Comments Add Comment

थ्री स्टारले गर्‍यो कप्तान विक्रम लामासँग सम्झौता नवीकरण

२८ साउन, काठमाडौं । थ्री स्टारले क्लबका कप्तान विक्रम लामासँग सम्झौता नवीकरण गरेको छ । ११ वर्ष थ्री स्टारमा बिताइसकेका विक्रमको थप एक वर्ष सम्झौता नवीकरण गरिएको क्लबले जनाएको छ ।

आगामी शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै ललितपुरको क्लब थ्री स्टारले कप्तान विक्रमसँग सम्झौता नवीकरण गरेको हो । ए डिभिजन लिग कात्तिक २९ गतेदेखि आयोजना हुनेछ ।

विक्रमले थ्री स्टारसँगको सहकार्य १२औं वर्षमा प्रवेश गर्दा खुशी लागेको प्रतिक्रिया दिए ।

‘म धेरै खुसी छु । थ्री स्टारमा आबद्ध भएको १२ वर्ष पुगेको छ । धेरै उतारचढाव, त्याग र कडा मेहनतसँगै यी वर्षहरु बिते,’ सम्झौता नवीकरणपछि विक्रमले भने, ‘थ्री स्टार मेरो लागि घर जस्तै हो र मेरो वरपरका सबै जना मेरो परिवार हो । मलाई सधैं समर्थन गरेकोमा थ्री स्टार परिवारप्रति आभारी छु ।’

यस्तै विक्रमले थ्री स्टारलाई उपाधि दाबेदारमध्ये एक रहेको पनि बताएका छन् । ‘हाम्रो टिममा उत्कृष्ट खेलाडीहरु छन् । यहाँ सबैको लक्ष्य छ र मलाई विश्वास छ कि हामी लिग उपाधि जित्न कडा प्रतिस्पर्धा गर्नेछौं,’ उनले थपे ।

थ्री स्टारले नयाँ सिजनका लागि यसअघि नै डिफेन्डरद्वय अनन्त तामाङ र निशान खड्का अनि मिडफिल्डर सन्जोग राईसँग सम्झौता नवीकरण गरिसकेको छ ।

यस्तै राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुष घलानलाई पनि अनुबन्ध गरेको छ । अर्का मिडफिल्डर डोना थापालाई पनि थ्री स्टारले अनुबन्ध गरेको थियो ।

थ्री स्टारको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment