Comments Add Comment

‘आप्पा’को सपना पूरा गर्न संगीतमा होमिएका आर्यन तामाङ

कक्षा १ मा पढ्दा नै आफ्नो आप्पाले संगीत सिकाउन पढाएपछि आर्यन तामाङ दुःखी भए । उनको संगीतमा लाग्ने चाहना फिटिक्कै थिएन । यसैले, संगीत अध्ययन गर्न जाँदा उनी कैयौं पटक रोए ।

उनका आप्पा दार्जिलिङका राम्रा कलाकार थिए । तर, दार्जिलिङ संगीतका लागि सानो बजार हुँदा आर्यनका आप्पाले आफूलाई ठूलो बजारमा चिनाउने मौका नै पाएनन् । सायद, उनको आप्पाको चाहना थियो, अब आर्यनले ठूलो बजारमा आफूलाई चिनाओस् । तर, म्यूजिकमा रुची नै नभएका आर्यनले सुरुमा दिक्क मानेका थिए ।

अहिले आएर आप्पाले सानोमै म्यूजिकको कोर्ष सिक्न पठाउनुको अर्थ आर्यनले वुझेका छन् । उनले भने–‘सायद, मेरो आप्पाले सानैमा मेरो प्रतिभा चिनेर संगीतको शिक्षा लिन मलाई पठाउनुभएको रहेछ । अहिले संझदा खुशी लाग्छ । तर, त्यो बेलामा भने म निक्कै रोएँ ।’

कक्षा ५ मा पुगेपछि भने आर्यनलाई आफू गाउनकै लागि जन्मिएको जस्तो लाग्न थाल्यो । स्कुलमा आयोजना भएको कार्यक्रममा जब उनले धेरै दर्शकमाझ आफ्नो स्वर सुनाए, नसोचेको माया पाए । आर्यनले यसपछि भने संगीतमा नै जीवन जिउने सपना बोके र अगाडि बढे ।

यो पनि पढ्नुहोस ज्वाला राई : जीवन-संगीतको धुन खोज्ने एक फिरन्ते

आर्यनसँग संगीतमा लाग्ने सपना त थियो तर स्टेज कम थिए । दार्जिलिङको सानो बजारबाट ठूलो बजारमा पुग्ने उनको चाहना पनि थियो । अवसर खोज्दै थिए उनी । कैयौं पटक उनी भारतका विभिन्न स्थानमा हुने रियालिटी शोमा पनि पुगे । तर, विशेषगरि नेपाली गीत गाउन नपाउने नियमको परिवन्धले उनलाई समस्यामा पारेको थियो ।

दार्जिलिङमा आयोजना भएको ‘दार्जिलिङ राइजिङ स्टार’मा उनी चौथो स्थान हासिल गर्न सफल भए । गुरु प्रदिप क्षेत्रीसँग संगीतको ज्ञान सिक्दै गर्दा उनले आफूलाई निखारेका थिए ।

आर्यनले ‘द भ्वाइस अफ नेपाल २’को बारेमा सुनेका थिए । तर, यो शोलाई फलो गरेपनि उनले सहभागी हुने हिम्मत भने गरेनन् । तेश्रो अडिसनको समयमा दार्जिलिङमा महामारीका कारण नेपाल बाहिरका प्रतिभाहरुले सहभागी हुन नपाउने भन्ने हल्ला चलेको रहेछ । तर, आर्यनले भने जे सुकै होस् भनेर शोका लागि अडिसन दिए । आयोजकले फोन गरेर बोलाएपछि भने आर्यनले जिन्दगीले नयाँ फड्को मार्न लागेको हो कि भन्ने आभाष गरे ।

टाइटल जित्ने रहर

आर्यन कोच दीप श्रेष्ठको टिमबाट अन्तिम ४ मा पुगेका छन् । आज हुने फाइनलले आर्यन र अन्य तीन प्रतिस्पर्धीमध्ये एक जनाको टाइटल जित्ने सपना पुरा गरिदिनेछ भने अन्य तिन जनाले फेरि नयाँ चिराबाट आफूलाई अगाडि बढाउनुपर्नेछ । आर्यन भन्छन्–‘यहाँसम्म आउनु नै मेरो जित हो जस्तो लाग्छ । यो शोको प्लेटफर्ममा आएपछि गरिएका संघर्ष संझिएर मनमा धेरै कुराहरु खेलिरहेका छन् । यहाँसम्म आएपछि टाइटल जित्न पाए हुन्थ्यो भन्ने त लागेको छ । तर, नहुन पनि सक्छ । म सबै कुराका लागि तयार छु ।’

यो पनि पढ्नुहोस किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

आर्यन टप ४ मा आइपुग्दा आफूले दर्शक तथा श्रोताबाट अथाहा प्रेम पाएको सुनाउँछन् । टाइटल जितेपनि वा नजितेपनि आफूले संगीतलाई नै अगाडि बढाउने उनको सोच छ ।

सुरुमा त आर्यनले ‘ब्लाइन्ड अडिसन’ मात्र भएपनि पार गर्न पाए हुन्थ्यो भन्ने सोचेका थिए । तर, हरेक खुड्किलोमा पुग्दा त्यसलाई पनि पार गर्ने रहर उनमा पलाउथ्यो । लाइभ शोमा आएर पाएको मायाले भने आर्यन पुलकित छन् । फाइनलसम्म पुग्दा नै आर्यनले यो शो जितिसकेको महशुश गरेका छन् ।

दीप श्रेष्ठलाई नै कोच रोज्नुको कारण ?

आर्यनको दिमागमा सुरुमै दीप श्रेष्ठ थिए । भने–‘कोच दीप घुम्नु भयो भने उहाँलाई नै रोज्छु भन्ने सोचेको थिएँ । किनकी, उहाँ र मेरो संगीतको जनरा मिल्छ । म सेमी क्लासिकल गाइरहेको मानिस हुँ । मलाई दीप सरले अझै निखार्न सक्नुहुन्छ भन्ने लागेको थियो । यहाँ आएपछि थाहा पाए कि मसँग त संगीतको निकै कम ज्ञान रहेछ । दीप सरसँग मैले धेरै कुराहरु सिक्न पाएँ । यसका लागि त म आफूलाई भाग्यमानी नै ठान्छु ।’

आर्यन संगीतलाई मानिसले हरेक समयमा सुन्ने भएकाले पनि यो दुःख र सुख व्यक्त गर्ने माध्यम रहेको बताउँछन् ।

यो पनि पढ्नुहोस तारा श्रीष मगर : जो परिवारको गर्जो टार्न गायिका बनिन्

आर्यनको करिअर नै म्यूजिकमा बनाउने सपना छ । उनले आफू सानो उमेरको भएकाले पनि हरेक वर्गका दर्शकले रुचाएको बताए । दर्शक तथा श्रोताले दिएको यो मायालाई आफूले निराश नबनाउने वाचा गर्छन् उनी ।

दार्जिलिङको संगीतको बजार सानो भएकाले नेपालमै संगीतमा केही गर्ने इच्छा बोकेका यी ठिटो आफ्नो स्वरले दर्शक तथा श्रोताको मन छोएकाले पनि यति धेरै माया पाएको बताउँछन् । आफूलाई नेपालीहरुले कहिले पनि दार्जिलिङको भनेर पक्षपात नगरेको भन्दै उनले यो मायाका लागि सधै ऋणि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment