Comments Add Comment

लुम्बिनीका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने

२७ साउन, बुटवल । लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा आजै अविश्वास प्रस्तावमाथि मत विभाजन हुने र परिणाम घोषणा गर्ने उल्लेख छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दै छ । सत्ता पक्षले बैठक बहिस्कार गर्ने चर्चा चलिरहेको बेला प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले विशेष अधिवेशनको कार्यसूचि प्रकाशित भइसकेकाले नरोकिने बताए ।

विपक्षी गठबन्धनका नेताले पनि सत्ता पक्षले बैठक बहिस्कार गरे पनि विशेष अधिवेशनको बैठक नरोकिने बताएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले विशेष अधिवेशन संविधानसम्मत भएको भन्दै प्रक्रिया रोकिने प्रश्नै नरहेको बताए । ‘सत्ता पक्ष अविश्वास प्रस्तावबाट डराएर विशेष अधिवेशन रोक्न अदालत जानु नै गैरकानूनी हो,’ खान भन्छन्, ‘विशेष अधिवेशन बस्छ र आजै प्रदेशले नयाँ मुख्यमन्त्री पाउँछ ।’

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वान संविधानविपरीत रहेको भन्दै भाग नलिने संकेत गरेको थियो । यद्यपि यसबारे निर्णय गर्ने अधिकार दलका नेता एवम् मुख्यमन्त्री पोखरेललाई दिइएको थियो ।

विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री प्रस्ताव गर्दै साउन १९ गते प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । एमालेका ३८ सांसद छन् ।

विपक्षी चार दलको गठवन्धनको संयुक्त बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment