Comments Add Comment

अर्जुनको संगीतमा किरणले गाए ‘म त डुब्दै डुब्दै गएँ’

शनिबार सम्पन्न ‘द भ्वाइस अफ नेपाल सिजन-३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् । उनले व्यस्त संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको ‘म त डुब्दै डुब्दै गएँ’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतमा किरणको सोलो स्वर छ ।

द डिभाइन म्युजिकले तयार पारेको यो गीतका लागि किरणसँग संगीतकार पोखरेलको कुराकानी भने ४ महिना अगाडि नै भएको थियो । अर्जुनले अनलाइनखबरसँग भने, ‘मैले यो गीत किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेकाले उनको स्वरमा रेकर्ड गराएको होइन । यो गीतको विषयमा हाम्रो ४ महिना अगाडि नै कुराकानी भएको थियो । अझ, किरण अमेरिकामा रहँदा नै अर्को एउटा गीत गाउने विषयमा हाम्रो कुराकानी भैसकेको थियो । उनी नेपाल आएपछि यो गीतको विषयमा पनि कुरा भयो ।’

अर्जुनले अगाडि भने, ‘मैले यो गीत केही दिन अगाडि नै रेकर्ड गर्न चाहेको थिएँ । तर, भ्वाइस अफ नेपालको टिमले किरण क्लोज क्याम्पमा रहेको जानकारी दिएकाले रेकर्ड हुन ढिलाइ भएको हो । किरणको स्वर पार्श्व गायनदेखि हरेक गीतका लागि फिट छ ।’

किरण राम्रो गायक भएकाले नै आफूले केही महिना अगाडि नै उनीसँग सहकार्य गर्न चाहेको बताउँदै अर्जुनले भने, ‘बजारमा उनको बारेमा विभिन्न खालका टिप्पणी पनि भएका छन् । तर, उनको स्वर राम्रो भएकाले नै मैले उनलाई केही महिना अगाडि नै गीत रेकर्डका लागि प्रस्ताव राखेको हुँ ।’

किरणले यसअघि नै चलचित्र ‘राधा’ र ‘साढे ७’को गीतमा स्वर दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment