Comments Add Comment

अनौठो अक्टोपस : निलो रगत, ३ वटा मुटु र ९ वटा दिमाग

आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ, जसको शरीरको रगत रातो होइन कि निलो हुन्छ । अनि उसको शरीमा एउटा होइन तीन वटा मुटु हुन्छन् ।

हो सामुद्रिक जीव अक्टोपस नै त्यस्तो अनौठो जीव हो । जसका तीन मुटु र निलो रगत मात्र होइन दिमाग पनि ९ वटा हुन्छन् ।

शरीरमा भएका तीन वटा मुटुको काम नै बेग्ला बेग्लै हुन्छ । दुईवटा मुटुले श्वासप्रश्वास गर्ने गिल्समा रक्तप्रवाह गर्दछन् भने अर्को एउटा ठूलो मुटुले शरीरका अन्य भागमा रक्त सञ्चार गर्दछ ।

अक्टोपसका ९ वटा मस्तिष्कको पनि छुट्टाछुट्टै ठाउँमा हुन्छन् । एउटा मुख्य केन्द्रीय मस्तिष्क सरीरको माथिल्लो भागमा खानानलीको वरिपरि डुनोट आकारको हुन्छ भने अरु ८ वटा मस्तिष्कमध्ये एक एक वटा मस्तिष्क अक्टोपसका हरेक आठ वटा हातमा हुन्छन् । ती आठवटा मस्तिष्कले आ-आफ्नै ढंगले स्वतन्त्र रुपमा का मगर्दछन् ।

अक्टोपसको रगत निलो हुनाको वैज्ञानिक कारण छ । चिसो तथा कम अक्सिजन भएको पानीमा बस्नका लागि अनुकूलित हुन उसको रगतमा हेमोग्लोबिनको साटो हेमोसायनिन हुन्छ, जुन तामायुक्त प्रोटिन हो । रगत रातो बनाउने हेमोग्लोबिन चाहिं फलामयुक्त प्रोटिन हो ।

अक्टोपसका ९ वटा मस्तिष्क हुने भएकाले यसलाई निकै बुद्धिमान मानिन्छ । यसका हरेक हातमा दिमाग हुने भएकाले नै अक्टोपसले कुनै सामानलाई चलाएको र खेलेको देखिन्छ ।

विगतमा त विश्वकप फुटबलका भविष्यवाणीका लागि समेत अक्टोपसको प्रयोग भएको थियो । ८ वटा मस्तिष्कसहितको स्नायु प्रणाली नियन्त्रण गर्नका लागि चार करोड न्युरोनहरु हुन्छन् भने मुख्य मस्तिष्कमा १८ करोड न्युरोन हुन्छन् ।

अक्टोपसका ८ वटा हातमध्ये एउटाले चाहिं यौन कार्यमा भूमिका खेल्दछ । यसको नाम हेक्टोकोटाइलस हो । भाले अक्टोपसले यहीँ हातको सहायताले आफ्नो शुक्रकिट पोथी अक्टोपसको शरीरसम्म पुर्‍याउँछ । पोथीले एक पटकमा एक लाखसम्म अण्डा पार्दछ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment