+
+
Shares

विपद्‍मा यसरी काम आउँछन् शहरका पोखरी (भिडियो)

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ साउन २५ गते २०:५०

२५ साउन, काठमाडौं । गत शनिबार बिहान बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा भएको आगलागी नियन्त्रण गर्नुपर्‍यो’ भन्दै सिम्रिक एयरमा फोन आयो । उद्योगमा लागेको भीषण आगो वारुणयन्त्रले मात्र नियन्त्रण गर्न नसक्ने देखिएपछि हेलिकप्टर कम्पनीसँग सहयोगको याचना गरिएको थियो ।

सिम्रिक एयरका कार्यकारी निर्देशक समेत रहेका क्याप्टेन सिद्धार्थजंग गुरुङ आफैं हेलिकप्टर लिएर बालाजुकै माछापोखरीको पानी उठाएर उद्योगमाथि खसाउने प्रयासमा लागे ।

‘५–६ खेप त माछापोखरीबाट उठाइयो,’ उनी भन्छन्, ‘तर पोखरी खासै गहिरो नभएकाले हेलिकप्टरको एक हजार लिटरको बकेट आधा पनि भरिएन । वरिपरि हेर्दा बालाजुको बाइसधारा पार्कमा रहेको काठमाडौं महानगरपालिकाको स्विमिङ पोखरी रित्तै देखियो ।’

विकल्पमा छलफल गर्दा नेपाली सेनाका अधिकृतहरुले रानीपोखरीबाट पानी उठाउन सुझाएको उनी बताउँछन् । त्यसपछि बल्ल हेलिकप्टरले बकेटभरि पानी उठाएर आगो निभ्नेगरी उद्योगमा खसाएको उनले बताए ।

‘घनाबस्ती भएका शहरका भित्री भागहरुमा आगो लाग्दा परम्परागत पोखरीहरु बेस्सरी उयोगमा आउँछन् भन्ने सुनेकै हौं,’ क्याप्टेन  गुरुङ भन्छन्, ‘रानीपोखरीबाट पानी उठाउँदै गर्दा मैले यस्ता पोखरीको महत्व झन् थाहा पाएँ । शहरका स्विमिङ पुल र परम्परागत पोखरीहरु डम्म भरेर राख्दा विपद्को बेला ठूलो सहयोग पुग्ने रहेछ ।’

यसअघि पाथीभरा र शिवपुरी जंगलको डढेलो निभाउने प्रयासमा सिम्रिक एयरको  हेलिकप्टर प्रयोग भएको थियो । त्यही क्षेत्रको एउटा पोखरीबाट पानी लैजान पाउँदा शिवपुरीको डढेलो निभाउन सकेको तर, धेरै टाढाबाट पानी उठाउनु पर्दा पाथीभराको प्रयास प्रभावकारी नभएको क्याप्टेन गुरुङले बताए ।

विज्ञ भन्छन् पोखरीको महत्व विशिष्ट

रानीपोखरी पुनर्निर्माण विज्ञ समितिका संयोजक रहेका पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की वातावरणीय–पर्यावरणीय सन्तुलन र शहरी सौन्दर्यबाहेक शहरका पोखरीहरुको विशिष्ट महत्व हुने बताउँछन् ।

‘हुन त पुराना पोखरीहरु आगलागी नियन्त्रणका लागि बनेका थिएनन् । राजा प्रताप मल्लले शोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिन रानीपोखरी बनाएका थिए,’ उनी भन्छन्, ‘५२ वटा तीर्थबाट ल्याएको जलसमेत रहेको यसलाई आगलागीजस्ता विशेष अवस्थामा पनि प्रयोग गर्न नसकिने हैन ।’

उनका अनुसार काठमाडौं उपत्यकाका पोखरीहरु विगतमा ढुंगेधाराका स्रोत र पानी वितरणको लागि भण्डार पनि थिए । आगलागी हुँदा स्थानीयले स्वतः नजिकको पोखरीको भरपुर उपयोग गर्थे । अहिले त्यस्तो उपयोग महत्व झन् बढेको कार्की बताउँछन् ।

पछिल्ला केही दशकमा उपत्यकाका धेरैजसो परम्परागत पोखरी अतिक्रमणमा परेका छन् । त्यस्ता पोखरीहरु पुरेर भौतिक संरचना खडा गरिएका छन् ।

‘पैसा कमाउने लोभमा मान्छेले धेरै पोखरीको अस्तित्व मेटाए,’ पुरातत्व विभागका पूर्वमहानिर्देशक कार्की भन्छन्, ‘अब चाहिं पोखरीहरुको महत्व सबैले बुझ्न र बुझाउन अत्यावश्यक भएको छ ।’

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?