Comments Add Comment
विचार :

कम्युनिष्ट पार्टी पुनर्गठन कि उन्मूलन ?

अहिलेका दुई मुख्य कम्युनिष्ट पार्टीहरू एमाले अनि माओवादीभित्र जुट र फुटको स्थायी चक्र चलिरहेको छ । विगतमा यी दल धेरैपटक फुटेका अनि कहिलेकाहीं जुटेका पनि छन् । एमालेकोे पछिल्लो बबण्डर, कलह तथा अहंकारी मानसिकताले विभाजनको बाटो लिएको देखिन्छ । पार्टीभित्र दुईजना पूर्ण असफल तथा वयोवृद्घ नेताहरूबीच अनवरत झगडा देखिएको छ । पार्टीभित्र रहेका अनगिन्ती जवान तर लाचार र लम्पट पछिल्लो पुस्ताहरूको सघन हस्तक्षेपको अभावका कारण एमाले पार्टीको भविष्य नै जोखिम उन्मुख हुँदैछ ।

माओवादीमा पनि विभिन्न गुटहरूको सक्रियता छ । देशलाई सबल नेतृत्व दिन नसक्दा र अनावश्यक अलमलले उनीहरूको राजनीतिक भविष्य नै दुर्घटना उन्मुख भइरहेको छ । यस्तो अवस्थामा पनि रमिते बन्ने अथवा तिनै नेताको चाकडीमा लहडीबाज देखाउने तर उनीहरूलाई विस्थापित गरेर आफू नेतृत्व लिन तयार नहुने युवा भनिने कायर पुस्ताको नालायकीपना झन् विडम्बनापूर्ण बन्दैछ । कम्युनिष्टहरू कमै मात्र निष्ठा र ज्यादा बदमास देखिंदैछन् ।

सन् १९२१ आसपास चेन दुहिऊ र ली दहृयाजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिष्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान एवम् एक्लो पार्टी छ । १९३० तिर स्थापना भएको ‘कम्युनिष्ट पार्टी अफ भियतनाम’ पनि हालसम्म एकाकार रूपमा छ । उत्तरकोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सामथ्र्य राख्छ ।

तर हामीकहाँ भने त्यही विचार र उद्देश्य राख्ने कम्युनिष्ट भनिने दुवै पार्टीको अवस्था दयनीय बन्दैछ । एमालेको कथित कचहरीले पार्टीका नेता कार्यकर्तालाई त जीवनमरणकै सवाल होला । लगानी र प्रतिफलको वारदात बन्ला । षडयन्त्र र सफलताका वासलातका रूपमा रहला । तर यसका शुभेच्छुकहरू अथवा यो पङ्क्तिकार जस्तो राजनीतिको जानकार मात्रलाई समेत केही मर्माहत चाहिं बनाउँछ । किनकि दलहरू निरन्तर फुट्नु तथा आन्तरिक लफडाबाजीको दलदलमा सदैव अल्मलिनु सबल प्रजातन्त्रका लागि निश्चय नै शुभ समाचार होइन ।

तसर्थ, यसरी पार्टीहरू फुट्नु चाहिं गलत नै हुन्छ तर एकीकृत रहनु झनै गलत हुन्छ । कुनै पनि दल राजनीतिक शक्तिको रूपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा तीन मुख्य सिद्घान्तहरूका कसीमा मापन गरिन्छ । दलका नेता तथा सदस्यको सामाजिक जीवन चरित्र, सरकार तथा मातहतका निकायको कार्य सम्पादन, दल स्थापनाको औचित्य तीनवटै आधारले अब कम्युनिष्ट नामका र यही खाले कामका दल किञ्चित आवश्यक नरहेको देखिन्छ । कम्युनिष्ट चरित्र तथा आचरणमा आएको गम्भीर स्खलन यसको सबैभन्दा प्रमुख जड हो ।

स्खलित चरित्र तथा आचरण

आज कम्युनिष्ट भनिने अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिष्ट अनि समाजवादी चरित्र अनुरूप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन  प्रिय बन्दैछ । पुस्तकालय मदिरालयमा फेरिएका छन् । बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफूचाहिं निजी शिक्षाको व्यापारमा व्यस्त छन्

आज कम्युनिष्ट भनिने अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिष्ट अनि समाजवादी चरित्र अनुरूप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन पि्रय बन्दैछ । पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिष्ट नेताका सन्तान र सन्ततिहरूका आत्मीय अखडा बन्दैछन् । नाजायज, अवैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविच्छिन्न उपासना गर्छन् । बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफूचाहिं निजी शिक्षाको व्यापारमा व्यस्त छन् । अत्तर छर्केर हिंड्ने, उच्च कोटिका विदेशी सोमरसका साथमा राजसी ठाँटको चौरासी व्यञ्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ । गोडा भएका कम्युनिष्टहरूलाई घोडा चाहिंदैन भन्नेहरू महँगा गाडी र हेलिकप्टरमा तडकभडकका साथ सवारी चलाउन उद्यत छन् । अधिकांश कम्युनिष्ट नेता व्यापारीभन्दा धनी छन् । रवाफिलो र भड्किलो जीवनशैली छ । आडम्बर र अहंकार यस्तो छ कि उनीहरू सामान्य नागरिक नभई असामान्य महासामन्त अथवा सम्भ्रान्तहरू हुन् । आजका कम्युनिष्ट नेताहरूमा जर्ज अरवेलको पुस्तक ‘एनिमल फार्म’मा देखाइए जस्तै चरम र क्रूर अवसरवाद व्याप्त छ ।
निर्वाचनबाहेक अन्य समय नागरिकसँग भेट्दा उनीहरूलाई लाज लाग्छ । उनीहरूका कुरा सुन्दा समय बर्बाद भए जस्तो आभास हुन्छ । अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिंदो छ । सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो । नेताहरू ‘लिडर’ बाट ‘डिलर’मा परिणत भएका छन् । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् ।

कालाबजारी, भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, घुस कमिसनखोरीलाई अमृत झैं पिउँछन् । बलात्कार सामान्य ठान्छन् र भइरहने बताउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लगाउँछन् । उपभोक्तावाद तथा क्रोनी क्यापिटलिज्मको विस्तारलाई सहज हुने गरी नियम बनाउँछन्, साम्राज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबैको स्रोत र साधन आफ्नो लागि दोहन गर्न चाहन्छन् ।

परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा-महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफ्नो र परिवारको लागि गर्दैछन् । देश बनाउन होइन, आफू बन्नु मात्र उनीहरूको ध्येय हुन्छ । आर्की ब्राउनको पुस्तक ‘द राईज एण्ड फल अफ कम्युनिजम’ले समेत संसारभर कम्युनिष्टहरूको आचरण पतनोन्मुख भएको देखाउँछ । अहिलेका हाम्रा कम्युनिष्टहरूको सामाजिक जीवन, आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन ।

रुग्ण कार्य सम्पादन

कम्युनिष्टहरू पटक-पटक सरकारको नेतृत्व गर्दा वा सरकारको महत्वपूर्ण साझेदारीमा रहँदा पनि कार्य सम्पादन समेत खासै उत्साहजनक थिएन । बलात्कार, हत्या तथा हिंसा जस्ता कुराहरू झन् बढिरहे । निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी मास पि्रन्टर काण्ड, स्वास्थ्य सामग्री खरीद काण्ड, अयोध्या काण्ड, बेसार पानी काण्ड आदिका तरङ्गहरू कम्युनिष्टहरूकै समयमा आए ।

हरेक ठाउँमा सेटिङ सहित साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायालय लगायत अन्य संस्थाहरूमा आफ्ना कार्यकर्ता भर्ती गर्ने र अपवाद बाहेक तिनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाउनेमा कम्युनिष्टहरू झन् माहिर देखिए । हरेक ठेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस, अनि निर्णयमा नियोजित सिन्डिकेट स्थापित बनाइयो । मजदूर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग गरिए । अरूबेला त व्यापारी, कर छली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, देश तथा नागरिकलाई ठग्ने ठेकेदार घरबेटी, सकेसम्म बाँकी समुदायको शोषण गर्ने खलनायकहरूसँग सत्सङ्ग तथा दिव्य मिलनमा रमाए । सामन्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्ने दुहाई दिंदै शुरू भएका पार्टीका नेता आज आफैं नयाँ सामन्तसँगै शोषकको रूपमा उदाएका छन् ।

नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माण चाहिं झनै खस्कँदो छ । देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रष्टता छैन । लेखक गोवर्द्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ- ‘झूट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिष्टहरूको दार्शनिक धर्म हो ।’ साँच्चै यस्तै परिदृश्य उजागर हुँदैछ ।

दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् । गुटभित्र विचार तथा सिद्घान्तको छलफल हुन्छ, गिरोहमा केवल अरूलाई ठगेर वा हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ । मात्र लेनदेन र नाफा-घाटाको हिसाब गरिन्छ, चरम अवसरवादको प्रतीक्षा हुन्छ । आपसी मतान्तर जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभई पदको बाँडफाँड र शक्तिको भोगका लागि हुन्छ । कम्युनिष्ट पार्टीहरूको पछिल्लो लफडाको मक्सद पनि यही नै भएको देखियो । अब त यिनीहरूको स्थापनाको औचित्य समेत सकिएको छ ।

औचित्यको समाप्ति

तत्कालीन माओवादीको उद्देश्य राजतन्त्र फालेर संविधानसभा मार्फत गणतान्त्रिक संविधानको निर्माण थियो भने तत्कालीन एमालेको उद्देश्य पञ्चायती व्यवस्थाको उन्मूलन । दुवै पार्टीको आधारभूत उद्देश्य समेत पूरा भएकोले अब बाँकी नागरिक अपेक्षा पूरा गर्न नयाँ ढंगका दलहरूको आवश्यकता पर्छ । तत्कालीन शक्तिको प्रतिस्थापन पछि के गर्ने भन्ने न त स्पष्ट योजना थियो न त सानदार व्यवस्थापन गर्दै नागरिकको आशा अनुसार काम गर्न सके । त्यही अदक्षताको प्रभाव अहिलेको कम्युनिष्टहरूमा पनि परेको हो ।

त्यसैले भविष्यमा यी दलहरू विभाजित वा एकीकृत नै रहे पनि नागरिक भलाइ तथा देश हितका लागि भने कागलाई बेल पाके जस्तो मात्रै हुन्छ । उनीहरू जुटेमा वा फुटेमा पनि केही अनुपम र उदाहरणीय हुने अवस्था छैन । उनीहरू बीचका लफडा अनि नाटकीय शैलीमा हुने मेलमिलाप आदिले कसैको आडम्बरलाई जोगाउला तर कम्युनिष्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत देखिंदैन । भविष्यमा अन्य कोही कसैले नयाँ ढंगले अर्को नैतिक र इमानदार शक्ति गठन गर्न सक्ला । अहिले कुनै वहानामा यिनै दलहरूलाई जीवन्तता दिनु समाजवाद तथा कम्युनिज्मको खिल्ली उडाउनु मात्र हो ।

‘राष्ट्र निर्माणका आयाम’ विषयमा विद्यावारिधि लेखक ‘काठमाडौं स्कूल अफ ल’ का सह-प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment