Comments Add Comment

रसुवागढी जलविद्युत् आयोजनामा लापरवाही

रसुवागढीको पावरहाउसमा पसेको पानी

२९ साउन, काठमाडौं । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा बनिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही भएको छ । सन् २०१७ मै सकिने पर्ने आयोजनामा अहिले पनि निर्माणको काम लगभग ठप्पजस्तै छ ।

आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति र व्यवस्थापनको लापरवाही र हेलचेक्र्याइँ तथा काम नगर्ने ठेकदारलाई दिइएको असाधारण छुट सुविधाका कारण आयोजनाको निर्माण सम्पन्न हुने समयतालिका अनिश्चित मात्रै बनेको छैन, आयोजनामा देखिएका सामान्य समस्या सुल्झाउन पनि व्यवस्थापनले चासो दिन छाडेको छ ।

आयोजनाका एक अधिकारीका अनुसार टेलरेस खन्ने काम करिब ९५ प्रतिशत सकिएपछि कमजोर चट्टान भेटिएको थियो, त्यसपछि निर्माण कार्यमा अहिले ज्यादै सुस्त बनेको छ ।

‘विद्युत् गृहमा बाढी पसेकोले त्यहाँ जडान गरिएका उपकरणहरु डुबेका छन् भने पानी हटाउने काम पनि समयमै सुरु भएन,’ ती अधिकारी भन्छन्,’ठेकदारका दाबीहरु टुंगो लगाउन सकिएको छैन, सञ्चालक समिति र व्यवस्थापनलाई आयोजनाको निर्माणका बारेमा मतलब नै छैन ।’

आयोजना प्रमुख छवी गैरे भने पावर हाउसमा पसेको पानी निकाल्ने काम सकिन लागेको बताउँछन् । तर, माटो र बालुवा निकाल्न भने समय लाग्ने उनको भनाइ छ ।

चिलिमेले निर्माण गरिरहेका आयोजनाहरुमध्ये सबैभन्दा सजिलो आयोजना हो, रसुवागढी । पछिल्लोपटक गत असारमा सक्ने लक्ष्य राखिएको आयोजनाको निर्माण अहिले ठप्पप्रायः छ ।

आगामी पुसभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादनको नयाँ लक्ष्य राखिएको आयोजनाको काम अहिलको गतिमै भए अझै दुई वर्षमा पनि नसकिने अवस्था छ । आयोजना प्रमुख  गैरे भने आगामी जेठ मसान्तसम्म काम सकिने दावी गर्छन् ।

सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत आम सर्वसाधारणलाई पनि सेयर निष्कासन गरी बनाइरहेको आयोजनाको समय बढ्दा लागत बढिरहेको छ । यसले जनताले लगानी गरेको आयोजनाको भविष्य अनिश्चियतर्फ धकेलिएको छ ।

बुधबार पदबहालीका क्रममा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमेअन्तर्गत निर्माणाधीन २७० मेगावाटका ४ आयोजना एक वर्षभित्रमा निर्माण सम्पन्न हुने घोषणा गरेका छन् । घिसिङ चिलिमको प्रवन्ध-सञ्चालक भएकै बेला सबै आयोजनाहरुको वित्तीय व्यवस्थापन गरी ७ वर्षअघि निर्माण सुरु गरिएको थियो ।

तर, कमजोर व्यवस्थापनका कारण कुनै पनि आयोजनाहरुको निर्माण अझै सकिएको छैन । घिसिङकै कार्यकालमा पनि यि आयोजनाहरुमा ढिलाइ भइरहेको थियो ।

रसुवागढीको सञ्चालक समिति र व्यवस्थापनलाई जिम्मेवार नबनाए आयोजना घिसिङले दावी गरेजस्तो एक वर्ष नसकिने आयोजनाकै प्राविधिकहरु बताउँछन् ।

सिभिल तथा हाइड्रोमेकानिकल निर्माणको ठेकेदार चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्टि्रक कर्पोरेसन -सीडब्लुई) र इलेक्ट्रोमेकानिकलको ठेकदार भोइथ हाइड्रो, भारत हो ।

आयोजनाको प्रवर्द्धक कम्पनीको सञ्चालक समितिमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक माधवप्रसाद कोइराला छन् । उनी एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध-सञ्चालकसमेत हुन् ।

कोइराला प्राधिकरणको सहायक कम्पनी चिलिमेको प्रतिनिधित्व गर्दै रसुवागढीमा गएका हुन् । आफ्नो जागिरे जीवनको लामो समय चिलिमेमा बिताएका कोइरालाले आयोजनालाई गति दिन चासो दिएका छैनन् । कम्पनीमा अरु सञ्चालकहरु प्राधिकरण र चिलिमेबाट गएका छन् ।

कम्पनीको सिईओमा विश्व मल्ल र आयोजना प्रमुखमा गैरे छन् । प्राधिकरणबाट काजमा खटिएका दुवै जना अधिकांश समयमा साइटमा नबस्दा पनि समस्या कर्मचारीहरु नै आजित छन् । मल्ल आगामी कात्तिकमा उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

आयोजानामा सिभिलभन्दा बढी इलेक्ट्रोमेकानिकलतर्फको काम बढी प्रभावित छ । यो आयोजनाको विद्युतीय उपकरण आपूर्ति र जडानको ठेक्का भोइथ हाइड्रोका कर्मचारी २०७६ चैत ८ मा (पहिलो लकडाउनअघि) नै भारत फर्किएका थिए । आयोजना प्रमुख गैरेका अनुसार उनीहरु अझै काममा फर्किएका छैनन् ।

लक्ष्यअनुसार काम भएको भए यो आयोजना सन् २०१७को अन्तिममा नै सकिनुपर्ने हो । तर, कहिले भूकम्प, कहिले नाकाबन्दी त कहिले बाढी-पहिरोको कारण आयोजनाको काम नभएको आयोजना प्रमेख गैरे बताउँछन् । आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फका थुप्रै काम बाँकी छन् ।

आयोजनामा करिब एक वर्षदेखि भएको प्रगति करिब एक प्रतिशत मात्रै हो । ८० प्रतिशत सकिएको भनिएको यो आयोजनामा काम लगभग ठप्प रहेकाले आगामी असारसम्ममा आयोजना सकिने अवस्था नरहेको प्राविधिकहरु नै बताउँछन् ।

चिलिमे अन्तरगत बनिरहेका मध्यभोटेकोशी, सान्जेन र माथिल्लो सान्जेन आयोजनाहरुमा समस्याग्रस्त अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment