Comments Add Comment

अब विद्यालय पनि खोल्ने कि ?

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपालका करीब ३५ हजारभन्दा बढी विद्यालय पुनः बन्द अवस्थामा छन् । करीब ८० लाख कलिला मस्तिष्कका जिज्ञासु बालबालिका घरभित्रै सीमित छन् ।

सरकारले रेडियो, टेलिभिजन र अनलाइन लगायत वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा सीमित विद्यार्थीको मात्र पहुँच छ । कोरोनाकै कारण गत शैक्षिक सत्रमा विद्यालय कतै ६ महीना भौतिक रूपमा सञ्चालन हुन पाए त कतै दुई महीना मात्र ।

शहरी क्षेत्रमा त्यो पनि विशेषगरी संस्थागत विद्यालयमा अनलाइन कक्षा केही मात्रामा प्रभावकारी भए पनि ग्रामीण क्षेत्र र सरकारी विद्यालयमा अनलाइन कक्षाको पहुँच हुन सकेन । वैकल्पिक पठनपाठनमा निजी तथा सामुदायिक विद्यालयबीच ठूलो भिन्नता रह्यो । सरकारको समग्र उद्देश्य, अभियान र प्रयास पूर्ण रूपमा सफल भएन ।

मानसिक तनावमा बालबालिका

यतिखेर देशभरका सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थी र उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका एक हजार ४२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थी घरभित्रै कैदी जस्ता भएका छन् ।

लामो समयको निषेधाज्ञाले खेल्ने, चल्ने र विद्यालय जाने उमेरका कलिला बालबालिकालाई सबभन्दा बढी मानसिक तनावमा पारिदिएको छ । लामो समय घरभित्रै बस्नुको मानसिक पीडा र तनाव खपिसक्नु छैन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बालस्वभाव कुण्ठित र निरश बनेको छ ।

खाऊँखाऊँ, लाऊँलाऊँ उमेरका बालबालिकासँग यतिबेला न पुस्तक छ, न त स्कूल नै । न साथी छन्, न खेल सामग्रीहरू नै । न मनमा रमाइलो छ, न त शरीरमा स्फूर्ति । न अध्ययनमा लगाव छ न भविष्यप्रतिको कुनै आकांक्षा र योजना नै । छ त केवल कोरोनाको त्रास । आज यति जना मरे, यति जना संक्रमित भए भन्ने त्रासद समाचार र निषेधाज्ञाको कोकोहोलो मात्रै । छरछिमेक, वरपर र आफन्तजनका दुःखद मृत्युका खबरले उनीहरूको बालमस्तिष्कमा निराशाजनक र नकारात्मक असर मात्र भरिएको छ ।

बाहिर ननिस्क, हात धोइरहूँ, मास्क लगाऊ र स्यानिटाइजर दल भन्ने एकोहोरो र पट्यारलाग्दो उर्दी बाहेक उत्प्रेरणामूलक खबर र हौसलापूर्ण कुरा उनीहरूले सुन्न पाएका छैनन् । साथीसँग भेटघाट गर्न, खेल्न, कुद्न र हाँसखेल गर्न नपाउँदाको त्यो अव्यक्त बालवेदना हामी वयस्कहरूले केवल अनुमान मात्र गर्न सक्छौं । अनुभव, अनुभूति र महसूस गर्न सक्दैनौं ।

आज उनीहरूमा न पहिले जस्तो चञ्चलता देखिन्छ न त जिज्ञासुभाव नै । न शरीरमा कुनै स्फूर्ति छ न बालसुलभता नै । उनीहरू एकाङ्गी, अटेरी र जिद्दी बन्दैछन् । लामो समय घरभित्रै सीमित रहेका कतिपय विद्यार्थीले बोलाउँदा झर्कने, टोलाउने, रिसाउने जस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । बालबालिकाको शारीरिक र मानसिक विकासमा नकारात्मक असर परेको देखिन्छ । मुलुकका भविष्यका कर्णधारमा आएको यो मनोदशा र नकारात्मक असर मुलुकका लागि अत्यन्तै चिन्ताको विषय हो ।

११ लाख बढी शिशु बालबालिका सिकाइबाट वञ्चित

कोरोना कहरपछि लकडाउन वा निषेधाज्ञाका कारण नेपालका प्रारम्भिक बाल शिक्षाका करीब ११ लाख साना बालबालिका शिक्षण सिकाइबाट पूर्ण रूपमा वञ्चित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार २०७६ सालमा देशभरि ११ लाख ३१ हजार ९१ बालबालिका प्रारम्भिक बालशिक्षाका लागि नाम दर्ता गरिएका थिए । यो आँकडा अनुसार वार्षिक रूपमा वृद्धि हुने संख्या नजोड्दा पनि प्रारम्भिक बालशिक्षाका करीब ११ लाखभन्दा बढी शिशु बालबालिकाले शिक्षण सिकाइ अवसर यतिखेर गुमाउनुपरेको छ ।

रेडियो, टेलिभिजन, जुम वा म्यासेन्जरबाट गरिने अनलाइन पढाइ साना बालबालिकाहरूका लागि प्रभावकारी नहुने र त्यस्ता बालबालिकालाई भौतिक रूपमै खेलाउँदै, रमाउँदै सिकाउनुपर्ने भएकोले निषेधाज्ञाको यो लामो समयमा उनीहरू सिकाइबाट वञ्चित हुनुपरेको छ ।

उमेरगत स्वास्थ्यको दृष्टिले पनि मोबाइल, ल्यापटप वा कम्प्युटर जस्ता विद्युतीय उपकरणमा घण्टौंसम्म बसेर पढ्न पनि अहित हुने र कम उमेरका बालबालिका यस किसिमका अनलाइन कक्षामा आफैं प्रत्यक्ष रूपमा संलग्न हुन नसक्ने भएकाले लामो लकडाउनले प्रारम्भिक बाल शिक्षा क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ । संवेदनशील र साना उमेर समूहमा पढ्ने नर्सरी, केजी, मन्टेसरी लगायतका प्रारम्भिक बाल शिक्षाका लाखौं बालबालिकाको सिकाइ लगभग डेढ वर्षदेखि हुनसकेको छैन ।

उनीहरूलाई न त अनलाइन कक्षाले समेट्न सकेको छ न त अन्य कुनै वैकल्पिक शिक्षा पद्धतिले नै । ठूला विद्यार्थीप्रति सबैको ध्यान केन्द्रित भइरहँदा साना बालबालिकाको सिकाइप्रति न राज्यको ध्यान नै पुग्न सकेको छ न त स्थानीय सरकार र सम्बन्धित निकायहरूको नै ।

नेपाल जस्तो देशमा शिक्षण सिकाइका लागि कक्षा कोठाको पूर्णतः विकल्प अनलाइन क्लास न त कहिल्यै भएको थियो न त हुने नै देखिन्छ । यस अर्थमा विद्यालयमा भौतिक उपस्थिति नहुँदासम्म शिक्षण सिकाइले पूर्णता पाउन सम्भव देखिंदैन ।

युनिसेफको अध्ययन प्रतिवेदन अनुसार विद्यालय जाने उमेरका १० मध्ये ३ बालबालिका मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच राख्छन् । साधन स्रोतमा पहुँच भएका ५ मध्ये ४ जनाले मात्रै यी माध्यमलाई दूर शिक्षाका लागि उपयोग गरेका छन् ।अहिले नेपालमा ३६ हजार ५६८ बाल विकास केन्द्र रहेका छन् जसमध्ये सामुदायिक विद्यालय र समुदायमा आधारित ३० हजार ४४८ र संस्थागत विद्यालयमा ६ हजार १२० बाल विकास केन्द्र छन् । विगतमा कुल भर्ना दर ८४.१ प्रतिशत रहेको थियो । ६३ प्रतिशत बालबालिका बाल विकास कार्यक्रमको अनुभूतिसहित कक्षा १ मा प्रवेश गरेको देखिन्छ । अहिले कुल जनसंख्यामध्ये पाँच वर्षमुनिका बालबालिका करीब १५ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

खेल्दै सिक्दै शिक्षण विधिले बालबालिकालाई सिकाइ प्रक्रियामा सहज भएको थियो । ध्वनि सचेतना, गाउने, खेल्ने, नाच्ने, बुक कर्नर, अक्षर गोटी, शब्दपत्ति लगायतका विधिबाट उनीहरूलाई सिकाउने गरिएको थियो । माथिल्लो तहमा पढ्ने विद्यार्थी तथा इन्टरनेट सुविधा भएका विद्यार्थीलाई अनलाइन शिक्षा अलिकति प्रभावकारी भएको भए पनि साना बालबालिकाको एउटा ठूलो जमात त्यसबाट वञ्चित छ । वर्षौसम्म पूर्व प्राथमिक कक्षाका यति धेरै बालबालिका पढाइ र सिकाइबाट वञ्चित हुनु भनेको एकखालको राष्ट्रिय शैक्षिक सङ्कटकाल नै हो ।

इन्टरनेट र मोबाइलका नकारात्मक असर

पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइन्थ्यो । समयक्रमले हामी सबैलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल, ट्याब र ल्यापटप किनिदिनुपर्ने विवशतामा पुर्‍यायो । अब किशोरकिशोरी तथा बालबालिकालाई सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा रमाउने बानी परिसकेको छ । मोबाइल फोनको बढ्दो प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउन थालिसकेको छ ।

कतिपयले आफ्नो उमेर अनुसार चाहिने–नचाहिने सामग्री पनि हेर्न भ्याइसकेका छन् । पब्जी, फ्री फायर लगायतका अनेकौं गेम र टिकटक जस्ता कुरामा धेरैको नियमितता बनिसकेको छ ।

बालबालिका घरभित्रै भए पनि आफ्ना अभिभावकसँग टाढिंदै जान थालेका छन् । उनीहरू एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भइसकेका छन् । उनीहरूमा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने र बोल्दा पनि झर्किने खालका मानसिक समस्या देखिन थालेका छन् ।

अनलाइन कक्षाका नाममा लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी र उदासीनता बढ्दै गएको छ । निद्राको समस्या, थकान महसूस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने समस्या आएका छन् । टाउको दुख्ने, आँखा खराब हुने र घाँटी दुख्ने जस्ता रोग पनि बढ्न थालेका छन् ।

उनीहरूमा मौलिकता, सिर्जनात्मकता र शारीरिक सक्रियता हराउँदै अल्छीपन र मोटोपना बढ्न थालेको छ । अनलाइन शिक्षाबाट बालबालिकालाई केही हदसम्म राहत भए पनि समग्रमा तात्कालीन र दीर्घकालीन अनेक नकारात्मक असर देखिन थालेका छन् । यो अभिभावक, समाज र देशकै लागि गम्भीर चिन्ताको विषय हो । यी नकारात्मक मानसिक असरको उपचार कसरी गर्ने ? अब सोच्नैपर्ने भएको छ ।

खस्कँदो शैक्षिक गुणस्तर

यो वर्षको एसईई परीक्षा पनि अघिल्लो वर्ष जस्तै लिखित परीक्षा विना नै आन्तरिक मूल्याङ्कनको आधारमा सतही रूपले गरिएको छ । सबैजसो पालिकाहरूमा कक्षा आठको आधारभूत तह र अन्य सबै कक्षाको वार्षिक परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाटै गरेर जसोतसो नयाँ शैक्षिकसत्र शुरू गरिएको छ । तर अझै पनि देशका धेरैजसो ठाउँमा शिक्षण सिकाइ प्रक्रिया शुरु हुनसकेकै छैन ।

शैक्षिक सत्र जसोतसो सकिएको र नयाँ शैक्षिक सत्र शुरू भएको भनिए पनि वास्तविक शिक्षण सिकाइ र शैक्षिक मूल्यांकन भएकै छैन । मुख्य कुरा त त्यस अवधिमा विद्यार्थीमा कत्तिको गुणस्तरीय सिकाइ उपलब्धि हुन सक्यो भन्ने नै हो । विना परीक्षा नै माथिल्लो कक्षामा जान पाएपछि विद्यार्थीले अध्ययन गर्न छोडेका छन् । विद्यार्थीमा हुनुपर्ने शैक्षिक गुणस्तर ह्वात्तै घटेको छ । यस्तो दयनीय शैक्षिक दुरवस्थाले नेपालको समग्र शैक्षिक गुणस्तर कहाँ पुग्ला ? गम्भीर मनन गर्नुपर्ने विषय छ ।

अनलाइन कक्षा कति प्रभावकारी ?

हाम्रो मुलुकमा बिजुली पुगेको र इन्टरनेटको सुविधा भएको भनिएका शहरका विद्यार्थीमध्ये मात्र ३० प्रतिशत अनलाइन कक्षामा समेटिएको तथ्य बाहिर आएको छ । गाउँमा त झनै दुर्दशा छ । फोन गर्न डाँडामा र रूखमा चढ्नुपर्ने बाध्यात्मक अवस्थामा तत्तत् ठाउँका विद्यार्थीको अनलाइन कक्षामा पहुँच ‘आकाशको फल आँखा तरी मर’ भएको छ ।

मानसिक तनावमा परेका कलिला मस्तिष्कका विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिबाट टाढा हुन नदिन तत्काल विद्यालय खोलेर उनीहरूसँग भौतिक रूपमै शैक्षिक सम्पर्क गर्न जरूरी देखिन्छ ।

विद्युत् आपूर्तिको अनियमितताले टेलिभिजनको कक्षा समेत प्रभावकारी हुने कुरै भएन । टीभी तथा मोबाइल फोनको समस्या त छँदैछ । बिजुली आउँदा नेट नहुने अनि नेट आउँदा बिजुली नहुने समस्या नेपालका धेरैजसो ठाउँका दैनिक समस्या नै हुन् ।

सरकारी तथ्याङ्क अनुसार नेपालको ८२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छ तथा ६५५ पालिकासम्म नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको भनिएको छ। यस तथ्यका आधारमा पनि ठूलो जनसंख्या इन्टरनेट पहुँच बाहिरै रहेको प्रष्ट हुन्छ । शहरी क्षेत्रमै पनि टेलिकमको फोरजी तथा अन्य ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू भरपर्दा छैनन् भने ग्रामीण क्षेत्रमा अनलाइन कक्षाका लागि ती कति प्रभावकारी होलान् ? सहजै अनुमान गर्न सकिन्छ ।

कक्षा कोठाको विकल्प छैन

नेपाल जस्तो देशमा शिक्षण सिकाइका लागि कक्षा कोठाको पूर्णतः विकल्प अनलाइन क्लास न त कहिल्यै भएको थियो न त हुने नै देखिन्छ । यस अर्थमा विद्यालयमा भौतिक उपस्थिति नहुँदासम्म शिक्षण सिकाइले पूर्णता पाउन सम्भव देखिंदैन ।

हाल कोरोना विरुद्धको खोप अधिकांशले लगाइसकेका छन् । लकडाउन पनि खुकुलो भएको छ । बजारहरू खुलेका छन् । होटल, पसलहरू यथावत् रूपमा चल्न थालेका छन् । रेस्टुरेन्टहरूमा त्यत्तिकै चहलपहल छ । बजारमा भीडभाड बढेको पनि छ । उद्योग कलकारखानाहरू पनि सञ्चालन भएकै छन् ।

अत्यन्तै भीडभाड र अस्तव्यस्त रहने सरकारी कार्यालय मालपोत, यातायात, नापी, अदालत, खानेपानी, विद्युत् जस्ता कार्यालय पनि त खुलै छन् । यस्तो अवस्थामा विद्यालयलाई मात्र महामारी जोखिमको केन्द्र देख्नु गलत मानसिकता भन्न सकिन्छ ।

कोरोनाको त्रास यद्यपि कायमै छ । तथापि मानसिक तनावमा परेका कलिला मस्तिष्कका विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिबाट टाढा हुन नदिन तत्काल विद्यालय खोलेर उनीहरूसँग भौतिक रूपमै शैक्षिक सम्पर्क गर्न जरूरी देखिन्छ ।

यसर्थ, नेपालका सबै विद्यालयका शिक्षक-कर्मचारीलाई खोपको सुनिश्चितता गरी उच्च सावधानी अपनाउँदै बन्द विद्यालय खोल्न अब ढिला नगर्ने कि ?

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment