Comments Add Comment

पौडेल पक्षका जिल्ला सभापति बैठकमा विशेष महाधिवेशनको चर्चा

क्रियाशील सदस्यता विवाद नटुंग्याए महाधिवेशन बहिस्कार गर्ने चेतावनी

२५ साउन काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ । संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दावी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट बनेको छ ।

भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल गर्न पौडेल पक्षीय जिल्ला सभापतिको भेला सोमबारदेखि शुरु भएको छ ।

काठमाडौंको ठमेलस्थित एक होटलमा जारी बैठकमा जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताबारे बढी चासो राखेको बर्दिया पार्टी सभापति सञ्जय गौतमले बताए ।

सभापतिहरुले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असन्तुष्टि जनाएको उनले बताए । ‘समितिले विवाद नमिलेका ठाउँको समेत सहमति भयो भनेर प्रतिवेदनमा लेखेको छ,’ सभापति गौतमले अनलाइनखबरसँग भने, ‘प्रक्रियाविपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम भएको छ, त्यसलाई समितिले सहमति भनेको छ । गाउँगाउँमा विवाद यथावत छ ।’

क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनमा नाम थपघट भएको थाहा भए अधिवेशन प्रक्रिया नै बहिस्कार गर्नुपर्नेमा पौडेल पक्षका जिल्ला सभापतिहरु एकमत छन् ।

जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय समितिको निर्णय, विधानको व्यवस्था र विभिन्न समयमा पार्टीले गरेका परिपत्र अनुसार सदस्यता विवाद टुंग्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले क्रियाशील सदस्यता छानबिन समितिले बुझाइसकेको प्रतिवेदनमा समेत नाम थप्ने काम भएको आशंका गरेका छन् ।

‘अहिले पनि प्रतिवेदनमा कसैको नाम हटाउने र थप्ने काम भइरहेको छ भन्ने अपुष्ट खबर आएका छन्,’ सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले भने, ‘समितिले सहमति गरेको क्रियाशील सदस्यता जिल्ला सभापतिले हेर्न पाउनुपर्छ भन्ने माग बैठकमा उठेको छ ।’

उनका अनुसार समितिले दिएको प्रतिवेदनमा नाम थपघट भएको थाहा भए अधिवेशन प्रक्रिया नै बहिस्कार गर्नुपर्नेमा पौडेल पक्षका जिल्ला सभापतिहरु एकमत छन् । नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले छानविन समितिको प्रतिवेदन जिल्ला सभापतिले हेर्न पाउनुपर्ने माग गरे ।

‘त्यो प्रतिवेदनमा कसको नाम छ, कसको छैन । जिल्ला सभापतिलाई नै थाहा छैन,’ उनले भने, ‘जिल्लाले पठाएका नाममा हेरफेर भए अधिवेशन नै बहिष्कार गर्नुपर्ने अवस्था आउनसक्छ ।’ बैठकमा ४७ जिल्ला सभापति सहभागी भएको केसीले जानकारी दिए ।

उनका अनुसार ३५ जिल्ला सभापति भौतिक रुपमा उपस्थित छन् भने १२ जना भर्चुअल माध्यमबाट सहभागी छन् । सोमबार ३३ जिल्ला सभापतिले आफ्नो धारणा राखेका थिए । जिल्ला सभापति बैठक मंगलबार पनि बस्ने र पार्टी नेतृत्वलाई बैठकको सुझाव बुझाउने बताइएको छ ।

वैधानिकता जोगाउन विशेष महाधिवेशन

पौडेल पक्षीय जिल्ला सभापति भेलामा पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन गर्नुपर्ने मत बलियो देखिएको छ । सभापतिहरुले प्रक्रियागत रुपमा जाँदा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने भएकाले विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

‘भदौ २३ पछि पार्टीको वैधानिकता सकिन्छ । निर्वाचन आयोगले कांग्रेसको वैधानिकता जोगाउन सक्दैन,’ नुवाकोट जिल्ला सभापति केसीले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशन अहिलेको आवश्यकता हो । १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रदेश र केन्द्रीय पदाधिकारी निर्वाचित गराउन सकिन्छ ।’

उनका अनुसार ६ देखि एक वर्षसम्मका लागि विशेष महाधिवेशन गर्ने र त्यो बीचमा नियमित महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने सुझाव जिल्ला सभापतिहरुको छ । सिन्धुपाल्चोकका जिल्ला सभापति लामाले पनि विशेष महाधिवेशन नै अहिलेको विकल्प भएको बताए ।

कांग्रेसमा वरिष्ठ नेता पौडेलले विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव शीर्ष नेताको वैठकमा राखिसकेका छन् । पौडेल निकट नेता अर्जुननरसिंह केसीले तीन महिनाअघि केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment