Comments Add Comment

दार्चुला घटनाबारे भारतसामु औपचारिक विरोध जनाउन एमालेको माग

संसद छानविन समिति गठन गर्न माग

१९ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामु औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताए । उनले भने, ‘त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घट्न पुगेको छ ।’

प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउन नसकेको उनले बताए । सांसद ठगुन्नाले भने, ‘भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ ।’ गृह मन्त्रालय र स्थानीय प्रशासनको वक्तव्य हेर्दा सरकार गम्भीर नदेखिएको समेत उनले बताए ।

सांसद ठगुन्नाले घटनाको विरोधमा भारतसँग औपचारिक विरोध जनाउन, मृतकका परिवारलाई क्षतिपूर्ति घोषणा गर्न र दोषी एसएसबीलाई कारबाही गर्न माग गरेका छन् । साथै घटनाको छानबिन गर्न संसदीय समिति बनाउन र दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरव आयोजना घोषणा गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस महाकालीमा वर्षेनि बेपत्ता हुन्छन् व्यासका बासिन्दा, लालाबालाको विचल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment