१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या समाधान नजिक पुगेको छ ।
यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ ।
नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा ठमेलमा दुई जनाबीच भेटघाट भएको थियो । दुई पक्षबीच भेटघाट भएपछि अहिले देखिएको विवादलाई समाधानतर्फ लैजाने विषयमा सहमति भएको राजकर्णिकारले बताए ।
‘कतार एम्बेसी, कोच, नेम्वाङजी सबैको चाहना अनावश्यक हल्लामा लाग्न भन्दा दुई जना बसेर छलफल गरे समाधान हुन्छ भन्नेमा रहेको बुझियो । त्यसपछि हामीले वातावरण बनायौँ । दुई जना आउनुभयो । बसेर छलफल गर्यौँ अनि एउटा निष्कर्षमा आउनुभयो’ उनले भने ।
राजकर्णिकारले बुधबारसम्म दुईजनाको संयुक्त विज्ञप्ति आउने सम्भावना रहेको बताए ।
साउन १० गते प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने अवस्था आएको भन्दै सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेपछि यो विवादको सुरुवात भएको थियो । त्यसपछि नेम्वाङले आफू दोषी भए राजीनामा दिन तयार रहेको भन्दै छानविन गर्न एन्फामा निवेदन दिए । अनि प्रशिक्षक अलमुताइरीले पनि नेम्वाङ र त्यसअघि दुई सञ्चारकर्मीले आफू विरुद्ध समाचार लेखेको विषयमा छानविन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए ।
गत शुक्रबार एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेपनि यो विवाद मिलाउन नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा छानविन गर्न अनुरोध गर्दै पत्र पठाएको थियो । त्यसपछि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपलाई यस विषयको छानविन गर्न निर्देशन दियो ।
राखेपले मंगलबार मात्रै राखेप बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजक्तवमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । उनीहरुलाई बुधबारदेखि सुरु हुने गरी ७ दिनभित्र यस विषयमा छानविन गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4