६ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेल अर्धशतकबाट एक रनले चुकेको खेलमा लुम्बिनी लायन्सले नेपाल प्रिमि लिग (एनपीएल) मा कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो ।
४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए । रोहितले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे ।
रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै जेजे स्मिथले १४ बलमा २ चौका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।
कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले एक/एक विकेट लिए ।
नन्दन यादवले दोस्रो ओभरमै लुम्बिनीका ओपनर सन्दीप जोराको विकेट लिँदै कर्णालीलाई सुखद् सुरुवात दिलाएका थिए । जोराले ८ बलमा १ रन मात्र जोडे ।
त्यसपछि अर्का ओपनर डार्शी सटले कप्तान रोहित पौडेलसँग इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।
दोस्रो विकेटका लागि रोहित र सटले ३६ रनको साझेदारी गरे । १९ रन बनाएका सट सातौं ओभरमा आउट भए । उनलाई गुल्सन झाले आउट गरे ।
रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गइरह्यो ।
दिलीप नाथ ६ रन बनाएर आउट भए । दिलीपलाई मार्कवाटले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका गुल्बादिन नाइब पनि चाँडै आउट हुँदा दुम्बिनीले ६१-४ को स्थितिमा पुग्यो ।
पहिलो खेलमा चितवनविरुद्ध ४४ बलमा अविजित ४४ रन बनाएका गुल्बादिनलाई आज विपिनप्रसाद शर्माले एलबीडब्लु धरापमा पारे ।
यस सिजन पहिलो खेल खेलिरहेका सुमित महर्जनले १० बलमा मात्र ४ रन बनाए । उनलाई युवराज खत्रीले विलियम बोसिस्टोबाट क्याचआउट गराए ।
अर्धशतक नजिक पुगेर पनि लुम्बिनीका कप्तान रोहित १७ औं ओभरमा आउट भए । उनलाई सोमपालले नजिबुल्लाह जद्रानबाट क्याचआउट गराए ।
त्यसपछि जेजे स्मिथ १८औं ओभरको अन्तिम बलमा आउट भए । लगत्तै अर्को ओभरमा समीर अली मार्क वाटको बलिङमा वाटबाटै रनआउट भए ।
प्रतिक्रिया 4