Comments Add Comment

भन्सार छलीका ५९५ थान मोबाइलसहित दुई जना पक्राउ

२२ साउन, काठमाडौं । भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए । मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो गाडीलाई गएराति ११ बजे विनयीत्रिवेणी नगरपालिका–१ मा पर्ने राजमार्गबाट नियन्त्रणमा लिइएको र सो गाडीबाट विना बिल भर्पाइका ५९५ थान मोबाइल बरामद भएको डिएसपी गिरीले जानकारी दिए ।

‘भन्सार छलेर ल्याइएका बिभिन्न ब्राण्डका यी मोबाइलको मूल्य ७० लाख भन्दा बढी छ,’ डिएसपी गिरीले भने, ‘यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

सरकारले सुरक्षाका लागि र भन्सार छलीको कामलाई रोक्ने उद्देश्यले एमडिएमएस प्रणाली लागु गर्दै मोबाइलको आईएमईआई नम्बर इन्ट्री अनिवार्य गरे पनि लुकिछिपी अवैध रुपमा मोबाइल भित्रिने क्रम नरोकिएको नवलपुरको यो घटनाले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment