए । संक्रमितका आफन्तलाई चिकित्सकले भन्दै थिए, ‘आईसीयू खाली छैन, आकस्मिक कक्षमा कतै म्यानेज गर्नुपर्ला… नत्र अरु अस्पतालमा रेफर गर्नुपर्छ ।’

टेकु अस्पताल परिसरको टहरमा राखिएको बेडमा अक्सिजन जोड्दै प्राविधिकहरु ।

गत वैशाख दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा टेकु अस्पतालमा दिनमा ६० जना संक्रमित उपचारका लागि आउथे । त्यसपछि क्रमश संख्या घट्दै गएको थियो । तर केही दिनयता फेरि उपचारका लागि आउने बिरामीको संख्या बढेको छ । अस्पताल प्रशासनका अनुसार शनिबार ५० जना भन्दा बढी संक्रमित उपचारका लागि आएपछि अस्पताल परिसरको टहरामा पुन: बेड राखिएको हो । पछिल्लो साता बढेको संक्रमितको संख्याले दोस्रो लहरको उत्कर्षको झल्को दिएको निर्देशक डा. बास्तोला बताउँछन् ।

टेकु अस्पताल प्रांगणको टहरामा तत्कालका लागि १० बेड थपिएको छ । तर यो बेड संख्या पनि अपुग हुने चिकित्सकहरु बताउँछन् । निर्देशक डा. बास्तोलाका अनुसार अहिलेकै दरमा बिरामी बढ्दै गए दोस्रो लहरको उत्कर्षकै अवस्था दोहोरिन धेरै दिन लाग्दैन ।

टेकु अस्पतालमा अहिले आईसीयू, क्याबिन र आकस्मिक कक्षमा गरी ९० जना संक्रमित उपचाररत छन् । यो सङ्ख्या २ दिनमा नै दोब्बर हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

अघिल्लो सातासम्म एक सय जना संक्रमित उपचाररत पाटन अस्पतालमा आइतबार २ सय भन्दा बढी संक्रमित छन् । कोभिड फोकल पर्सन डा. बिमल पाण्डेका अनुसार पछिल्लो केही दिनयता आईसीयू बेड अभाव हुन थालिसकेको छ । ‘अबको केही दिनमा दोस्रो लहर उत्कर्षमा पुग्दाको झैं सरकारी अस्पतालमा बेडको हाहाकार हुनसक्छ’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालमा पनि आइतबार ११ वटा बेड थपिएको छ । सोमबार अझै ३० वटा बेड थप्न लागेको अस्पतालका कोभिड व्यवस्थापनमा खटिएका श्वासप्रस्वास रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । उनका अनुसार दोस्रो लहर उत्कर्षमा हुँदा शिक्षण अस्पतालमा आईसीयूसहित कुल ३ सय ७५ बेड सञ्चालनमा थिए । पछिल्लो महिना संक्रमितको संख्या घट्दै गएपछि १ सय १० बेडमा झारिएको थियो । संक्रमित बढेसंगै फेरि बेड संख्या थप्दै लगेको डा. बम बताउँछन् । उनी भन्छन्,  ‘हामी अर्को ठूलो क्षतिको नजिक छौं ।’

कोरोना महामारीको दोस्रो लहर शुरु गरेपछि सरकारले वैशाख दोस्रो सातादेखि करिब डेढ महिना कडा निषेधाज्ञा लगायो । त्यस अवधिमा बिरामीको संख्या घट्दै गएको थियो । असार पहिलो हप्तादेखि निषेधाज्ञा खुकुलो बनाएपछिको एक महिना कोरोना संक्रमितको संख्या खासै बढेको थिएन । तर साउन पहिलो हप्तादेखि संक्रमितको संख्या पुन: बढेको छ ।

कोरोना संक्रमितको संख्या घट्दै गएपछि सरकारी अस्पतालले विस्तारै अरु रोगको उपचार शुरु गरेका थिए । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताललाई दिँदै आएको रकम बन्द गरेको थियो । तर अब पहिलाकोझै स्वास्थ्य प्रणाली कोरोना संक्रमितको उपचारमा सक्रिय राख्नुपर्ने पाटन अस्पतालका चिकित्सक डा. पाण्डे बताउँछन् । ‘हामी २ महिनाअघिकै अवस्थामा पुग्न सक्छौं त्यसैले स्वास्थ्य प्रणाली तयारी अवस्थामा बस्नुपर्छ’ उनले भने ।

कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी नअपनाउँदा दोस्रो लहरमा धेरै मानिसले ज्यान गुमाए र संक्रमितको संख्या पनि अत्यधिक बढ्यो । शिक्षण अस्पतालका चिकित्सक डा. बम दोस्रो लहरअघिको गल्ती दोहोरिसकेकाले अहिले तत्कालको अवस्थामा अक्सिजनको जोहो गर्नुपर्ने बताउँछन् ।

अनियन्त्रित भिडभाड, नारा जुलुसको कारण संक्रमण समुदायमा फैलिइसकेकाले संक्रमित अझै बढ्ने उनको दाबी छ । उनका अनुसार डेढ महिनासम्म निषेधाज्ञा गर्दा पनि परीक्षणको दायरा विस्तार नगर्दा महामारीको सही आकलन हुन सकेको थिएन । ‘निषेधाज्ञाको बेलामा होस् या निषेधाज्ञापछि कहिले पनि हाम्रो प्राथमिकतामा महामारी निर्मूल गर्नु रहेन, त्यसैले अब अक्सिजन जोहो गर्नुको विकल्प छैन’  डा. बम भन्छन् ।

टेकु अस्पतालका निर्देशक डा. बास्तोला पनि निषेधाज्ञापछि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले डेढ महिनाकै अवधिमा पुन कोरोनाबाट हुने क्षति बढ्ने स्थिति आइपुगेको बताउँछन् । समुदायमा भाइरस रहिरहेकै बेला स्वास्थ्य मापदण्ड नअपनाउने र भीडभाड गर्ने जस्ता गतिविधिको कारण संक्रमण सबैतिर फैलिएको उनको दाबी छ ।

टेकु अस्पतालको आकस्मिक कक्ष ।

डा. बास्तोलाका अनुसार पछिल्लो समय नेपालमा तुलनात्मक रुपले धेरै खोप आएको छ र खोप लगाउनेको संख्या पनि बढेको छ । हालसम्म नेपालमा ४० लाख ६४ हजार २८८ जनाले पहिलो डोज खोप लगाएका छन् । त्यस्तै १८ लाख १३ हजार ४७१ जनाले दुबै डोज खोप लगाएका छन् ।

तर यो खोप लगाउनेको संख्या कुल जनसंख्याको तुलनामा ज्यादै कम भएकाले संक्रमण फैलिँदा फेरि मानवीय क्षति बढ्न सक्ने उनी बताउँछन् । ‘पहिलेको गल्तीबाट केही नसिकेको कारण हामी जोखिमको नजिक नै छौं, विगतका केही साताको लापरवाहीको परिणाम देखिने बेला हो यो अझै धेरै देखिन सक्छ’ उनी भन्छन् ।

संक्रमितको चाप बढ्न थालेपछि उपचारात्मक सेवाले मात्र नधान्ने शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् । अस्पतालमा संक्रमित बढ्नुको कारण राज्य र समाजको लापरवाही रहेको उनको निचोड छ ।

डा. दासका अनुसार विगतका गल्तीबाट नसिक्दा फेरि धेरै मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ । ‘अब कस्तो अवस्था आउन सक्छ सायद सबै चिकित्सकले कल्पना गरिसकेका छन्, त्यसैले उपचारात्मक सेवा संगसंगै महामारी नियन्त्रणको लागि परीक्षण बढाउनुपर्छ’ उनी भन्छन् ।

यो दिन आउने नै थियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजसम्ममा तेस्रो लहर आउने अनुमान गर्दै स्वास्थ्य प्रणाली तयारी अवस्थामा राखेको बताएको छ । तर मन्त्रालयले आकलन गरेको भन्दा अघि नै ठूलो क्षति हुन सक्ने विज्ञहरु बताउँछन् ।

महामारीविज्ञ डा. केदार बराल संक्रमणदर २० प्रतिशतको हाराहारीमा नै रहेकाले दोस्रो लहर सकिएको भन्न नमिल्ने बताउँछन् । ‘हामीले समुदायबाट संक्रमण निस्तेज गर्न प्रयास नगरुञ्जेल संक्रमण बढ्ने क्रम जारी नै रहन्छ’ उनी भन्छन् ।

जनस्वास्थ्यविद डा. शरद वन्त समुदायमा लामो समयसम्म भाइरस रहन दिँदा धेरै क्षति गर्ने बताउँछन् । संक्रमणलाई नियन्त्रण गर्न कुनै प्रयास नगर्नुको अर्थ भाइरस फैलिने वातावरण निर्माण गर्नु रहेको उनको भनाइ छ ।

उनका अनुसार अहिले नेपालमा भाइरस फैलिने वातावरण निर्माण भइरहेको छ । ‘जबसम्म समुदायबाट भाइरस निस्तेज हुदैन तबसम्म नयाँ नयाँ भेरियन्ट बनेर भाइसले सताइरहन्छ, हाम्रो गतिविधि र व्यवहारका कारण संक्रमण बढ्नु स्वाभाविक नै हो’ उनी भन्छन् ।

तस्वीहरु : आर्यन धिमाल/अनलाइनखबर

यो पनि पढ्नुहोस देशभरका अस्पतालहरूमा अक्सिजनको हिसाबकिताब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment