३१ साउन, पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्या मात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ ।
खोप केन्द्र अव्यवस्थित हुँदा त्यहींबाट संक्रमण फैलिएको मान्न सकिने लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. विकास गौचन बताउँछन् ।
असार मसान्तदेखि शनिबारसम्म गण्डकीमामात्रै १ सय ७२ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घन्टामा १० जना संक्रमितले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश कास्कीका छन् ।
जति संक्रमितको संख्या थपिंदै गएका छन्, सोही अनुपातमा निको हुने दर भने कम छ । एक महिनाको अवधिमै सक्रिय संक्रमितको संख्या तीन गुणाले वृद्धि भएको निर्देशनालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै पोखराका अस्पतालहरु फेरि भरिन थालेका छन् भने पालो पर्खेर उपचार गर्नुपर्ने स्थिति आएको छ ।
कोभिड उपचारकै लागि तोकिएको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पनि भरिभराउ छ । ५० बेड क्षमताको उक्त अस्पतालमा अब थप संक्रमित राख्न सक्ने अवस्था नरहेको अस्पताल प्रमुख डा. विकास गौचन बताउँछन् । ‘अब आउने संक्रमितलाई फर्काएर पठाउनुको विकल्प छैन,’ उनले भने ।
पछिल्लो समय उपचारका लागि आएका अधिकांश संक्रमितहरुको अवस्था पनि गम्भीर प्रकृतिको रहेको डा. गौचन सुनाउँछन् । गम्भीर प्रकृतिका बिरामी बढेसँगै फेरि अक्सिजनको माग पनि बढेको उनको भनाइ छ । ‘अहिले ३५ जना संक्रमितको अवस्था क्रिटिकल नै छ । अक्सिजनको माग पनि बढेको बढ्यै छ,’ उनले भने, ‘यसरी नै बढिरह्यो भने अक्सिजन कसरी पुर्याउने भन्ने भएको छ ।’
ठीक एक महिनाअघि गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ६२८ थियो । तर, शनिबारसम्म त्यो संख्या बढेर ६ हजार १०२ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार गण्डकीमा कोरोनाबाट सबैभन्दा कास्की, नवलपुर, स्याङ्जा, गोरखा र बागलुङ छन् । कास्कीमा मात्रै शनिबारसम्म २ हजार ५१ जना सत्रिय संक्रमित छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शनिबारसम्म ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६८ हजार निको भइसकेका छन् । ६ हजार संक्रमितमध्ये ४ हजार ८ सय बढी संक्रमित होम आइसोलेसनमै छन् ।
संक्रमणदर फेरि बढेसँगै जोखिम पनि बढेको भन्दै बागलुङ नगरपालिकाले फेरि लकडाउन गरेको छ । संक्रमण घटेको भन्दै निषेधाज्ञा केही खुकुलो गरे पनि २८ गतेदेखि पूर्ण लकडाउनमा गएको छ । जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु पनि नखुल्ने गरी भदौ ५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गरेको छ ।
‘खोपकेन्द्रबाटै संक्रमण’
कोरोना संक्रमण घटेको भन्दै प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमणको दर पनि ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक ठाउँमा भिडभाड बढेको छ भने विभिन्न सभा, गोष्ठीहरु पनि सञ्चालन भइरहेका छन् ।
लक्षित वर्ग तोकेर कोभिडविरुद्धको खोप अभियान पनि जारी छ । तर, ती खोप केन्द्रमा सामान्य स्वास्थ्य मापदण्डसमेत पूरा भएको छैन । संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. विकास गौचन यिनै कारण पछिल्लो समय कोरोना संक्रमण बढेको बताउँछन् ।
‘जता गयो उतै भिडभाड छ । सार्वजनिक कार्यक्रम भइराखेको छ । सार्वजनिक सवारीको अवस्था त्यस्तै छ,’ डा. गौचन भन्छन्, ‘सबैभन्दा बढी संक्रमण खोप केन्द्रबाटै बढेको देखिन्छ । पूरै अव्यवस्थित छ, त्यहींबाट फैलिएको मान्न सकिन्छ ।’ खोप केन्द्र अव्यवस्थित भएको भन्दै जनस्तरबाट समेत विरोध हुँदै आएको छ ।
दुई जना मन्त्री संक्रमित
गण्डकी प्रदेशका २ जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुबैले शुक्रबार स्वाब परीक्षण गरेका थिए । दुवैको नतिजा कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको सचिवालयले जानकारी दिएको छ ।
‘शोधभर्ना आएन, उपचारमा सकस’
सरकारले कोभिड बिरामी उपचारका लागि उनीहरुको अवस्थाका आधारमा निश्चित रकम छुट्याएको छ । उक्त रकम संघीय सरकारले दिने व्यवस्था गरिएको छ । तर, रकम नपाउँदा संक्रमितको उपचारमा समेत सकस पर्न थालेको डा. गौचनको गुनासो छ ।
‘संघ सरकारले कोभिड विरामीको उपचार गर्न निश्चित रकम तोकेको छ । अवस्था हेरेर ७ हजारदेखि ३५ हजारसम्म दिने भनेको छ,’ डा. गौचनले भने, ‘तर, संघ सरकारले ढिलाइ गरिदिंदा नपाउँदा बिरामीका लागि आवश्यक औषधिहरु पनि किन्न नसक्ने अवस्थामा छौं । यसले झन् उपचारमा समस्या परेको छ ।’
गण्डकी प्रदेशमा कोरोना संक्रमणको पछिल्लो तथ्यांक
जिल्ला | सक्रिय संक्रमित | मृत्यु |
---|---|---|
कास्की | २०५१ | ५०८ |
नवलपुर | ७१८ | १२२ |
स्याङजा | ७३५ | १३७ |
तनहुँ | ४८१ | ११८ |
बागलुङ | ७४२ | ७७ |
लमजुङ | १९३ | ३६ |
गोरखा | ६९२ | ५० |
म्याग्दी | १६१ | ५० |
पर्वत | २९९ | ६४ |
मनाङ | ३ | २ |
मुस्ताङ | २३ | १६ |
प्रतिक्रिया 4