+
+

बाँदरप्रति वैरभाव : मान्छे किन आफूजस्तै प्राणी विरुद्ध एकोहोरिएको ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २३ गते १९:००

‘बाँदरको हातमा नरिवल’, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको पनि भत्काइदिन्छ’, ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’, ‘बाँदरको पुच्छर लौरो न हतियार’… इत्यादि ।

यसरी नेपाली समाजले बाँदरलाई तुच्छ प्राणी मानेको छ । यी उखान-टुक्कामा झल्कने मनोविज्ञान अनुसारै बाँदरप्रति मान्छेको व्यवहार छ ।

सरकारमा
‘बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेष हुँदैन
छेपारा जस्ता मौसमी रंग बदल्ने
बाँदरहरूको स्थायी परिवेश हुँदैन…’

सरकार विरोधी मोर्चामा आवद्ध दलहरूलाई कटाक्ष गर्दै गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वली कविता सुनाउँछिन् ।

सडकमा

सत्तारुढ दलका कार्यकर्ताहरू विपक्षी नेतालाई जिल्याउन बाँदरको मुकुन्डो लगाएर चटक देखाउँछन् ।

समाजमा

कतै बाली खायो भनेर ढुंगामुढा गरिन्छ, कहीं घाँटीमा साङ्लो बाँधेर सर्कस देखाउन लगाइन्छ । कहिले हातखुट्टा बाँधेर निर्ममतापूर्वक घिसारिन्छ त कहिले झुन्ड्याएर तड्पाई-तड्पाई मारिन्छ

उखान, चुट्किला, कथा, कविता, कार्टुनमा बाँदरलाई तुच्छताको बिम्ब बनाइएको छ । यो धर्तीमा बाँदर नै त्यो प्राणी होला, जसलाई मान्छेले सबभन्दा बढी हेलाहोचो गर्छ ।

कतै बाली खायो भनेर ढुंगामुढा गरिन्छ, कहीं घाँटीमा साङ्लो बाँधेर सर्कस देखाउन लगाइन्छ । कहिले झुन्ड्याएर तड्पाई-तड्पाई मारिन्छ त कहिले हात-खुट्टा बाँधेर निर्ममतापूर्वक घिसारिन्छ ।

मान्छेले यो अबोध प्राणीलाई किन यतिविघ्न खेदो गर्छ ? मनोविज्ञहरू भन्छन्, ‘आफूलाई फाइदा नदिने वा आफ्नो स्वार्थसँग नजोडिएका प्राणीलाई मान्छेले रुचाउँदैन । दूध र मल नपाउने हो भने मान्छेले गाईलाई पनि बाँकी राख्दैनथ्यो ।’

मान्छेले बाँदरको पनि फाइदा-बेफाइदाको लेखाजोखा गरेको छ । र, यसलाई ‘बेकामे’ प्राणीको कोटिमा राखेको छ । त्यही कारण बाँदरप्रति मान्छे क्रूर बनेको देखिन्छ ।
यो जगतमा बाँदरको अस्तित्व मेटिए के होला ? बाँदरको विषयमा विद्यावारिधि गरेका मुकेशकुमार चालिसे भन्छन्, ‘प्रकृति र जीव-जगतको सन्तुलन बिग्रन्छ ।’

उनका अनुसार, वनजंगलको विविधीकरणमा बाँदरको ठूलो योगदान छ । उसले एक ठाउँमा पाकेको बीउ खाएर अर्को ठाउँमा दिसा गर्छ । बाँदरको दिसामा बीउ उम्रन्छ । डा. चालिसेले आफ्नो अध्ययनमा के पाएका छन् भने बाँदरको दिसाबाट उम्रेका बिरुवा राम्ररी सप्रन्छन् । उनी भन्छन्, ‘सदियौंदेखि यही प्रक्रियाबाट वनजंगलमा अनेकथरी रूखबिरुवा हराभरा भएको छ ।’

उनका अनुसार, मान्छेको सबभन्दा नजिकको प्रजाति पनि हो, बाँदर । त्यसैले मान्छेले निहित स्वार्थका लागि बाँदरलाई ‘गिनी पिग’ बनाएको छ । कुनै रोग विरुद्ध खोप तयार भएपछि सबभन्दा पहिला बाँदरमा परीक्षण गरिन्छ । ‘औषधिदेखि खोपसम्म शुरूमा बाँदरमा प्रयोग गरिन्छ’ डा. चालिसे भन्छन्, ‘यसरी मान्छेको जीवनरक्षामा पनि बाँदरको ठूलो योगदान छ ।’

यति गुन लगाउँदा-लगाउँदै पनि मान्छे किन बाँदरप्रति वैरभाव राख्छ ? ‘नजिकका दाजुभाइ, नातागोता, छिमेकीसँग त शत्रुता साध्ने मान्छेले बाँदरलाई किन बाँकी राख्छ’ डा. चालिसे मानव मनोविज्ञान केलाउँछन्, ‘बाँदर सबभन्दा नजिकको प्रजाति र आफूसँग मिल्दोजुल्दो भएकाले पनि मान्छेले बढी रिस गर्छ ।’

बाँदरको हुलियादेखि हाउभाउसम्म नरुचाउनुलाई मान्छेको सृष्टिमा नभई दृष्टिमा भएको दोष ठान्छन्, उनी । ‘बाँदर स्वभावैले उत्सुक र चञ्चल हुन्छ । उसलाई हरेक कुरामा कौतूहल हुन्छ । त्यही भएर जे भेट्दा पनि कोट्याउँछ, मान्छेको बालबच्चाले जस्तै’ चालिसे भन्छन्, ‘खराब भएर होइन, नैसर्गिक स्वभावले त्यसो गरेको हो ।’

धर्तीमा बाँच्ने र रमाउने अधिकार मानिसलाई जत्ति नै छ, बाँदरलाई पनि । करीब पाँच करोड वर्ष अघिबाट यो धर्तीमा अस्तित्व रहेका बाँदरहरू प्रकृतिमा विचरण गर्छन् । प्रकृतिले दिएको खाएर बाँच्छन् ।

बाँदर समाज र जोगी समूह

मान्छेले बाँदरलाई गिज्याउँछ, तर्साउँछ, झटारो हान्छ, लखेट्छ । मानौं, उनीहरूलाई डर लाग्दैन, दुःख लाग्दैन, पीडा हुँदैन । ‘जबकि, बाँदरमा मानिसमा जस्तै संवेदना हुन्छ । हाम्रै जस्तो मन र भावना हुन्छ’ डा. चालिसे भन्छन्, ‘सन्तानको मृत्युमा पीडाबोध गर्छन्, शोक मनाउँछन् ।’

उनका अनुसार, एकपटक थापाथलीको सडकमा बाँदरको हूल ओर्लियो । यातायात नै ठप्प पार्ने गरी एकत्रित भए । त्यहाँ बाँदरको बच्चा मरेको रहेछ । डा. चालिसे भन्छन्, ‘बाँदरहरू त्यति धेरै संवेदनशील हुन्छन् ।’

उनका अनुसार, बाँदरहरूको आफ्नो परिवार, समूह र समाज हुन्छ । आफ्नै किसिमको जीवनचक्रमा बाँधिएका उनीहरूलाई मान्छेलाई जस्तै दुःख र अभाव हुन्छ । भोक र रोगसँग जुधिरहेका हुन्छन् । उनीहरू पनि सन्तान हुर्काउने बाध्यतामा हुन्छन् । शहरका मठ-मन्दिर आसपास उनीहरूले आश्रयस्थल बनाउँछन् । मठ-मन्दिरमा चढाइने फलफूल, प्रसाद आदिले भोक मेट्छन् ।

डा. चालिसेका अनुसार, बाँदरका बच्चाहरू खान र खेल्नमा मग्न हुन्छन् । किशोर चरणका बाँदरहरू एकअर्कालाई जिस्क्याउने, तर्साउने, झुक्याउने गर्छन् । तन्नेरी बाँदरहरू फुइँ गर्ने खालका हुन्छन् । तिनीहरूमा आफूलाई तगडा देखाउने प्रवृत्ति हुन्छ । अर्को समूहका पोथी बाँदरलाई आकषिर्त गर्न अनेक हर्कत गर्छन् । पोथीको खोजीमा आफ्नो समूहबाट छुट्टएिर भौंतारिन्छन् पनि ।

युवा उमेरका पोथी बाँदरहरूमा भने जिम्मेवारीबोध हुन्छ । उनीहरू आफ्ना भाइ-बहिनीलाई स्याहारसुसार गर्ने, ख्वाउने आदि गर्छन् । पाका बाँदरहरू चाहिं संयमित हुन्छन् । उनीहरूले सबैको रेखदेख र न्याय-निसाफ गर्छन् ।

‘बाँदरहरूमा सामूहिकताको भावना पनि हुन्छ’ चालिसे भन्छन्, ‘समस्या परेको बेला एकअर्कालाई साथ दिन्छन् । एउटालाई संकटबाट निकाल्न अर्कोले जोखिम पनि मोल्छ ।’

बाँदरहरू हाडनातामा यौन सम्बन्ध राख्दैनन् । त्यसो गर्नेलाई समूहबाट लखेटिन्छ । ‘कुनै-कुनै बाँदर एक्लै घुमिरहेको देखिन्छ नि’ डा. चालिसे भन्छन्, ‘त्यो बदमासी गरेर समूहबाट लखेटिएको बाँदर हो ।’

रिसाहा र झगडालु बाँदर पनि समूहमा टिक्दैन । त्यसरी एक्लिएका बाँदरहरूको अर्कै ‘ग्याङ’ बन्छ । त्यस्तो ग्याङलाई चालिसेले ‘जोगी समूह’ नामकरण गरेका छन् ।

बाँदरको यौन जीवन

बाँदरहरू जथाभावी गर्छन् भन्ने धारणा गलत छ । बाँदर प्रकृतिको सिद्धान्त अनुरूप चल्ने प्राणी हो । बैंसालु उमेरमा पुगेका बाँदरहरू अर्कै समूहको जोडी खोज्छन् । यसका लागि आफूलाई बलियो, तगडा देखाउने क्रियाकलाप गर्छन् ।

‘पोथी बाँदरको मासिक स्राव हुन्छ’ अध्येता डा. चालिसे भन्छन्, ‘त्यो बेला भाले बाँदर आकषिर्त हुन्छन् । पोथी फकाउन भालेले सुमसुम्याउने, चुम्बन गर्ने, जुम्रा हेरिदिने गर्छ । त्यसरी फकाई-फुल्याई यौनका लागि उत्तेजित बनाउँछन् । गर्भाधान भने निश्चित ऋतुमा मात्र हुन्छ ।’

बलियो बाँदरले धेरै यौन सम्बन्ध बनाउँछ । आफ्नो सम्बन्ध भएको पोथी अन्यसँग लहसिएको मन पराउँदैन ।

बाँदरले सामान्यतः वर्षमा एक पटक, एउटा बच्चा जन्माउँछ । कहिलेकाहीं जुम्ल्याहा पनि जन्माउँछ । जुम्ल्याहा हुर्काउन दिदीहरूले आमालाई सघाउने डा. चालिसे बताउँछन् ।

बाँदरको खराब जीवनशैली

अहिले शहरी क्षेत्रका बाँदरहरू खराब जीवनशैलीबाट गुज्रिरहेका छन् । शहरका बाँदरहरू मान्छेले दिने तयारी खानेकुरा (जंकफूड)मा निर्भर भएका छन् । यसले गर्दा बाँदरहरू थरीथरी रोगले ग्रसित हुँदै गएको डा. चालिसे बताउँछन् ।

‘बाँदरको औसत आयु २० वर्ष हो’ डा. चालिसे भन्छन्, ‘तर, अहिले १०-१२ वर्षसम्म मात्र बाँचिरहेका छन् ।’

बाँदर सर्वहारी प्राणी हो, सागपातदेखि कीराफट्याङ्ग्रासम्म खान्छ । डा. चालिसेका अनुसार प्राकृतिक खानामा अभ्यस्त बाँदरहरू भने प्रोटिनयुक्त आहारा खोज्छन् । उनका अनुसार, नेपालमा मूलतः तीन प्रजातिका बाँदर छन्- रातो, पहरे र लंगुर । विश्वमा भने २६० प्रजातिका बाँदर संरक्षित छन् ।

मान्छेको स्वार्थमा बाँदर प्रयोग

मान्छेले बाँदरलाई सदियौंदेखि आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको छ । आफ्नो पेट भर्न बाँदरको सर्कस देखाउनेदेखि जोखिमपूर्ण कामहरूमा लगाउनेसम्मका काम मान्छेबाट हुँदै आएको छ । अमेरिकीहरूले सन् १९४९ मा अल्बर्ट द्वितीय नामको बाँदरलाई अन्तरिक्षमा पनि पठाएका थिए । १३४ किलोमिटरको उँचाइमा उसको मृत्यु भयो ।

ललितपुरका प्रवेशमान श्रेष्ठले ‘बायोमेडिकल अध्ययन’का लागि निर्यात गर्न ४०० वटा रातो बाँदर पालेका थिए

त्यस्तै, अमेरिका र चीनका वैज्ञानिकहरूले मान्छेको अंग प्रत्यारोपणको लागि मान्छे र बाँदरको कोषिका मिलाएर भ्रूण तयार पार्न खोजेका थिए । त्यसअघि रूसका वैज्ञानिकहरूले मान्छे र चिम्पान्जीको अंग मिलाएर ठिमाहा जीव बनाउने प्रयास गरेका थिए ।

नेपालबाट बाँदर निर्यात गर्ने असफल प्रयास

नेपालमा पनि ‘बायोमेडिकल अध्ययन’का लागि बाँदर निर्यात गर्ने पहल भएको थियो । मानव शरीरमा लाग्ने संक्रामक रोगहरूबारे अनुसन्धान प्रयोगशालमा बाँदर प्रयोग गरिन्छ । सोही प्रयोजनका लागि विदेश निर्यात गर्न ललितपुरका प्रवेशमान श्रेष्ठले ४०० वटा रातो बाँदर पालेका थिए ।

ती बाँदरबाट बच्चा उत्पादन गरेर विदेश निर्यात गर्ने उनको योजना थियो । त्यसका लागि मेरिकाको ‘साउथ वेस्ट फाउन्डेसन फर बायोमेडिकल रिसर्च सेन्टर’ सँग सम्झौता पनि भइसकेको थियो । तर, कानूनी अड्चनको कारण श्रेष्ठले निर्यात गर्न सकेनन् । रातो बाँदर साइटिस महासन्धिको अनुसूची-२ मा सूचीकृत वन्यजन्तु हो । यो सूचीका वन्यजन्तु ओसारपसार गर्न पाइँदैन ।

अन्ततः श्रेष्ठले ती बाँदरहरूलाई नागार्जुन लगायत जंगलमा छाडिदिएका थिए । त्यसबेला नेपालमै प्रयोगशाला स्थापना गरेर चिकित्सा विज्ञानमा बाँदर उपयोग गर्ने पहल लिएका डा. चालिसेहरू पनि त्यसमा असफल भए । एउटा अमेरिकी संस्थाका प्रतिनिधिहरूलाई बोलाएर प्रयोगशाला स्थापना गर्ने एक तहको सहमति पनि गरेको तर, पछि योजनाअनुसार काम अगाडि बढ्न नसकेको उनले बताए ।

‘बाँदर पालेर तिनका सन्तानलाई चिकित्सा विज्ञानमा उपयोग गर्न मज्जाले सकिन्छ’ डा. चालिसे भन्छन्, ‘सार्स, एड्स, अहिलेको कोरोना जस्ता अनेकन् संक्रामक रोगबारे अध्ययन-अनुसन्धान र खोप एवं औषधि आविष्कारका लागि बाँदर उपयोग गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?