Comments Add Comment

ठूला भ्रष्टाचारकाण्डको छानविन गर्न सांसद कोमल वलीको माग

२७ साउन,काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् ।

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताइन् ।

‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानविन गरौँ । वाइडबडीको छानविन गरौँ । अरुण थर्डको छानबिन गरौँ । टनकपुरको छानविन गरौँ । बालुवाटारको छानविन गरौँ । ओम्नीको छानविन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानविन गरौँ ।’ उनले भनिन्, ‘क्यान्टोनमेन्टको पनि छानविन गरौँ । ठुला-ठुला हाइड्रोको पनि छानविन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापी अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन् ।

‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अरबौँको डिल भयो होला । जलस्रोतको विश्वको दोस्रो धनि देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ विजुली दिन सकेका छैनौँ ।’ उनले भनिन्, ‘हाम्रा नदीनालाहरु बन्धक बनेका छन् सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति । त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरी केपी ओलीको सरकार आउँला भनी पर्खिने ? जवाफ चाहियो ।’

सांसद वलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्नेकुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment