Comments Add Comment

कथा : भत्किएको अध्याय

सल्लेरी सुसाएर सन्ध्याकालीन सिट्ठी बजाउँदै थियो । एकदुई झ्याउँकिरी बास्न थालिसकेका थिए । सबै आ-आफ्नो वासस्थानमा पुग्ने हतारोमा थिए ।

बारीको डिलबाट लालकुमारीले पारि पाखातिर नियालेर हेरी । उसले त्यो डिलमा आएर त्यतातिर नियाल्न थालेको धेरै भइसकेको थियो । स्कूलको पढाइ सकेर हतारहतार गरेर गिरे घर फर्किंदै थियो । अन्ततः गिरेलाई त्यो पाखाबाट आउँदै गरेको देखी ।

गिरेलाई देखेपछि उसको मन हलचल भयो । अब गिरे आउँदासम्म त्यहीं लुकेर पर्खने सोची । तर, त्यो शून्य समयमा उसको मन भने कुनै गहिरो महासागरमा डुबुल्की मारेर सतहमा तैरिएझैं तैरिन थाल्यो ।

गिरे र लालकुमारी बालककालदेखिकै साथी थिए । आठ वर्ष हुँदै गर्दा गिरेकी आमा बित्दा लालकुमारी गिरे रोएको देखेर सारै दु:खी भएकी थिई । त्यसक्षण पलाएको गिरेप्रतिको सहानुभूति लालकुमारीले आफ्नो मनबाट कहिल्यै ओझेल पर्न दिइनँ । दाउरा-घाँस जहाँ जाँदा पनि साथै हुन्थे उनीहरू । गिरेलाई कसैले टुहुरो भन्यो भने लालकुमारी बाझ्दै भिडिहाल्थी ।

उमेरको हुर्कंदो लहरमा उनीहरू नयाँ मोडमा पुगे । मगर समाजमा मन मिलेपछि पोइल जाने संस्कार छँदै थियो । बा-आमा र छिमेकले पनि लाग्ने-मिल्ने जोडी भएकोले कसैले हस्तक्षेप गरेका थिएनन् । तर, खै किन हो अचेल गिरेले उसलाई देख्नासाथ बाटो काटेर भाग्न थालेको धेरै भइसकेको थियो । त्यो सम्झेर लालकुमारीको मन निचोरिएर आयो । तैपनि आज जसरी भए पनि गिरेलाई भेट्ने निधो गरी उसले ।

पर्खंदा-पर्खंदै झमक्क साँझ भइसकेको थियो । वारि-पारि पाखाका गोठहरूमा आगो बल्न थालिसकेका थिए । गिरे अझै आइपुगेन ।

‘आज पनि बाटो काटेर त गएन ?’ लालकुमारीको मनमा चिसो पस्यो । ऊ निस्किएर बाटोतिर हेरी । अँध्यारो भए पनि पारि रातो माटोको क्षितिजमा एउटा आकृति देखियो । ऊ फेरि प्रतीक्षालयमा गई ।

केहीबेरपछि नजिकै मान्छे हिंडेको आवाज सुनियो । लालकुमारीले च्याप्प समाती । गिरे एकैछिन तर्सिए पनि उसले त्यो चिर-परिचित छायाँ चिनिहाल्यो । अनि भन्यो-

‘छोड् न ! बेकारमा तर्साउँछे ।’

भक्कानिए जस्तै भएर लालकुमारीले बल्लबल्ल अड्किंदै भनी-

‘एकबार मरेर जाने चोला हो । केको बोलचाल बारेर, बाटो काटेर हिंड्छस् । बिन्ती छ ! बोल । बाटो काटेर नहिंड ।’

लालकुमारीको अनुनयले गिरेको छातीमा किला ठोकिएजस्तो भयो र झस्कियो । उनीहरू रातभर त्यही डाँडामा बसिरहे । उठ्दा भाले बासिसकेको थियो । उता लालकुमारीको घरमा खोज-गुहार पनि पोइल गएको निष्कर्षसहित सकिएको थियो ।

समयको घात असाध्यै पीडादायक हुँदोरहेछ । खै के कारणले हो, गिरे र लालकुमारीको प्रेम सम्बन्ध छुट्ने निर्णयमा पुगेर टुंगियो । बिहानीको शीतले रूझेर उनीहरू गह्रुंगो पाइला चाल्दै जिन्दगीको एउटा अध्याय भत्काएर आ-आफ्नो बाटो लागे ।

मन जले पनि तन सग्लै थियो । वर्षाको दिनमा जति धुम्म भएर पानी बर्सिए पनि आखिर बादल फाट्नै पर्दछ । बादल फाट्ने क्रममा केहीबेर छेकिएर घुर्मैलो देखिए पनि छोटो अन्तरालपछि सूर्य पूर्ववत् रूपले चम्किनै पर्दछ । गिरेसँगको वियोगपछि लालकुमारीको मनको बादल पनि विस्तारै फाटिसकेको थियो ।

०००

एकदिन हल्ला सुनियो गिरे भूमिगत भयो रे । त्यो कुरा लालकुमारीको कानमा पनि पर्यो । फेरि गिरेलाई भेट्ने इच्छा रापिएर मरुभूमिको गर्मीमा तिर्खाले तड्पिएर आँत सुक्दा हरहर भएझैं गरी उभारियो ।

तैपनि सास हुञ्जेल आश त हुने नै भयो । एकदिन पक्कै भेट हुने आशालाई सम्हालेर उसले कलेजोको यस्तो कुनामा गाँठो पारेर राखी, जहाँ दुनियाँले नदेखोस् तर उसले भने हरघडी हेर्न र छाम्न सकियोस् । यसरी आशाको कुटुरो बाँधेपछि बल्ल उसको अटेस-मटेस भएको मन केही सहज भो । अनि लामो र गहिरो सास तानेर मनको तनाव शान्त पारी ।

गाउँमा भूमिगत नेता र कार्यकर्ता अनि भूमिगत गतिविधिको तीव्रतासँगै लालकुमारी पनि भूमिगत पार्टीको कार्यकर्ता बनी ।

गाउँलेहरू पनि भूमिगत पार्टीको सहयोगी बने । जीवन जिउनुको बाध्यकारी स्थितिमा जनताको सामु दमन र हिंसाको शिकार हुनुपर्ने, दर्दनाक परिदृश्यहरू कहिले नेपथ्यमा कहिले प्रत्यक्ष दोहोरिइरहन्थ्यो ।

बिहान ७ बजेको मुख्य समाचार अपसकुनको सूचक बनेर आयो । रेडियो समाचार वाचन हुँदैथियो- आज राति सुरक्षा कार्बाहीमा… आतंककारीको मृत्यु

 

एकदिन गिरे त्यही बाटो भएर कतै जाने कुरा आयो । यो कुरा थाहा पाएर गिरेसँग भेट्न पाइने कुराले लालकुमारी भित्र-भित्रै असाध्यै रमाएकी थिई । उसले समयको प्रत्येक पल सास थामेर प्रतीक्षा गर्दै थिई । उसको लागि त्यो बीचको समय यति लामो लागिरहेको थियो कि, उसलाई समयका पलहरू कट्न सारै मुश्किल भैरहेको थियो ।

गिरे आउने समय नजिकिएकै राति निदाएको बेला कतै केही सानो पटाका चट्किएजस्तो ‘चट्याक चुटुक’को आवाज सुनेर लालकुमारी अँधेरामै ब्यूँझिई । उठेर उसले बाहिर ड्युटी बसेको कमरेडलाई सोधी-
‘कहीं केही पट्किएको हो र ?’

ड्युटीवालाले भन्यो- ‘हैन, कहीं केही छैन ।’

सपना हो कि भनेर सम्झन खोजी । अहँ, केही छैन सम्झनामा । कतै केही सुनिएकै हो जस्तो लाग्यो, उसलाई । तैपनि भ्रम ठानेर ओछ्यानमा आई । तर, उसलाई निद्रा लागेन । असपट असपट गरेरै उज्यालो गराई ।

बिहानको ७ बजेको मुख्य समाचार अपसकुनको सूचक बनेर आयो । रेडियो समाचार वाचन हुँदै थियो-

आज राति सुरक्षा कार्वाहीका क्रममा भएको मुठभेडमा… आतंककारीको मृत्यु ।

बल्ल त्यो बटालियनको एउटा कम्पनी रातमा एम्बुसमा परेको रहेछ भन्ने कुरा थाहा भयो । त्यसपछि बटालियन र गाउँका स्थानीय मिलेर राति दुश्मनको एम्बुसमा परी हराएका साथीहरू खोज्न जाने सल्लाह भयो । गाउँलेहरू पनि त्यसै अनुसार तयार भए ।

दिनको मध्यान्हपछि गाउँबाट निस्किएर एउटा हुल रातमा भएको मुठभेडस्थलतर्फ प्रस्थान गर्यो । जसमा गाउँलेसहित लालकुमारी पनि थिई । हिंडेको केही घण्टापछि घटनास्थल पुगियो । घटनास्थलको भूगोल पाखाको पुछारतिर जिल्लामा बग्ने ठूला खोलाभन्दा एकस्तर सानो मध्यमस्तरको खोला बगिरहेको थियो । झण्डै सय मिटर माथिबाट त्यही खोलाको समानान्तर भएर बाटो तेर्सिएको थियो ।

त्यहाँ पुग्दासम्म स्थिति असाध्यै कारुणिक भैसकेको थियो । पुछारमा बगिरहेको खोलाको सुसाई स्तब्ध थियो । घटनास्थल वरिपरिका मानिसहरूको बाक्लै उपस्थिति थियो । मृतकहरूका आफन्तहरू पनि त्यहाँ पुगिसकेका थिए । त्यो समय यस्तो थियो, त्यहाँ जो पनि जान्थ्यो, ऊ स्वस्फूर्त शोकमा सहभागी भैहाल्थ्यो । वातावरण यस्तो विदीर्ण थियो कि हेरी-सम्हाली सक्नु थिएन ।

बारीमा यत्रतत्र बीभत्स लासहरू थिए तर, घाइते र मृतक भने हेलिबाट लगिसकेको थियो ।

बाटोमाथि भीरतिरको खोल्सोमा एउटा लास ढलिरहेको थियो, जो सबैभन्दा बीभत्स थियो । शरीर छियाछिया थियो । टाउकोको आधाभाग थिएन । टाउको भित्रको गाढा सेतो अर्धतरल जस्तो वस्तु घोप्टिएर आधा बालुवामा थियो, आधा पानी जमेको कुन्टोमा तैरिरहेको थियो ।

अनुहारको अधिकांश हिस्सा र शरीरको बनौट हेर्दा त्यो लास चिन्न कुनै कठिन थिएन । त्यो शव गिरे अर्थात् कमरेड बारूदको थियो ।

त्यो देखेर पहिचान हुनासाथ लालकुमारीको मन, मुटु र दिमागमा एकैचोटि यस्तो ऐंठन पर्यो कि उसको स्नायुमा टन्न… गरेजस्तो आवाजको विद्युतीय झन्कार सुनिंदै मधुरियो । ऊ उभिएको उभिई आँखामा पहेंलो जूनकिरी नाचेजस्तो हेर्दाहेर्दै अचेत भएर ढली ।

कति समय बेहोश भएर ढली थाहा भएन । तर, अब उसको चेत फर्किंदै थियो । कताकता मान्छे बोलेजस्तो सुनी, तर अस्पष्ट बिलकुल अस्पष्ट । हेर्न खोजी, आँखामा पहेंलो झलिमिली मात्र देखियो । हातखुट्टा चलाउन खोजी कुनै भारी वस्तुले थिचेजस्तो हलचल थिएन । आँखा चिम्लँदै खोल्न थाली । तुवाँलो फाटेजस्तै गरी आकृति प्रष्टसँग देखिंदै आयो र आवाज पनि स्पष्ट सुनिन थाल्यो ।

अनि, जुरूक्क उठी । झल्याँस्स भएर बेहोश हुनु अघिसम्मको घटनाको इतिवृत्त सबै उसको सम्झनामा आइहाल्यो ।

गाउँले र जनसेनाका कमरेडहरूले शवहरूको लागि अलग-अलग खाल्टो तयार गरिसकेका थिए । शवहरूलाई एकत्रित गरियो अनि झण्डा ओढाएर सलामी दिइयो । त्यसपछि शवहरू खाल्टोमा राख्दै पुर्न थालियो ।

लालकुमारीले आफूलाई यस्तो व्याघातबाट बचाउन गिरे टाढिएको कुरा आज प्रष्टैसँग बुझी । तर, उसले गिरेको शव नै भए पनि न धीत मरूञ्जेल हेर्न नै सकी, न अँगालोमा राखेर रून नै सकी, न उसलाई अन्तिम संस्कार गर्ने वैधानिकता नै थियो ।

यतिबेलै उसले मनमा सोच्न पुगी, अध्यायहरूको योग न रहेछ जीवन । एक अध्याय यसै सकियो ।

(रोल्पाका बुढा अहिले जापान बस्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment