News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ र भारतले अमेरिकी डलरसामु भारु कमजोर हुन दिँदा यसको असर परेको छ।
- भारत र अमेरिकाबीच व्यापार विवादका कारण डलर आपूर्ति बढाएर भारुलाई कमजोर हुनबाट बचाउने प्रयास नभएपछि नेपाली रुपैयाँ कमजोर भएको छ।
- नेपाल राष्ट्र बैंकले बिहीबार १ अमेरिकी डलरको बिक्री दर १ सय ४४ रुपैयाँ ६१ पैसा कायम गरेको छ जुन हालसम्मकै उच्च विनिमय दर हो।
१८ मंसिर, काठमाडौं । नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । भारतले अमेरिकी डलरसामु भारु कमजोर हुन दिँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
अमेरिकाको भन्सार नीति र भारत लगायत देशले अन्तर्राष्ट्रिय व्यापार बाहुल्य कम गर्ने सहमति गरेपछि भारु कमजोर हुँदै आएको छ । भारतले भारुलाई कमजोर हुन नदिन बजारमा डलर आपूर्ति गरेर सन्तुलनमा राख्न सक्थ्यो ।
तर, भारत र अमेरिकाबीच व्यापार विवादका कारण डलर ‘सप्लाई’ (आपूर्ति) बढाएर भारुलाई थप गिर्नबाट बचाउने प्रयास नै नगरेपछि त्यसको असर नेपली रुपैयाँमा पनि देखिएको हो ।
नेपाली मुद्राको विनिमय दर भारुसँग स्थिर अर्थात् १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ कायम गरिएको छ । भारतसँगको स्थिर विनिमय दरका कारण भारुमा हुने उतारचढाव आधारमा डलर र रुपैयाँको कारोबार हुन्छ ।
अमेरिकी डलरसँगको विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले डलर बलियो भएको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
रुस र युक्रेन युद्धका बेला पश्चिमा देशले रुसबाट इन्धन आयात नगर्ने निर्णय गरे । त्यससँगै रुसलाई पश्चिमा देशले ऋण बक्यौता पनि भुक्तानी गर्न दबाब दिएका थिए । सोही समयमा भारतले भारु र रुसले रुबेलमा कारोबार गर्ने गरी कच्चा तेल आयात गर्दै आएको छ ।
भारतले रुससँग स्थानीय मुद्रामा व्यापार सुरु गरेपछि अमेरिका रुष्ट हुँदै आएको थियो । त्यसपछि अमेरिकाले भारतबाट निर्यात हुने वस्तुमा ५० प्रतिशत भन्सार शुल्क कायम गरेपछि भारतमा विदेशी लगानी फिर्ता हुने क्रम बढ्न थालेको छ ।
भारतमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउनुका साथै फिर्ता हुने क्रम बढ्यो । त्यसले डलरको माग बढाउँदा भारु कमजोर भएको पौडेलको भनाइ छ ।
साथै, विश्व राजनीति अस्थिर हुँदा डलरमा लगानी बढेको पौडेलले बताए । तर, भारुको मुद्रास्फीति स्थिर छ, जीडीपी वृद्धि राम्रो भएकाले भारुमा आएको गिरावटले खासै असर नगर्ने उनको भनाइ छ । तर, भारतसँगको स्थिर विनिमय दर प्रणालीले नेपाली मुद्रालाई असर गर्ने उनले बताए ।
नेपाली मुद्रा कमजोर हुँदा रेमिट्यान्स प्राप्त गर्ने परिवारको आम्दानी बढेको उनको भनाइ छ । ‘पर्यटन उद्योग, निर्यातहरूमा नेपाली रुपैयाँ कमजोर हुँदा फाइदा हुन्छ,’ पौडेलले भने,‘ नकारात्मक पक्ष भनेको वैदेशिक ऋणको किस्ता, साँवा तिर्न महँगो पर्छ ।’
तेस्रो मुलुकसँगको व्यापार र पर्यटन महँगो हुन जान्छ । इलेक्ट्रोनिक्स गुड्सको मूल्य बढ्छ । यसले अलिकति मुद्रास्फीतिमा पनि चाप पार्न सक्ने पौडेलको बुझाइ छ ।
नेपालीका लागि विदेश यात्रा महँगो हुनुका साथै विद्यार्थीले लैजाने रकम बढ्न जाने उनको भनाइ छ । आयातमा आधारित देशलाई मुद्रा कमजोर हुँदा नोक्सान धेरै हुने उनको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरका आधारमा १ अमेरिकी डलरको बिक्री दर १ सय ४४ रुपैयाँ ६१ पैसा र खरिद दर १ सय ४१ रुपैयाँ १ पैसा कायम भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । त्यसैगरी बिहीबार एक अमेरिकी डलर बराबर ८८.८९ भारु कायम छ ।
प्रतिक्रिया 4