२४ साउन, पोखरा । उत्तरतिर लस्करै हिमाल । फेवाताल माथि–माथि आकाशमा चरा जस्तै उडिरहेका पाराग्लाइडिङ । फेवातालमा डुंगा सयर गरिरहेका मानिस । पोखरा चिनाउँदा प्राय: यी दृश्य छुट्दैनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि कस्तो देखिन्छ ? आयोजना प्रमुख बिनेश मुनकर्मीले पनि शनिबार यही दृश्यबाट शुरु भएको भिडियो देखाए ।
विमानस्थल आयोजनाकै कार्यक्रम हलमा थिए, पोखराका पाराग्लाइडिङ व्यवसायी । विमानस्थलबारे ब्रिफिङ गर्दै थिए, मुनकर्मी । तर, पाराग्लाइडिङ व्यवसायीको अनुहार भने दृश्यजस्तो मोहक थिएन । त्यही विमानस्थलका कारण पाराग्लाइडिङ व्यवसाय अब के हुने भन्ने अन्योल छ । विमानस्थल निर्माण शुरु भएसँगै चर्चा हुँदै आएको विषय हो, ‘जहाज उडान र अवतरणमा बाधा पर्ने भएकाले सराङकोटबाट पाराग्लाइडिङ विस्थापित गर्नुपर्छ ।’
निर्माणाधीन विमानस्थलको अवस्था र विमानस्थलका कारण पोखराको पाराग्लाइडिङ के हुन्छ भन्ने चासो लिएर व्यवसायी आयोजनास्थल पुगेका थिए । शुरुदेखि नै चर्चा रहँदै आएको भए पनि पोखराका पाराग्लाइडिङ व्यवसायीले जवाफ मागिरहेका छन्, ‘विमानस्थल सञ्चालनका लागि पाराग्लाइडिङ विस्थापित नै गर्नुपर्छ कि व्यवस्थित गरे पनि पुग्छ ?’
आन्तरिक र बाह्य उडानका लागि पाराग्लाइडिङले बाधा पुर्याउने प्राविधिकहरुले बताउँदै आइरहेको भए पनि व्यवस्थित गरे पुग्छ कि विस्थापित नै गर्नुपर्छ भन्ने आफूले ठ्याक्कै भन्न नसक्ने मुनकर्मीको भनाइ छ । तर, व्यवसायीको माग थियो, ‘पोखराबाट पाराग्लाइडिङ विस्थापित होइन, उच्चतम प्रविधिको प्रयोग गर्दै व्यवस्थित गराएर सञ्चालन गर्न सकिन्छ ।’
जुलाई १० भित्रै पोखरा क्षेत्रीय विमानस्थलको काम सकिइसक्नुपर्ने थियो । कोरोनाको कारण अहिलेसम्म विमानस्थलको ८१ प्रतिशत काम सकिएको छ । विमानस्थल सम्पन्न गर्न म्याद थप मागेपछि चीनको निर्माण कम्पनी सिएएमसीलाई नेपाल सरकारले एक वर्षका लागि १० जुलाई २०२२ सम्मको समय थपिदिएको छ ।
निर्माण अन्तिम चरणमा पुगिसक्दा पनि पाराग्लाइडिङ व्यवसायी अझै अन्योलमै छन् । ‘अन्तर्राष्ट्रिय हवाई सञ्चालन हुँदैमा पाराग्लाइडिङ हट्नुपर्छ भन्ने हामी देख्दैनौं । प्राविधिक हिसाबले समस्या देखिएको हो भने पनि व्यवस्थापन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि व्यवस्थापन गर्न सकिने देखिन्छ’ नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले भने, ‘उड्डयन प्राधिकरणले पनि यो विषयमा गम्भीर रुपमा अध्ययन गर्छ भन्ने लागेको छ ।’

पाराग्लाइडिङबारे दुई विकल्प
२०७६ भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार पाराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको थियो । क्षेत्रीय विमानस्थल सञ्चालनमा आउँदा पाराग्लाइडिङबारे कार्यदलले बुझाएको प्रतिवेदनमा दुई विकल्प छन् । पहिलो, प्रविधिको प्रयोग गर्दै व्यवस्थित रुपमा सञ्चालन गर्ने र दोस्रो, अर्को विकल्प खोजेर विस्थापित नै गर्ने ।
स्विट्जरल्याण्ड, इटाली, फ्रान्स लगायतका देशमा भएका अभ्यासलाई मध्यनजर गर्दै जहाजलाई टावरमार्फत कन्ट्रोल गरेझैं पाराग्लाइडिङमा पनि प्रविधिको प्रयोगले कन्ट्रोल गर्न सकिने प्रतिवेदनले एउटा विकल्प दिएको छ ।
‘तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको अगुवाइमा भएको अध्ययन प्रतिवेदनले विमानस्थल सञ्चालनमा आइसकेपछि पाराग्लाइडिङ अहिलेकै अवस्थामा रहन सक्दैन तर पाराग्लाइडिङका लागि पनि टावरको डेभलप गर्ने, ट्रयाकिङको प्रयोग गर्ने, एयरपोर्ट र पाराग्लाइडिङ बीचमा कनेक्सन गर्न सकिने अध्ययनले देखाएको छ’ उपाध्यक्ष इन्द्रप्रसाद भण्डारीले भने, ‘सरकारले व्यवस्थित गराएर पाराग्लाइडिङ चलाउन दिने सन्दर्भमा सोचोस् भन्ने हाम्रो माग हो ।’
अहिले पोखरामा मुख्यगरी सराङकोट, तोरीपानीबाट पाराग्लाइडिङ उडान हुन्छ । तर, अहिलेकै अवस्थामा त्यो ठाउँमा पाराग्लाइडिङको विकल्प खोज्नुपर्ने प्रतिवेदनले भनेको छ । सराङकोट, तोरीपानी, मान्द्रेढुंगा क्षेत्रभन्दा बाहिर पर्ने तर पोखरा उपत्यका आसपासकै क्षेत्र पञ्चासे, माछापुच्छ्रे गाउँपालिका लगायतका ठाउँमा जान प्रतिवेदनले विकल्प दिएको छ ।
सरकारले विकल्प भन्दा पनि व्यवस्थित गर्नेतिर ध्यान दिनुपर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीको जोड छ । ‘राष्ट्रिय गौरवको आयोजनालाई नै बाधा पार्ने गरी पाराग्लाइडिङ चल्छ र चलाउन पाउनुपर्छ हामी भन्दैनौं’ भण्डारीले भने, ‘नागरिक उड्डयन प्राधिकरणले व्यवस्थित गरेर सञ्चालन हुनसक्ने गरी अध्ययन गरोस्, पोखराकै गहनालाई नहटाओस् ।’
आयोजना प्रमुख बिनेश मुनकर्मीले अन्तर्राष्ट्रिय उडान र अवतरणमा सराङकोट क्षेत्र प्रयोग नहुने भए पनि आपतकालीन अवस्थामा उडान-अवतरणका लागि बाधा पुर्याउन सक्ने बताए । यस्तै आन्तरिक उडानको रुट नै त्यही क्षेत्र पर्ने भएकाले यही अवस्थामा पाराग्लाइडिङ सञ्चालन हुन नसक्ने मुनकर्मीको भनाइ थियो ।
परामर्श समूहका प्रमुख यम भण्डारीले पनि प्राविधिक तथा हवाई सुरक्षाको अवस्था अध्ययन गरेर सीमित समयको सेड्युल मिलाएर पनि सञ्चालनको व्यवस्था गर्न सकिने बताए । तर, अहिले नै पाराग्लाइडिङ हटिहाल्छ वा रहन्छ भन्ने विषयमा निर्क्योल गर्न नसकिने उनको भनाइ थियो ।
अन्योल कायमै
सरकारले चाहेमा पोखराकै महत्वपूर्ण एउटा पर्यटन प्रडक्ट पाराग्लाइडिङलाई विस्थापित नै गर्नुपर्छ भन्ने नरहेको नेपाल हवाई खेलकुद संस्थाका सल्लाहकार शैलेन्द्र राउतको भनाइ छ । निश्चित क्षेत्र तोक्ने, प्रविधिको प्रयोगले निर्धारित क्षेत्र बाहिर जान नदिने र टावरमार्फत कन्ट्रोलमा राख्ने, विमानस्थलसँग सम्पर्कमा रहिरहने र दिनमा जहाउ आउ-जाउ गर्ने समय हेरेर पाराग्लाइडिङ सञ्चालन गर्न सकिने अवस्थाबारे ध्यान दिन उनले सरकारलाई आग्रह गरे ।
पोखरामा पाराग्लाइडिङ व्यवसायबारे अन्योल कायमै रहँदा कहिले कुन ठाउँ कहिले कुन ठाउँ लैजाने भन्दै नेताले बोलिदिने र सम्भावना नहेरी प्रचार गर्ने गरी राजनीति भइरहेको व्यवसायीको गुनासो छ । पाराग्लाइडिङलाई व्यवस्थित र मर्यादित गर्न आवश्यक रहेको तर हटाउने/नहटाउने विषयमा सरकारले गम्भीर भएर सोचिदिनुपर्ने उपाध्यक्ष अनील केसीले बताए ।
यतिबेला कोरोना कहरले पाराग्लाइडिङ ठप्प छ । पोहोर पहिलो लकडाउनपछि पाराग्लाइडिङमा आन्तरिक पर्यटकको ठूलो आकर्षण थियो । दोस्रो लहरको कोरोनापछि फेरि पाराग्लाइडिङमा आकर्षण बढ्ने व्यवसायीको विश्वास छ । सामान्य अवस्था र सिजनमा दैनिक ४०० जनासम्मले पाराग्लाइडिङ गर्ने गरेका छन् ।
पोखरा आउने पर्यटकको प्राथमिकताको रोजाइ हो, पाराग्लाइडिङ । पाराग्लाइडिङमा एक हजार जनाले रोजगारी पाइरहेका छन् । पोखरामा ३५२ जना पाइलट छन् । पोखराको पाराग्लाइडिङमा एक अर्ब रुपैयाँ लगानी भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भण्डारीको दाबी छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4