Comments Add Comment

सोलुखुम्बु जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा बन्द

२७ साउन, सल्लेरी । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको भन्दै उनले अन्य केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणको तयारी भइरहेको बताए ।

मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ । दैनिक १५ देखि २० वटासम्म नेपाली नागरिकता लिने र सोही सङ्ख्यामा राहदानी लिन कार्यालयमा सेवाग्राही आउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

यस्तै जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको पनि सेवा बन्द गरिएको छ । यही साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

साउन ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङक्रमणदर बढेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला अस्पताल फाप्लुमा अहिले बिरामीको चाप बढेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४६३ निको भएका छन् भने १३ जानाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment