Comments Add Comment

सुर्खेतमा मास्क लगाउन अटेर गर्नेलाई सय रुपैयाँ जरिवाना

२४ साउन, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको छ । आइतबार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जिल्लामा प्रजिअको नेतृत्वमा करीब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम थालिएको थियो । ‘एक सातादेखि सचेतनामूलक कार्यक्रम गर्‍यौं तर पनि नागरिकले अटेरी गरेपछि सचेतनासँगै दण्डको व्यवस्था गरेका छौं,’ प्रजिअ रिजालले भने, ‘अब मास्क नलगाई बजारमा हिंड्नेलाई अन द स्पट जरिवाना हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउन आग्रह गर्दै प्रचारात्मक कार्यक्रम गरेका थिए ।

यति गर्दा पनि सर्वसाधारणले मास्क लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको  प्रजिअ रिजालले जनाए । उनका अनुसार मास्क नलगाई हिँडेकालाई जरिवाना काट्दै मास्क दिंदै गरिएको छ । आइतबार साँझसम्म ५० जनालाई जरिवाना गराइएको प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment