२९ साउन, काठमाडौं । स्पेनिस ला लिगा आजबाट शुरु हुँदैछ । नयाँ सिजन २०२१–२२ अन्तर्गत पहिलो खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछ ।
मेस्टाल्ला रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ ।
गत सिजन १३औं स्थानमा लिग सकाएको भ्यालेन्सिया राम्रो शुरुवात गर्ने लक्ष्यमा छ । गेटाफे गत सिजन १५औं भएको थियो ।
मेस्टाल्लामा ४० प्रतिशत दर्शक उपस्थित हुनेछन् । जसको अर्थ २० हजार दर्शकले रंगशालामा पुगेर खेल हेर्न पाउनेछन् । गत सिजनको अन्त्यतिर जम्मा ५ हजार दर्शकलाई पनि प्रवेश अनुमति दिइएको थियो ।
ला लिगा १७ वर्षपछि पहिलो पटक सुपर स्टार लिओनल मेस्सीबिना सञ्चालन हुँदैछ । क्याटलाना क्लब बार्सिलोनाले आर्थिक संघर्षका कारण मेसीलाई राख्न नसकेपछि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भइसकेका छन् ।
बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल आइतबार रियल सोसिडाडसँग घरेलु मैदानमा हुनेछ । यस्तै रियल मड्रिडले अलाभेजको भ्रमण गर्नेछ ।
साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै उपाधि रक्षा अभियान शुरु गर्नेछ । दुई मड्रिड क्लब र बार्सिलोनासँगै सेभिया पनि यस पटक उपाधि दाबेदारको रुपमा छ । सेभियाले आइतबार राभो भालेकानोसँग खेल्दै लिग शुरुवात गर्नेछ ।
प्रतिक्रिया 4