Comments Add Comment

बुढ्यौली : जीवन अझै बाँकी छ

वरिष्ठ पत्रकार भैरव रिसालले यसै साता ९४ औं जन्मदिन मनाएका छन् । नेपालीको औसत आयु पार गरेर उनी नयाँ जीवन बाँचिरहेका छन् । नेपालीको औसत आयु ७१ बर्ष मानिएको छ ।

निसन्देह उमेरको गणनाले उनी बुढ्यौलीतर्फ ढल्किएका छन् । तर, उनमा अझैपनि युवापन सकिएको छैन । अर्थात उनी अझैपनि उत्तिकै उत्सुक छन्, उर्जावान छन्, जागरुक छन् । जीवनको उत्तराद्र्धमा पनि उनि जीवनप्रति उत्तिकै आशावादी छन् ।

ओशो भन्छन्, युवा हुनु वा नहुनुमा उमेरले केही फरक पार्दैन । युवा त ऊ हो, जसमा जोश, उर्जा, उत्सुकता भरिपूर्ण छ । यस हिसाबले भैरव रिसालमा अझैपनि युवापन बाँकी छ ।

उनी हरेक कुरा जान्न उत्सुक हुन्छन् । आफुलाई उर्जावान र सक्रिय राख्ने यत्न गर्छन् । जागरुक छन् । उनलाई उमेरको डर छैन, न मृत्युको । साधरण जीवन बाँचेका छन्, आनन्दित छन् ।

जति जति उमेर ढल्कदै जान्छ, सामान्यत हामीमा उदासी बढ्दै जान्छ । बुढ्यौली उमेरसँग हामी डराउँछौं । बुढ्यौली चरणमा प्रवेश गरेसँगै इच्छा,  रहर, आंकक्षा त्याग्छौं । जबकि यो एक चक्र हो, जसबाट हामी सबै गुज्रिनुपर्छ । त्यसैले प्रकृतिको यो स्वभाविक प्रक्रियालाई हामीले स्विकार्नुपर्छ । किनभने बुढ्यौलीको पनि आफ्नै मूल्य छ ।

वयस्क एवं प्रौढ उमेरको पनि आफ्नै सौन्दर्य हुन्छ । यस्तो अवस्थामा पनि हामीले आफुलाई आकर्षक एवं राम्रो देखाउने कुरामा भने अल्छी गर्नु राम्रो होइन । बुढ्यौलको पनि विशेष सौन्दर्य हुन्छ ।

भलै हाम्रो छाला चाहुरिदै गएको होलान्, कपाल फुल्न थालेका होलान्, आँखाको चमक हराउँदै गएको होलान्, छालाको नरमपन रुखो हुँदै गएको होलान् । त्यसो भन्दैमा आफ्नो सौन्दर्यमा पटक्के ख्याल नगर्ने त ? मेकअप गर्ने, राम्रो लाउने, छरितो देखिने रहरलाई तिलाञ्जली दिने त ?

पहिरनप्रति सचेत

पक्कै यो राम्रो होइन । वयस्क, प्रौड एव बुढ्यौली उमेरमा पनि हामी फेसन कन्सस हुन जरुरी छ । आफुलाई सुहाउँदो पहिरन लगाउनुपर्छ । यस्तो पहिरन, जसले हेर्दा छरितो र आकर्षक देखियोस् । अझ महत्वपूर्ण कुरा त के भने, हामीले आफु बुढो भएको ठान्नु नै ठिक हुन्न ।

मनमा युवापन

उमेर जतिसुकै गुज्रिएर गएपनि मनमा युवापन बाँकी राख्नुपर्छ । आफुलाई जवान महसुष गर्नुपर्छ । केही समयअघि भएको एक अध्ययनको निचोड के थियो भने, असली उमेर भन्दा महसुष गर्ने उमेरको प्रभाव हाम्रो शरीरमा पर्छ । अर्थात हामी आफुलाई पाको ठान्छौ भने, जरुर हामीमा बुढ्यौलीको संकेत देखापर्न थाल्छ । तर, उमेर ढल्कदै गएपनि आफुलाई जवान ठान्ने गर्छौं भने, हामी उर्जावान्, जोशिला देखिन्छौं ।

यसका लागि हामीसँग आफैप्रति राख्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।

प्रौढ समस्या होइन

सौन्दर्य विज्ञहरु भन्ने गर्छन्, ‘हामीले कहिल्यै यस्तो नसोचौं कि उमेर बढ्नु वा प्रौढ हुनु एक समस्या हो । यो त जीवनको अर्को चरणको सुरुवात हो । दोस्रो पटक तनमनलाई सजाउने उमेर हो ।’

खासगरी ४०–५० बर्षको उमेरसम्म हामीले आफ्ना जीवनको धेरैजसो लक्ष्य पुरा गरिसकेका हुन्छौं । बच्चा हुर्किसकेका हुन्छन् । कामधन्दा एक हिसाबले व्यवस्थित भएको हुन्छ । पारिवारिक जीवनमा लय मिलिसकेको हुन्छ ।

तर अब हामीले केही नगरे हुन्छ, जस्तो भएपनि हुन्छ भनेर लय छाड्नु भने ठिक हुँदैन, खासगरी आफ्नै व्यक्तित्वको सवालमा ।

आफैंलाई सम्हाल्न सिकौं

यो उमेरमा पुगेपछि हामीले आफैलाई सम्हाल्न सिक्नुपर्छ । सक्रियता जारी राख्नुपर्छ । नयाँ नयाँ कुरामा खुसी खोज्नुपर्छ । सधै सफा, सुकिलो र खुसी तुल्याउनुपर्छ ।

मनलाई जति खुसी राख्न सकिन्छ, हाम्रो सौन्दर्य पनि उत्तिनै खुल्छ । मन प्रफुल्ल भए नै अनुहारमा चमक देखिने हो । यसका लागि योग, ध्यान, प्राणायम जस्ता विधी निकै उपयोगी हुन्छ ।

उमेर ढल्कदै जाँदा हामीले स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । खानपानदेखि अन्य आनीबानीमा पनि सन्तुलन राख्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment