+
+
Shares

लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनका सांसदलाई लुम्बिनीको होटलमा राखियो 

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १७:४१
फाइल तस्वीर

२६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेको विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई लुम्बिनीस्थित एक होटलमा राखेको छ । सोमबार नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कपिलवस्तुको वाणगंगास्थित राजापानी थारु रिसोर्टमा राखेको थियो ।

विपक्षी गठवन्धनका सबै सांसदलाई जम्मा गरेर भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले लुम्बिनीमा भेला भएको नेपाली कांग्रेसका एक सांसदले बताए । ‘सत्ता पक्षले हाम्रो पक्षका माननीयहरुलाई आर्थिक र मन्त्री पदको प्रलोभनमा आफूतिर तान्ने डरले सांसदलाई सुरक्षित गर्न एकै ठाउँ भेला भएर बसेका हौं,’ ती सांसदले भने, ‘भोलि बस्ने विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति पनि भेलाले तय गर्छ ।’

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि भोलि विशेष अधिवेशन बस्दैछ । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ता पक्षले यसअघि पनि आर्थिक लेनदेन र मन्त्री पदको प्रलोभनमा पारेर अन्य दलका सांसदलाई आफूतिर तान्ने प्रयास गरेको पुष्टि भएकाले आफ्ना सांसदलाई सुरक्षित राख्न आवश्यक भएको बताए । ८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ सांसद छन् ।

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भन्दै सत्ता पक्ष सर्वोच्च अदालत पुगेको छ । सत्ता पक्ष अदालत पुगे पनि विशेष अधिवेशन नरोकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?