+
+
Shares

रुपन्देहीमा विद्युतीय बस एसेम्बलका लागि भारतीय कम्पनीसँग सम्झौता

दुई वर्षमा पाँच सय बस गुडाउने लक्ष्य

टोपराज शर्मा टोपराज शर्मा
२०७८ साउन २२ गते १९:००

२२ साउन, बुटवल । रुपन्देहीमा विद्युतीय बस एसेम्बलका लागि सुन्दर यातायात ट्रेडर्स प्रालि र भारतीय कम्पनीबीच सम्झौता भएको छ ।

सुन्दर ट्रेडर्स प्रालि र काशिस ई-मोबिलिटी प्रालि नयाँदिल्लीका बीच विद्युतीय सार्वजनिक सवारी साधन एसेम्बल र सञ्चालन गर्ने सम्वन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार काशिसले विद्युतीय सवारी साधनको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्दर यातायातले सञ्चालनको जिम्मा लिएको छ । नेपालमा पहिलोपटक विद्यतीय सार्वजनिक सवारी चलाउने सुन्दर ट्रेडर्सको भगिनी संस्था सुन्दर यातायात हो । जसले संघीय राजधानीमा विद्युतीय बस चलाइरहेको छ ।

उक्त सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फवाट प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले हस्ताक्षर गरेका छन् । नेपालका मुख्य शहरहरुमा विद्युतीय सवारी साधन चलाउने गरी भएको सम्झौता अनुसार दुई वर्षमा पाँच सय साधनहरु चल्नेछन् । यसका साथै एक वर्षभित्र नेपाली ब्राण्डका विद्युतीय बसहरु वजारमा गुडाइने छ ।

काशिसले जर्मन प्रविधियुक्त युरा बस आपूर्ति गर्नेछ । त्यसरी ल्याइने साधनको भुक्तानी अवधि ८ वर्षको हुनेछ भने सोको ग्यारेन्टी नेपाल सरकार वा वित्तिय सस्थाले गर्ने अध्यक्ष थापाले बताए ।

सम्झौता भएको ६० दिनभित्र २० वटा बस नेपाल आइपुग्ने सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाले बताए । पहिलो पटक ल्याइने बसहरु तयार भएका ल्याइने र बाँकी ८० वटा बसको चेसिस र थप ४ सय बस सैनामैनामै एसेम्बल भएका बसहरु उपलब्ध गराइने छ ।

चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा कम्तिमा २० देखि २२ लाख रुपियाँ सस्तो पर्ने, पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य हुने थापाले बताए ।

काशिस ई मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत रविकुमार पांगाले पछिल्लो समय विश्वभर विद्युतीय सवारी साधनको माग र लोकप्रियता बढेकाले विद्युतीय सवारी साधन एसेम्बलका लागि नेपालमा लगानी गरेको बताए ।

विद्युतीय सवारी साधनले पेट्रोलियम पदार्थको आयातमा कमी भई ब्यापार घाटामा कमी आउने, वातावरणीय प्रदूषणबाट मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असर कम हुने र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने उनले बताए ।

सुन्दर ट्रेडर्स प्रालिका संचालक डी.आर. घिमिरेले विद्युतीय सवारी साधनलाई नेपाल सरकारले नै उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै व्यवहारमा कार्यान्वयन गर्न माग गरे ।

रुपन्देहीमा एसेम्बल हुने विद्युतीय सवारी साधन स्वदेशमा मात्र नभई विदेश निर्यात गर्ने लक्ष्य रहेको छ । दोस्रो चरणमा प्रालिले मोतिपुर औद्योगिक क्षेत्रमा २५ बिघा जग्गा लिएर विद्युतीय कार एसेम्बल गर्ने लक्ष्य राखेको छ ।

सुन्दर ट्रेडर्स प्रालिले यस अघि नै सैनामैना नगरपालिकाको वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्ने प्रकृया शुरु गरिसकेको छ । एसेम्बल प्लान्टबाट करिव ३ सस जनाले रोजगारीको अवसर पाउने प्रालिले जनाएको छ ।

प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनको सिचुवान गुहाङ अटोमोबाइल्स बी एके कम्पनीको लगानी हुने छ । पहिलो चरणमा सुन्दर यातायात ट्रेडर्स प्रालिले तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरी एसेम्बल प्लान्ट निर्माण गर्ने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

परियोजना सञ्चालनमा आएपछि स्थानीय तहमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङमा नि: शुल्क उच्च शिक्षा प्रदान गर्न चिनमा पठाइने छ । त्यसवाहेक पनि छोंटो अवधिको तालिम प्रदान गरेर जनशक्ति उत्पादन गर्दै लगिने छ ।

नेपाल सरकारले विद्युतीय गाडीलाई उच्च प्राथमिकता दिने नीति अनुरुप चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिनुका साथै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई विस्थापित गर्ने नीति लिएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?