Comments Add Comment

महाकाली नदी छेउको ‘भाइरल रोड’मा फोटो खिच्ने र टिकटक बनाउने घुइँचो

३२ साउन, महेन्द्रनगर । चिल्लो कालोपत्रे सडक, सडकको बीचमा लस्करै जडान गरिएका विद्युतका पोलहरु । छेउमै सुस्केरा हालेर बगिरहेको कञ्चन महाकाली । सडक छेउमै चिटिक्क परेको मानव वस्ती । बस्तीसँगै फल्दै गरेको धानबाली र साउने हरियालीले कसको ध्यान खिच्दैन होला र ?

यो तस्वीर हो, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीको । जहाँ अहिले दैनिक सयौंको संख्यामा मानिसहरु घुमफिर गर्दै रमाइलोका लागि पुग्न थालेका छन् । महाकाली नदीमा निर्माणाधीन अवस्थामा रहेको चार लेनको मोटरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकले धेरैलाई आकर्षित गरेको छ ।

सेल्फीमा रमाउने र टिकटकमा झुमिनेका लागि यो सडक सबैभन्दा उपयुक्त स्थान बनेको छ । अहिले यो सडक ‘भाइरल रोड’ का नामले चिनिन थालेको छ । ‘भाइरल रोड’ मा पुगेर सेल्फी र टिकटक बनाउने क्रम बढेसँगै मानिसहरु खोजीखोजी टाढा–टाढाबाट यहाँ आउन थालेका छन् ।

‘भाइरल रोड’ बारे सामाजिक सञ्जालबाट थाहा पाएको बताउने बैतडीको पाटनका चक्र अवस्थी रमाइलो गर्नकै लागि यहाँ आइपुगेको बताउँछन् । ‘टिकटकबाट यो सडकको बारेमा थाहा पाएको थिए । धेरै राम्रो छ भन्ने सुनेकाले हामी धेरै साथीहरु बैतडीबाटै घुम्न आएका छौं,’ अवस्थीले भने, ‘मैले पनि टिकटक बनाए । छेउमै महाकाली नदी सलल बगिरहेको छ । रमाइलो रहेछ, पछाडि निर्माणाधीन अवस्थामा रहेको पुल पनि देखिरहेको छ । सबैले घुम्न पर्ने ठाउँमध्यकै एउटा रहेछ ।’

धनगढी उपमहानगरपालिका–७ को देवरियाबाट ‘भाइरल रोड’ पुगेका वीरेन्द्रप्रसाद भट्टराईले पनि घुमेर रमाइलो गर्न पाउँदा खुशी लागेको बताए । ‘मैले ड्रोनबाट खिचिएको यो ‘भाइरल रोड’ को दृश्य देखेको थिएँ । एकपटक घुम्न जानुपर्छ भन्ने लागेको थियो,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘आज साथीहरुसँगै आएर रमाइलो गरियो । वास्तविकतामा पनि साँच्चै टिकटकमा देखेको जस्तै ठाउँ रहेछ ।’ धनगढीमा पनि ६ लेन सडक निर्माण भए पनि महाकाली नदी छेउ र बस्तीको बीचमा भएकाले ‘भाइरल रोड’ नाम पाएको ओदालीको यो सडक आफ्नो रोजाइ बन्न पुगेको उनले बताए ।

६ लेन सडक कालोपत्रे भएपछि नै त्यहाँ चहलपहल बढेको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिकाको बडैपुरका स्थानीय आइते लुहारले सडक कालोपत्रे भएपछि घुम्न आउने पर्यटक बढेको बताए । ‘सडक बनेपछि टाढा–टाढाबाट मानिसहरु यहाँ फोटो खिच्न र टिकटक बनाउनका लागि आउने गरेका छन्,’ लुहारले भने, ‘अरु दिनभन्दा शनिबार बढी मानिसको भीडभाड हुने गरेको छ ।’

महाकालीको ६ लेन सडकले आन्तरिक पर्यटक तानेपछि सो क्षेत्रमा व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेका बेला नै सडक आन्तरिक पर्यटकको रोजाइ बन्न पुगेको बताए । उनले निर्माण कार्य पूरा भएपछि पर्यटनका माध्यमबाट सडकलाई नगरको आर्थिक विकाससँग जोड्ने योजना रहे पनि अहिले त्यहाँ हुने भीडभाडको व्यवस्थापनको काम वडासँगै स्थानीय युवा क्लब र टोल विकास संस्थाले गरिरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment