Comments Add Comment

पारसले धेरै सोच विचार गरेर नै संन्यास लिएका होलान्  

पारस खड्काको संन्यास घोषणा नेपाली क्रिकेट समर्थक र दर्शकका लागि आश्चर्यजनक हुन सक्छ । तर खेलमा सक्रिय हुन सक्ने निश्चित कालखण्डमा एउटा खेलाडीले कहिलेसम्म खेल्ने ? एउटा वुद्धिमान खेलाडीले मैले कहाँसम्म खेल्ने, त्यसपछि के गर्ने भन्ने परिस्थितिको आँकलन गरेर निर्णय गर्नुपर्छ । पारसले यी विषयलाई ख्याल गरेर नै संन्यास लिएको हुनुपर्छ ।

किनकी उनको यात्रा २००२ मा सुरु भयो । २००२ देखि २०२१ सम्म आइपुग्दा १८ वर्ष भयो । उनको करिअरको शुरुवातमा हामीले सँगै काम गरेका थियौं । सन् २००४ मा नेपाल यू-१७ एसिया कप खेल्न भारत गएको थियो । म त्यो बेला असिस्टेन्ट म्यानेजर थिएँ । त्यो समय पारस कप्तान थिए । रोय डास नेपालको प्रशिक्षक थिए ।

मैले त्यतिबेला नै भनेको थिएँ, पारसले धेरै लामो समयसम्म नेपाललाई लिड गर्न सक्छ । उनले एक दशक भन्दा लामो अवधि नेपालको कप्तानी गरे । नेपाललाई ओडीआई स्ट्यास दिलाउने, डिभिजन ५ देखि डिभिजन वानसम्म,  त्यसपछि टी-२० विश्वकपसम्म पुर्‍याए । नेपाली क्रिकेटको सीमित साधन र स्रोतबाट आफ्नो लिडरसिपमा त्यो सफलतासम्म पुर्‍याउनु सामान्य कुरा थिएन ।

यो पनि पढ्नुहोस ‘प्यासन सकियो, अब करियर सुरु हुन्छ’

आज नेपाली क्रिकेट केही छ भनेर विश्व क्रिकेटमाझ हामीलाई चिनाउन सफल भएको छ । यसमा पारस खड्काको योगदान अतुलनीय छ । पारसले आजको दिनमा के गर्ने, नेपाली क्रिकेटलाई कुन तरिकाले अघि बढाउने भन्ने हिसाब गरेर नै संन्यास लिएको हुनुपर्छ ।

क्रिकेटमा हाम्रो समकालीन देशमा अफगानिस्तानलाई छाडेर हेर्ने हो भने नेपालको हैसियत यहाँ पुग्नुमा खेलाडी र कप्तानको रुपमा पारसको धेरै ठूलो भूमिका छ । क्यानका पदाधिकारीको क्षमता, हाम्रो देशमा क्रिकेटले पाउने स्रोत साधन हेर्दा  नेपालले ठूलो उपलब्धी हासिल गरेको हो ।

पारस कहिलेकाहीँ कन्ट्रोभर्सीमा पनि परेको देखिन्छ । तर एउटा फिगर भएपछि केही कुरा राम्रो गर्दा केही कुरा सानो भएपनि मानिसले कन्ट्रोभर्सीमा जोड्छन् । यसलाई म सामान्य मान्छु । किनकी जुन योगदान छ त्यसको तुलनामा त्यो कन्ट्रोभर्सी केही पनि होइन । क्रिकेटमा पारसको जुन योगदान छ मलाई लाग्छ वर्षौँ वर्षौँसम्म आउने पिँढीलाई  मार्गदर्शक पनि हुन्छ ।

पारस खड्काले यस्तो गरे, हामीले पनि सेवा गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर क्रिकेटमा लाग्न मद्दत मिल्छ ।

नेपाली क्रिकेटमा एउटा निडर, सक्षम नेतृत्वका रुपमा थिए पारस । अब क्रिकेट टिममा त्यसको कमी हुन सक्छ । हाम्रो देशमा क्रिकेटमा कुनै व्यवसायिकता छैन । खेलाडीको लागि कोही न कोही बोल्नुपर्ने हुन्छ । त्यो हिसाबले गर्दा खेलाडीको सुविधा र विकासलाई लिएर साहसपूर्वक बोल्ने निडर नेतृत्व हामीले मिस गर्न सक्छौं ।

पारस आउँदा दिनमा व्यवस्थापनमा पनि आउन सक्छन् । मैले के प्रष्ट देखेको छु भने उनीसँग जुन प्रकारको क्षमता छ मार्केट भ्यालु छ, त्यसलाई व्यवस्थापनमा लगाउन टाइमिङ मिलाएको हुन सक्छ । आफूलाई त्यहाँ (क्यानमा) प्रस्तुतिकरण गर्नका लागि पनि यो गरेको हुनपर्छ ।

कोरोना महामारी र नेपाली क्रिकेट व्यवस्थापन गर्ने पदाधिकारीहरुको व्यवस्थापन क्षमता हेर्दा चाहिँ अहिले कुनै अन्तर्राष्ट्रिय खेल नहुने सम्भावना देखियो । पारसले क्रिकेटमा गरेको योगदानलाई हेरेर सरकार र सम्बन्धित निकायले उपयुक्त ठाउँमा काम दिनुपर्छ ।

पारसको संन्यासले केही सिनियर खेलाडीलाई प्रेसर परेको हुन सक्छ । राष्ट्रिय टिममा हामीसंग केही मात्र अनुभवी खेलाडी बाँकी छन् । हुन त खेलकुदमा पुस्तान्तरण हुँदै जान्छ । तर अहिले हामीलाई अनुभवी खेलाडी पनि चाहिएको छ । अहिले पनि हाम्रो बेन्च स्ट्रेन्थ छैन । त्यसैकारण सबैले एकैपटक छोड्दा भोलिको दिनमा भ्याकुमको स्थिति आउन सक्छ ।

अझै पनि केही सिनियर खेलाडीले राष्ट्रिय टिममा स्थान बनाइराखेका छन्, नेपालको अर्को ओडीआई साइकलसम्म उनीहरुले आउने पिँढीलाई ओडीआई खेल्न तयार पारेर मात्र विदा लिनुपर्छ । त्यसो भए सही तरिकाले नेपाली क्रिकेटको पुस्ता हस्तान्तरण हुन्छ र नेपाली क्रिकेट राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस पारस क्यानमा आउनु राम्रो हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment