Comments Add Comment

माधव नेपाललाई केन्द्रीय सदस्यहरुको सुझाव : सम्मानजनक एकता नभए विद्रोह

२२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।

नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । ‘केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ । अहिले स्थायी कमिटीका नेताहरु निष्कर्ष निकाल्न छलफलमा हुनुहुन्छ,’ केन्द्रीय सदस्य राजन राईले भने ।

उनका अनुसार अधिकांश केन्द्रीय सदस्यहरुको सुझाव मिल्दोजुल्दो छ । ‘सम्मानजनक एकता हुनुपर्छ भन्नेमा लगभग एकमत छ । तर अध्यक्ष केपी शर्मा ओली समूहसँग आशंका कायमै छ,’ उनले भने । आशंकाका बीच पहिलो प्राथमिकता भने पार्टी एकता नै हुनुपर्नेमा नेताहरु सहमत रहेको राईले बताए ।

दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरुले एकता बिथोल्ने काम भएको नेताहरुले बताएका थिए । विशेष गरी ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो ।

‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ अर्का केन्द्रीय सदस्य निरज आचार्यले भने । एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए ।

‘एकताको नाममा अल्मलिन हुँदैन । हामीलाई झुलाइरहन यस्तो गरिएको हो कि भन्ने आशंका धेरै नेताहरुले गर्नुभएको छ,’ उनले भने । प्रतिनिधिसभा विघटनबारे ओलीले माफी माग्नुपर्ने पनि केही नेताहरुले तर्क गरेका थिए ।

‘दशबुँदे प्रगतिशील छ । तर प्रतिनिधिसभा विघटनलाई के भन्ने ? यसबारे एउटै पार्टी हुँदा कसरी सम्बोधन हुन्छ ? यो कुरा प्रमुख हो,’ अर्का केन्द्रीय सदस्यले भने । पार्टी एकता गर्दा राजनीतिक एजेण्डाहरुमा पनि साझा सहमति जुटाइनुपर्ने नेताहरुको भनाइ थियो ।

‘एकता त गर्ने हो । तर घिसारिएर जान सकिँदैन । सम्मानजनक अवस्था बन्दैन भने एकता नगरे पनि हुन्छ भन्ने मत पनि आएको छ,’ केन्द्रीय सदस्य राईले भने । यथास्थितिमा एकता गर्नु भन्दा प्रगतिशील शक्तिहरुको मोर्चा गरेर अगाडि बढ्नुपर्छ भन्ने मत पनि आएको उनले बताए । प्रतिनिधिसभा पुनस्र्थापना पछि यो समूहको पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment