Comments Add Comment

उपत्यकामा सुस्त गतिमा बढ्दैछ कोरोना संक्रमण

२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन् । बुधबार १,२७९ जना तथा बिहीबार १,०७८ जना संक्रमित थपिएका छन् ।

तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको देखिन्छ । कोरोना महामारीको दोस्रो लहरमा एकैदिन सबभन्दा धेरै संक्रमित २६ वैशाखमा ४,१९८ जना फेला परेका थिए । उक्त दिन देशभर भने ८,८५० जना संक्रमित थपिएका थिए ।

दोस्रो लहरमा काठमाडौं उपत्यकामा सबभन्दा कम असार १२ गते २४९ नयाँ संक्रमित भेटिएका थिए । त्यसको एक साताअघि अर्थात असार ८ गतेदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन थालिएको थियो । निषेधाज्ञा खुकुलो भएको पाँचौं हप्ता अर्थात ११ साउनमा कोरोना संक्रमित दुई गुणाभन्दा बढी (९९९ जना) थपिएका छन् ।

२० साउनयता संक्रमितको संख्या हजार नाघेको छ ।

किन बढ्दैछ संक्रमण ?

काठमाडौं उपत्यकामा पछिल्लो दुई दिनयता दैनिक थपिने कोरोना संक्रमित संख्या एक हजारभन्दा बढी छ । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न जाँदा काठमाडौं उपत्यकामा संक्रमण बढेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

‘सबै क्षेत्र खुल्दै गए । जोखिमको दायरा पनि बढ्दै गयो । तर जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ हुन थाल्यो । फलस्वरुप संक्रमण बढेको देखिन्छ’ डा. पौडेलले भने ।

डेल्टा र डेल्टा प्लस भाइरस बढी संक्रामक भएको र सामान्य रुघाखोकी जस्ता लक्षण भएका व्यक्ति पनि परीक्षण नै नगरी केही होइन भनेर भीडभाड क्षेत्रमा जाँदा अरुलाई संक्रमण सरेको हुनसक्ने उनले बताए ।

पछिल्लो समय अस्पतालहरुमा पनि कोरोना संक्रमितको चाप बढ्दै गएको भन्दै उनले यसलाई राम्रो संकेत मान्न नसकिने बताए । काठमाडौं उपत्यकामा मात्रै नभई देशभर संक्रमण बढ्दो क्रममा रहेको भन्दै उनले जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment