Comments Add Comment

इतिहासकै क्रूर घटना, जब हजारौँ मानिसको बीचमा हात्तीलाई फाँसीमा चढाइयो

मृत्युदण्डको कानून रहेका देशहरुमा कुनै जघन्य अपराध गनेहरुलाई फाँसीको सजाय दिने गरेको देखिएकै हो । तर के तपाईंले कुनै हात्तीलाई फाँसीमा लट्काएको देख्नु र सुन्नु भएको छ ?

आजको समयमा भएको भए हात्तीलाई फाँसी दिने कुरा जनावरमाथिको क्रूरता भन्दै विरोध हुनसक्दथ्यो । तर आजभन्दा १०४ वर्ष पहिले अमेरिकामा एउटा हात्तीलाई सजाय स्वरुप फाँसी दिइएको थियो । अनि हात्तीलाई दिइएको उक्त मृत्युदण्डको धेरै मानिसहरुले समर्थन गरेका थिए ।

सन् १९१६ को सेप्टेम्बर १३ मा उक्त घटना भएको हो । अमेरिकाको टेनेसी राज्यमा दुई हजारभन्दा धेरैको संख्यामा उपस्थित मानिसहरुको बीचमा मेरी नामक पोथी हात्तीलाई फाँसी दिइएको थियो ।

हात्तीलाई मृत्युदण्ड दिनुको कारण पनि अनौठो थियो, जुन थाहा पाउँदा तपाईंलाई अचम्म लाग्नसक्दछ ।

वास्तवमा चार्ली स्पाक नामका एक व्यक्तिले टेनेसीमा स्पार्क्स वर्ल्ड फेमस शो नामको एक सर्कस चलाउँथे । उक्त सर्कसमा विभिन्न जनावरहरु थिए र त्यसमध्ये मेरी नामको एक एसियाली हात्ती पनि थियो ।

करीब पाँच टन वजन भएको उक्त हात्ती सर्कसको मुख्य आकर्षण नै थियो । एकदिन उक्त सर्कसमा मेरीको माउतेले जागिर छाड्यो । पूरानो माउतेले जागिर छाडेपछि उसको ठाउँमा नयाँ माउते राखियो ।

नयाँ माउतेलाई मेरी हात्तीको बारेमा खासै जानकारी थिएन, न त हात्तीलाई माउतेको बारेमै थाहा थियो । त्यसैले हात्ती नियन्त्रण गर्नका लागि माउतेलाई निकै सकस पर्‍यो ।

यसैबीचमा एक दिन सर्कसको प्रमोशनका लागि शहरमा परेडको आयोजना गरियो । जसमा मेरी हात्तीसमेतका धेरै जनावर र सर्कसका सबै कलाकार पनि उक्त परेडमा सहभागी भए । त्यही क्रममा बाटोमा हात्तीले केही खानेकुरा देख्यो र त्यही खानेकुरा खानका लागि दौडिएर अगाडि बढ्न थाल्यो ।

माउतेले हात्तीलाई रोक्न निकै कोसिस गर्‍यो तर हात्ती रोकिएन । त्यसपछि माउतेले हात्तीको कानका पछाडि भाला रोप्यो । भाला रोपिएपछि हात्ती तिलमिलायो र रिसाउँदै माउतेलाई आफ्नो पिठ्यूँबाट तल झारेर कुल्चिएर मारिदियो । त्यो भयानक दृश्य देखेपछि मानिसहरु डराएर भाग्न थाले । त्यहाँका केही मानिसहरु हात्तीलाई मार्नुपर्ने भन्दै नाराबाजी गर्न थाले ।

उक्त दिन त जसोतसो अवस्था सम्हालियो, तर अर्को दिनको पत्रिकामा उक्त घटना बारेको समाचार प्रमुखताका साथ छापियो जसका कारण शहरमा सनसनी फैलियो ।

शहरवासीहरुले सर्कसका मालिक चार्ली स्पार्कसँग मेरी हात्तीलाई मृत्युदण्ड दिन माग गरे । यदि हात्तीलाई नमारेमा शहरमा फेरि कहिल्यै पनि सर्कस हुन नदिने धम्की दिन थाले । कतिपयले त आफैले हात्तीलाई मारिदिने चेतावनी पनि दिए । कसैले चाहिँ रेलले कुल्चाएर तथा करेन्ट लगाएर हात्तीलाई मारिदिने भन्न थाले ।

शहरवासीहरुको मागका अगाडि चार्ली स्पार्कको जोर चलेन र उनी घुँडा टेक्न बाध्य भए । अन्ततः उनले हात्तीलाई मृत्युदण्ड दिने निर्णय गरे ।

त्यसपछि १०० टन भार उठाउने एक क्रेन खोजियो र १३ सेप्टेम्बर १९१६ मा सोही क्रेनको सहयोगले हजारौँ मानिसहरुको उपस्थितिमा शहरको बीचमा उक्त हात्तीलाई फाँसीमा झुण्डाइयो । यो घटना जनावरहरु प्रतिको मानवीय क्रूरताको सबैभन्दा दर्दनाक घटनाको रुपमा इतिहासमा दर्ज भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment