Comments Add Comment

निर्माणाधीन संघीय संसद भवनको संसदीय समितिद्वारा स्थलगत अवलोकन

संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ: सभापति खड्का

३१ साउन, काठमाडौं । संसदीय समितिले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आइतबार सो निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवनको निर्माण कार्य समयमै सम्पन्न हुने गरी बजेटको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको प्रतिक्रिया दिइन् ।

उनले त्यहाँ काम गर्ने श्रमिकहरुका लागि तत्काल कोभिड विरुद्धको खोपको व्यवस्था गर्न र निर्माणस्थल वरपरको फोहोरको पनि तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । सभापति खड्काले भनिन्, ‘निर्माणाधीन सो भवनका लागि पर्याप्त बजेटको अभाव देखियो । सरकारले प्राथमिकताका साथ अघि बढाएको सो भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ । फोहोर व्यवस्थापन र त्यहाँ काम गर्ने मजदूरहरुका लागि पनि तत्काल कोरोना खोपको व्यवस्था गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ ।’

त्यस अवसरमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संसद भवन परिसरभित्र निर्माण भइरहेका १२ वटा ब्लकहरुको कार्य प्रगति विवरण तथा देखिएका समस्याबारे समितिका पदाधिकारीहरुलाई जानकारी गराए ।

उनले कोभिडका कारण अपेक्षा अनुसार सो निर्माणाधीन भवनको निर्माण कार्यले गति लिन नसकेको बताए । सचिव सिंहले अन्तर्राष्ट्रिय बजारबाट निर्माण सामग्री खरीद गरी ल्याउने काममा समेत कोभिडले समस्या पारेको पनि संसदीय समितिका पदाधिकारीसँग जानकारी दिए ।

सचिव सिंहले निर्माणस्थल परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये ११ वटा ब्लकहरुको निर्माणको कार्य भइरहेको बताए । उनका अनुसार पार्किङ ब्लकको पहिलो तल्लाको ६० प्रतिशत काम सम्पन्न भएको छ ।

त्यसैगरी राष्ट्रियसभाको भुइँतल्लाको निर्माण कार्य सम्पन्न भई पहिलो तल्लाको पनि ७० प्रतिशत कार्य सम्पन्न गरिएको छ । प्रतिनिधिसभाको भुइँतल्लाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न गरिएको तथा पहिलो तल्लाको निर्माण कार्य २३ प्रतिशत सम्पन्न गरिएको पनि सचिव सिंहले बताए ।

भ्याटबाहेक ६ अर्ब ९२ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो निर्माणाधीन भवनको निर्माण कार्यको जिम्मेवारी टुण्डी शेक जेभीले पाएको छ । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको सो निर्माणाधीन भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि सो निर्माणाधीन भवनको स्थलगत अवलोकन गरी निर्माण कार्य तोकिएको समय भन्दा अघि नै सम्पन्न गर्न आयोजनाका पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment