Comments Add Comment

बार्सिलोनालाई अर्को झट्का : एग्युरोले नोभेम्बरसम्म खेल्न नसक्ने

२५ साउन, काठमाडौं । लियोनेल मेस्सीले क्लब छाडेसँगै बार्सिलोनालाई अर्को समस्या देखिएको छ । बार्सिलोनाका अर्का महत्वपूर्ण खेलाडी सर्जियो एग्युरोले पनि चोटको कारण आगामी नोभेम्बरसम्म खेल्न नसक्ने भएका छन् ।

मार्का डटकमले उल्लेख गरेअनुसार आइतबार खेल हुनुभन्दा अघिको अभ्यासको क्रममा एग्युरो घाइते भएका छन् । उनको दायाँ खुट्टामा चोट लागेको समाचारमा बताइएको छ ।

आइतबार एग्युरोले बार्सिलोनाको तर्फबाट डेब्यू गर्ने अपेक्षा गरिएको थियो । म्यानचेस्टर सिटीबाट फि–ट्रान्सफरमा गत जुन महिनामा बार्सिलोना आएयता उनले कुनै पनि खेल खेलेका छैनन् ।

अहिले एग्युरोको चोटबारे थप परीक्षण भइरहेको छ तर उनलाई चिकित्सकले दुईदेखि तीन महिनासम्म आरामको लागि सुझाव दिन सक्ने समाचारमा उल्लेख छ । एग्युरो मेस्सीले क्लब छाड्दा राखेको बिदाइ समारोहमा पनि उपस्थित थिएनन् भने युभेन्टसविरुद्धको खेलमा पनि उपस्थित थिएनन् । त्यसैले उनको चोट गहिरो हुन सक्ने अनुमान गरिएको छ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमेनले एग्युरोको अवस्थाबारे बोल्दै आइतबार आफू दुःखी भएको बताएका छन् । ‘हामीले उनी चोटमुक्त हुँदासम्म प्रतीक्षा गर्नुपर्छ तर यो हाम्रो लागि एक धक्का हो किनकी उनी राम्रो अभ्यास गरिरहेका थिए’, कोमेनले भने ।

उनले राम्रो गर्ने अपेक्षा आफूहरुको रहेको कोमेनको भनाइ छ । यसअघि नै अन्सु फाटी र औस्माने डेम्बेले पनि घाइते भइसकेका छन् । फिलिप काउटिन्हो अहिले फर्किएका छन् तर युभेन्टसविरुद्धको खेल भने उनले पनि खेलेनन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment