Comments Add Comment
ब्लग :

आत्महत्या र समाधान

भनिन्छ, मान्छेको जीवन अमूल्य छ । के यो अमूल्य उपहारलाई यत्तिकै खेर जान दिने त ? जब कुनै घरमा छोरा वा छोरीको जन्म हुन्छ, उक्त घरमा खुशीयालीको रौनक विछट्टै हुन्छ । बाबा र आमाको लागि पहिलो उहाँहरूले विवाह गरेको दिन र दोस्रो यो जस्तो खुशीको दिन शायदै नहोला । कुनै पनि छोरा वा छोरी जन्मेर उनीहरू जबसम्म आफ्नो जिम्मेवारी आफैं वहन गर्न सक्दैनन् तबसम्म उनीहरू रातदिन नभनेर बढाउन, पढाउन लागिरहन्छन् ।

आम मानिसमा आत्महत्यालाई मानसिक रोगीहरूले जिन्दगीदेखि निराश भएर चाल्ने कदम भन्छन् । मनोचिकित्सकहरूले न्यूरोलोजिक र साइक्याट्रिक डिस्अर्डरको उपज मान्छन् ।

जो–कोही आत्महत्या गर्ने व्यक्तिहरूले के कारणले आत्महत्या गरेछन् भनेर खोज्ने हो भने निम्न कारण भेटिन्छन्– परीक्षामा राम्रो अङ्क ल्याउन नसकेर, प्रेमी वा प्रेमिकाले धोका दिएर, घरेलु हिंसाको शिकार भएर, बेरोजगारी र गरीबी, समाजबाट अपमानित भएर, रिस उठेको समयमा आवेगमा आएर, आफूले गरिरहेको कामप्रति सन्तुष्ट नभएर । तर, आत्महत्याको अन्तिम विन्दुलाई समात्ने हो भने त्यो दुःख सहन नसकेर हो । कारण जुनसुकै हुनसक्छ । त्यसले दिएको पीडा व्यक्तिले सहन सक्ने कि नसक्ने वा उसले उक्त दुःखसँग लड्नको लागि आफूलाई सक्षम बनाएको छ कि छैन भन्ने कुराले फरक पार्छ ।

चाहे ऊ मनोरोग विशेषज्ञ होस् या विश्वकै शक्तिशाली व्यक्ति; यसले कुनै फरक पार्दैन । फरक त यसले पार्छ– कुनै पनि व्यक्तिको मानसिक अवस्था कस्तो छ ?

आत्महत्याको विषयलाई खोतल्ने हो भने तीव्र गतिले बढ्दै गरेको विज्ञान र प्रविधि पनि पछिल्लो समय प्रमुख कारणको रूपमा देखिएको छ । बालबालिका र युवा पुस्तामा टेक्निकल सामग्रीहरूको लत यस्तो लागिसकेको छ जसको नतिजा दिनानुदिन देखिंदैछन् । हुन त कुनै पनि विषयका सकारात्मक र नकारात्मक दुई पाटा हुन्छन् । बढ्दो विज्ञान र प्रविधिको पनि सदुपयोग र दुरुपयोग दुईवटा विकल्प छन् । तर, समाचार तथा रेकर्डहरूले यसको व्यापक दुरुपयोग भएको देखाउँछ ।

केही समय अगाडि एउटा समाचार आएको थियो– यदि व्यक्तिहरूले मोबाइल तथा सामाजिक सञ्जालको यही गतिमा प्रयोग गर्छन् भने अबको २० वर्षपछि हरेक घरमा एक जना मानसिक रोगी हुनेछ । यो पढ्दा तपाईंलाई पनि लागेको होला– यसमा कुनै शंकै छैन । यदि हामीले यो तथ्यलाई जान्दा जान्दै पनि आफैं मोबाइल तथा सामाजिक सञ्जालको घण्टांै प्रयोग गर्छौं र बालबालिकालाई पनि केही भन्दैनौं भने हामी जस्तो पटमूर्ख यो दुनियाँमा अरू को होला ?

समस्या जोकोहीसँग छ । यदि कुनै दिन तपाईंसँग समस्या भएन भने यो जिन्दगी दुःखद हुनेछ । किनभने समस्या विना जिन्दगीले कुनै पनि आकार लिंदैन । परिश्रम नगरी कुनै पनि हालतमा फल प्राप्त हुनु असम्भव छ । एकपटक सोचौं त जिन्दगी हामीले चाहे जस्तो भयो भने कस्तो होला ? बहुत खल्लो, केही न केही नपुगे जस्तो, नभए जस्तो किनभने समस्याले नै हामीलाई बलवान र बुद्धिवान बनाउँछ । हरेक चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु नै त जिन्दगीको उपनाम हो ।

कुनै पनि व्यक्तिलाई शारीरिक र मानसिक रूपमा समस्या छ भने सम्बन्धित डाक्टरकोमा जान संकोच मान्नुहुँदैन । समस्या छ भने समाधान पनि छ भन्ने विश्वास आफूलाई बारम्बार दिलाइरहनुपर्छ । यसले आत्मविश्वास जगाउँछ । समस्याको समाधान खोज्न उत्प्रेरित गर्दछ । हाम्रो जिन्दगीप्रति हेर्ने दृष्टिकोण हामी जुन र जति विश्वास गर्छौं त्यतिमा सीमित हुन्छ ।

हामी समस्याको बारेमा कहिल्यै जागरुक हुँदैनौं । जब समस्या आइपर्छ तब टाउकोमा हात राखेर रोइकराइ गर्छौं । त्यसपछि जिन्दगी सकियो भनेर आत्महत्याका विभिन्न बाटोहरू खोज्न शुरू गर्छौं । र, हामीलाई के पनि थाहा हुन्छ भने ‘रोग लागेर रोगको उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु बेस ।’ त्यसैले शारीरिक तथा मानसिक रोग निम्त्याउने एउटा महत्वपूर्ण कारण लापरबाही स्वभाव पनि हो ।

रोइकराइ गर्न मन लाग्छ, गर्नुस् । केही दिन उदास बस्न मन लाग्छ, बस्नुस् । मनमस्तिष्कमा आशाका किरणहरू देखिन बन्द हुन्छन्, कतै घुमफिर गरेर आउनुस् । समस्या आयो भने सोच्नै सकिंदैन । दुःख सहनै सकिंदैन । के त्यसो भए मृत्यु एउटा मात्र विकल्प हो त ? पक्कै पनि होइन । मृत्यु ढिलो चाँडो आउँछ नै तर त्यसभन्दा अगाडि केही त्यस्तो गर्ने आँट गरौं । जुन योभन्दा अगाडि कसैले गर्ने प्रयाससम्म गरेको थिएन । यो कुरा थाहा पाइराख्नुस् । ठूलो समस्या आयो भने माथिल्लो स्तरबाट सोच्न सक्ने तपाईंको लागि यो जस्तो राम्रो अवसर अर्को कमै आउनेछ । र, एउटा पत्थर हथौडाको मार सहेर मात्र मन्दिरमा पुजिने मूर्ति बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment