Comments Add Comment

पोखराका पर्यटन व्यवसायीलाई खोप लगाउन शुरु 

२८ साउन, पोखरा । पोखराका पर्यटन व्यवसायी तथा मजदुरलाई बिहीबारदेखि खोप लगाउन शुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, पोखरा परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले व्यवसायी र मजदुरलाई ‘खोप कार्ड’ हस्तान्तरण गर्दै अभियान शुरु गरेका हुन्।

पहिलो चरणमा पोखराका क्रियाशील पर्यटन व्यवसायी र मजदुरका लागि मात्र खोप अभियान सुरु गरिएको हो । बाँकी जिल्लाका व्यवसायी र मजदुरलाई भने केही दिनपछि अभियान शुरु गरिने मन्त्री शर्माले जानकारी दिए ।

पोखराका पर्यटन व्यवसायीले आफूहरुले खोप नपाउँदासम्म व्यवसाय नै नखोल्ने अडान राख्दै आएका थिए । उनीहरुले कोरोनाविरुद्धको खोप माग्दै ‘नो भ्याक्सिन, नो टुरिजम्’ अभियान चलाउँदै आएका थिए । यसअघि पर्यटन बस व्यवसायीलाई खोप उपलब्ध गराइएको भए पनि व्यवसायी र सम्बन्धित मजदुरलाई व्यवस्था गरिएको थिएन ।

पर्यटन व्यवसायीका लागि ५ केन्द्र तोकिएका छन् । ती केन्द्रबाट ट्रेकिङ एजेन्सिस एसोसिएसन नेपाल (टान), नेपाल माउन्टेरिङ एसोसिएसन (एनएमए), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान),नेपाल हवाई खेलकुद संस्था, पश्चिमाञ्चल होटल संघ, पोखरा पर्यटन परिषद्, नाट्टा गण्डकी, एगा पोखरा, टेसा पोखरा, एनटिभी ए र मनि चेन्जर, स्पा, डुंगा एसोसिएसन, टुरिस्ट बुक सप, सिटी टुर गाइड, अखिल मजदुर संघ, युनिट्राभल र फेवा पर्यटन विकास समिति, थान्का एण्ड प्रिन्टिङ, नेशनल टुर गाइड लगायतलाई खोप लगाउने व्यवस्था मिलाइएको परिषदका कार्यवाहक अध्यक्ष पोम नारायण श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको मात्रै नभई देशकै मुख्य पर्यटन केन्द्र पोखरामा पर्यटन व्यवसायी र मजदुरलाई खोप उपलब्ध भएपछि व्यवसाय चलायमान बनाउन सजिलो हुने परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले बताए । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पनि खोप अभियानलाई निरन्तरता दिन जरुरी छ,’ उनले भने ।

टान गण्डकीकी महासचिव कमला गिरीले व्यवसायी खोपयुक्त भएसँगै छिट्टै पोखरा सुरक्षित गन्तव्य हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, आन्तरिक पर्यटकहरुलाई भित्राउने र प्रदेश भरी सन्देश प्रवाह गर्न सकेमा छिमेकी देशबाट पनि पर्यटक भित्रिने कुरामा सम्पूर्ण व्यवसायीहरु ढुक्क छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment