+
+
Shares

गजुरियल जात्रा : पुटिन र देउवा बनेर यसरी हँसाउनेछन् मनोज गजुरेलले

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १३:१०

अवस्था हाँसो–ठट्टा गर्ने खालको छैन । कोरोना महाव्याधिले सर्वत्र आतंक मच्चाइरहेकाे छ। यसले कतिको घर–व्यवहार भताभुंग बनाइदिएको छ, कतिको हुँदाखाँदाको रोजगारी खोसिदिएको छ । आँखाले देख्न नसकिने यो अति सूक्ष्म भाइरसले मानव समाजलाई लखेटेको–लखेटेकै छ ।

महासंकटको यो घडीमा मुलुकमा बाह्रैमास गाईजात्रा जारी रह्यो । खासगरी ठट्यौली सरकारको चटकले जगहँसाइरह्यो ।

यही पृष्टभूमिमा हास्य अभिनेताहरु ‘गाईजात्रे कार्यक्रम’का लागि तम्तयारीमा जुटेका छन् । यसपालि उनीहरुले यी नेता–मन्त्रीहरुको चुनौती सामना गर्नुपर्नेछ । वास्तवमा कसको प्रस्तुतिमा जनता मस्त हाँस्नेछन् ?

अवस्था ठीकठाक हुँदो हो त यतिबेला शहरका प्रेक्षालयहरु ‘गाईजात्रे कार्यक्रम’ले गुल्जार भइसक्थे । हास्य कलाकारिता गरिरहेकाहरुको ‘दशैं’ शुरु भइसक्थ्यो । उनीहरु असिन–पसिन भइसक्थे । तर, कोरोनाले भिलेन खेलेपछि उनीहरु खुम्चिए । धेरैले हास्य कलाकारिताको परम्परा बनेको ‘गाईजात्रे कार्यक्रम’लाई बिट मारे । मनोज गजुरेलहरुले भने यो प्रतिकूलतामा पनि आफ्नो धर्म छाडेका छैनन् ।

मनोज गजुरेलहरु हँसाउने खुराकको पोकोपन्तुरो कसेर मञ्चमा आउने तारतम्य मिलाउँदैछन् । तर, यो भर्चुअल मञ्च हुनेछ ।

एपीवान टिभी र गजुरियल युट्युब च्यानलमार्फत ‘गजुरेल कम्पनी’ हास्य प्रस्तुतिका लागि आउँदैछन् । कार्यक्रम भदौ १ गतेदेखि ७ गतेसम्म चल्नेछ । ब्रान्डवर्थ प्रालिले कार्यक्रमको मेलोमेसो मिलाइरहेकाे छ ।

गजुरेल टिममा यसपालि शैलेन्द्र सिम्खडा, किरण केसी, राजा राजेन्द्र, सुमन कार्की, सुबोध गौतम, पशुपति शर्मा, यमन श्रेष्ठ, चट्याङ मास्टर, हिमेश पन्त, सजन श्रेष्ठ, भटभटे माईना, रियासा दाहाल, खबपु, दिपक आचार्य, चन्द्रमुखी लगायतले प्रहसन, गीत, नाचबाट मनोरञ्जन दिलाउनेछन् ।

बहुरुपी गजुरेल

हरेक गाईजात्रे कार्यक्रममा मनोज गजुरेलले कुनै न कुनै नयाँ कोसेली ल्याउने गरेका छन् । खासगरी राजा–महाराजा, नेता–मन्त्रीको हुलियामा दुरुस्तै प्रस्तुत हुने गर्छन् । कहिले नरेन्द्र मोदी भएर त कहिले लालबाबु पण्डित बनेर, कहिले डोनाल्ड ट्रम्प भएर त कहिले केपी शर्मा ओली बनेर उनले हास्य प्रस्तुति दिइसकेका छन् । विश्वका शीर्ष नेताहरुको हुलियामा हु–बहु प्रस्तुत भएर समसामयिक राजनीतिमाथि तिखो व्यङ्ग्य ठोक्नु गजुरेलको मौलिक शैली हो ।

यसपालि उनी रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र शेरबहादुर देउवा, बेलायती प्रधानमन्त्री बोरिस जाेन्सन, माइकालाल मन्त्री कृष्ण गोपालको रुपरंगमा पेश हुँदैछन् । यस्तो आवरणमा प्रस्तुत भएर के कस्ता विषयमाथि उनले प्रहार गर्नेछन् ? त्यसका लागि भने प्रतीक्षा गर्नैपर्छ ।

यसैगरी सुबाेध गौतमले राजेन्द्र महतो र सुमन कार्कीले दीपक मनाङ्गेको हुलिया लिएर हँसाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?