Comments Add Comment

लिदी पहिरो पीडितलाई एक वर्षपछि बल्ल अस्थायी टहरा, गुजाराको चिन्ता

परिवारका ७ सदस्य गुमाउने वृद्धा एक्लै टहरोमा

२५ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२, लिदीमा ३० साउन २०७७ मा गएको पहिरोले नेमा छिरिङ दोङको परिवारका तीन सदस्यलाई मात्र लगेन, १५ रोपनी घरखेत पनि सखाप पार्‍यो । श्रीमती धनमाया, छोरा रोनिस र आमा बाङ्जी लामा दोङलाई पहिरोले लगेपछि उनी विक्षिप्त बनेका थिए ।

न घरखेत बाँकी थियो, न परिवार नै । तर ३० जनाको मृत्यु र ९ जना बेपत्ता हुने गरी पहिरो गएलगत्तै गाउँमा लागेको केन्द्रीय स्तरका नेताहरुको भिडले उनमा केही आश पनि जगायो । राहत र उद्दारका नाममा गाउँमा उर्लिएका मानिस देख्दा उनले सोचेका थिए, ‘यत्रो भिडले कसो फेरि जीवन चलाउने स्थिति बनाउन सहयोग नगर्ला ? नेताहरु गाउँमै आएपछि सरकारले पनि सहयोग गरिहाल्ला ।’

दोङले सोचेजस्तो कहाँ हुन्थ्यो र ! ‘सोझो मान्छे, त्यतिबेला जसले जे भने पनि पत्याइयो’ उनी भन्छन्, ‘एक हप्तामै बिर्सिन थाल्दा रहेछन्, त्यसपछि पो दुःख शुरु हुँदो रहेछ ।’ वर्षौंदेखि बस्दै आएको थातथलो बगाएपछि कता जाने ? गाउँपालिकाले कतै स्थानान्तरण गरिदिने आश्वसन दिएको उनी बताउँछन् ।

बाँसखर्कमा आफ्नो टहराबाहिर नेमा छिरिङ दोङ ।

लिदीका पहिरो पीडितका लागि झण्डै ६ महिनापछि दुई दिन पैदल हिँडेर पुगिने बाँसखर्कस्थित देउराली सामुदायिक वनको जग्गामा बस्ने टुंगो भयो । दोङसहित पूर्णरुपमा विस्थापित २८ परिवारलाई जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक र जुगल गाउँपालिकाले त्रिपालमुनि राख्यो ।

प्रशासन र गाउँपालिकाको अग्रसरतामा उनीहरुको आवासका लागि अस्थायी टहरो बनाउने पनि निर्णय भयो । एक महिनाभित्र टहरा बनाएर पहिरो पीडितलाई राख्ने भनिएपनि नेपाली सेनाको गोरख बक्स गण र कालिसिद्धी गण (ई) ले करिब ६ महिनापछि आइतबार मात्र टहरा हस्तान्तरण गरेको छ ।

परिवारका ७ सदस्यको मृत्यु, टहरोमा ७१ वर्षे वृद्धा एक्लै

लिदीकी ७१ वर्षीया निस्माई तामाङ अहिले बाँसखर्कको एउटा टहरोमा एक्लै बस्छिन् । सेनाले टहरो हस्तान्तरण गर्दा उनी खुशी देखिइन् । तामाङ भाषामा बोल्दै उनले ‘त्रिपालभन्दा जस्ताको कोठामा रात काट्न सहज हुने’ बताइन् ।

तामाङ भाषाको अनुवाद गरेर सुनाउँदै जुगल गाउँपालिका–२ का वडाध्यक्ष प्रताप लामाले भने, ‘खाने कुरा खान पाइयो, बस्ने र ओढ्ने सामान पाउँदा खुशी लागेको छ ।’

टहरा हस्तान्तरण कार्यक्रममा पुग्दा परिवारका ७ सदस्य गुमाएको पीडालाई भुल्दै उनी मुस्कुराइरहेकी थिइन् । वडाध्यक्ष लामाका अनुसार परिवारका सबै सदस्यलाई बगाउँदा पनि निस्माई भाग्यले बचिन् । श्रीमान, छोराछोरी, नातिनातिनाको मृत्यु भयो, कान्छो छोरा बचेका थिए, उनी पनि काठमाडौं गएपछि टहरामा निस्माई एक्लै छिन् ।

जीविकोपार्जनमा समस्या

लिदी छाडेर बाँसखर्कमा टहरो पाएका दोङका अनुसार लिदीमा मकै, गहुँ र कोदो खेतीसँगै वस्तुभाउ पालेर गुजारा चल्ने गरेको थियो । तर नयाँ ठाउँमा सरेपछि न बाली बनाउन खेत छ, न त गाईवस्तु पाल्न सक्ने अवस्था छ ।

‘बस्न त पाइयो अब के खाने ? गुजारा कसरी गर्ने भन्ने पिर छ’ उनले अनलाइनखबरसँग सुनाए, ‘नयाँ ठाउँमा कुनै मेलोमेसो पाउन सकिएको छैन ।’

हालसम्म अलिअलि आउने सहयोगले छाक टारिरहेको भए पनि आउँदा दिनमा समस्या बढ्दै जाने भन्दै उनले दुःख पोखे ।

फेरि अन्यत्र सर्नुपर्ने

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार लिदी पहिरोबाट विस्थापित २९ परिवारलाई अस्थायी रुपमा मात्रै बाँसखर्कमा राखिएको हो ।

विपद् व्यस्थापन प्राधिकरणले लिदी पहिरो पीडितका लागि ५ लाख र घडेरीका लागि ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यो रकम आएपछि उनीहरुले अन्यत्र घर बनाएर सर्नुपर्ने श्रेष्ठले बताए ।

पीडित निमा चाहिँ यहीँ स्थायी रुपमा बस्ने व्यवस्था गरिदिए राम्रो हुने बताउँछन् । ‘बल्ल यहाँ बस्ने जोहो भयो, अझै सरेर कहाँ जाने ?’ उनी प्रश्न गर्छन्, ‘यहीँ राखिदिए सहज हुन्थ्यो ।’ तर गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार वनको जग्गा भएकाले पीडितलाई त्यहाँ राख्न समस्या छ ।

‘फेरि अर्को पटक प्राकृतिक प्रकोप आउँदा समस्यामा पर्नेलाई पनि प्रयोग गर्न मिल्ने गरी यो टहरा बनाएका हौं’ उनी भन्छन्, ‘अर्को राम्रो ठाउँमै उहाँहरुको व्यवस्थापन हुन्छ ।’

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार सामान्य जुगाडको भरमा अस्थायी टहरा बनाउन सुरु गरिएको थियो ।

‘लिदी पहिरो पीडितका लागि उठेको पैसा गाउँपालिकासँग थियो, फेरि क्रिकेटर सन्दीप लामिछाने लगायतले पनि जस्तापाता सहयोग गर्नुभयो’ पोखरेलले भने, ‘पछि गाउँपालिका र सेनासँग छलफल गरेर सबै विस्थापितका लागि अस्थायी आवास बनाउन थालेका थियौं ।’

उनका अनुसार सामान्य स्रोतबाट सुरु गरिएको आवास निर्माण आइतबार हस्तान्तरण गर्दा ३१ वटामा पुगेको छ ।

टहरामा बस्नेका लागि सेनाले ७ वटा शौचालय, एउटा स्वास्थ्य चौकी भवन, स्नान गृह र एउटा क्यान्टिनसमेत बनाएको छ ।

टहरा निर्माणका लागि ७८ लाख २८ हजार ७५३ रुपैयाँ खर्च भएको गाउँपािलकाले सार्वजनिक गरेको छ । खर्चमध्ये २० लाख २६ हजार दाताबाट प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment