+
+

नेपाल भर्सेस भारत प्रिभ्यु : प्रतिष्ठादेखि साफको तयारीसम्म

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ १७ गते ७:०३

१७ भदौ, काठमाडौं । नेपाल र भारतबीच जुनसुकै खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ । धेरै चर्चा पनि हुन्छ । हार र जितले फरक अर्थ राख्छ । अझ विश्वकै चर्चित फुटबल खेल हुँदा चर्चा नहुने कुरै भएन ।

चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अक्टोबरमा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदैछ । त्यसैको तयारीमा रहेको नेपाल र भारतले दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

जसमध्ये पहिलो खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुँदैछ । यसको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्दैछ ।  यस्तै दोस्रो खेल आगामी आइतबार रंगशालमै हुनेछ । मैत्रीपूर्ण खेलका लागि सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय भारतीय टोली नेपाल आएको छ ।

नेपालको भने आधिकारिक टोली घोषणा नभए पनि बन्द प्रशिक्षणमा रहेका २४ जनाकै टोलीबाट मैत्रीपूर्ण खेल खेल्ने सम्भावना छ ।

प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पोखरामा बन्द प्रशिक्षण हुँदा तीन खेलाडी बाहिर राख्दै २५ जनाको टिम बनाएका थिए । त्यसमा रोहित चन्द क्लब ड्युटीका लागि इन्डोनेसिया पुगिसकेका छन् । उनी पर्सिजा जाकार्ताबाट त्यहाँको लिग खेल्छन् । रोहित नहुँदा उनले खेल्दै आएको पोजिसनमा अर्को खेलाडीले खेल्नेछन् ।

घरेलु मैदानमा अलमुताइरीको पहिलो खेल

नेपालका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलमार्फत घरेलु मैदानमा डेब्यु गर्दैछन् । नेपालमै खेल्न पाउँदा उनी खुशी छन् । दर्शककै अघि खेल्न पाउने भएपछि उनी पक्कै उत्साहित छन् ।

बुधबार प्रिम्याच कन्फ्रेन्स हुँदा सम्म दर्शकलाई प्रवेश दिने निश्चित थिएन । तर पछि अखिल नेपाल फुटबल संघ एन्फाले पाँच हजार १०० दर्शकलाई प्रवेश दिने अनुमति नेपाल सरकार र सीसीएमसीबाट पाएपछि दर्शकले पनि रंगशालमै पुगेर खेल हेर्न पाउने भएका हुन् । ‘घरेलु मैदानमा त्यो पनि भारतविरुद्ध पहिलो खेल खेल्न पाउदा खुशी छु।

गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका अलमुताइरीको प्रशिक्षणमा नेपालले यसअघि चार खेल खेल्दा सबै देशबाहिर थियो । गत जेठमा इराकविरुद्ध मैत्रीपूर्ण उसैको मैदानमा खेलमार्फत उनले डेब्यु गरेका थिए । त्यसपछि नेपालले कुवेतमा नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेलेको थियो ।

अलमुताइरीले नेपाली दर्शकको अगाडि राम्रो प्रदर्शन गर्ने समेत बताएका छन् । ‘नेपालीलाई खुशी बनाउने होइन गर्व गर्न लाएक प्रदर्शन गर्नेछौँ,’ उनले भने ।

अलमुताइरीले भारत विरुद्ध जित्नकै लागि खेल्ने बताउँदै दुई खेलमा भारतलाई हराउन सके ७ देखि १० स्थानसम्म फिफा वरीयता सुधार हुने समेत बताए । उनले भारत विरुद्ध नयाँ खेलाडीलाई अवसर दिने संकेत गर्दै केही सरप्राइजसमेत भएको बताएका छन् ।

नेपालका कप्तान किरण चेम्जोङले अलमुताइरीको आगमनपछि नेपाली टिमको मानसिकतामा परिवर्तन भएको र अहिले टिम मानसिक र शारीरीक रुपमा बलियो रहेको बताए ।

नेपालले दुई महिनादेखि तयारी गरिरहेकोले टिम राम्रो लयमा रहेको र भारतसंग खेल्न तयार रहेको अलमुताइरी र चेम्जोङको भनाइ छ ।

नेपालसँगको खेल कठिन

नेपाल र भारतको राइभर्ली अन्तर्राष्ट्रिय फुटबलमा पनि चर्चित नै छ । त्यसैले भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल जहिल्यै कठिन हुने बताए । आफ्नो मावली र पुर्खाको गाउँसमेत नेपालमै रहेकोले उनी भावनात्क रुपमा पनि नेपालसँग जोडिएका छन् । उनी नेपाली मज्जाले बुझ्छन् भने दोहोरो कुरा पनि गर्छन् ।

यसअघि सन् २०१५ मा विश्वकप छनोट अन्तर्गतको खेल खेल्न आएका सुनिल ६ वर्षपछि नेपालमा खेल्न आएका हुन् । त्यसबेला नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । सुनिलसँगै गोलकिपर गुरप्रितमान सिंह सन्धु र प्रितम कोटल मात्र यसअघि नेपाल आएर खेलेका थिए ।

सुनिलले यसअघि पनि नेपालसंगको खेल कठिन रहेकोले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताएका छन् ।

भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाकले अहिले वर्षाको मौसम रहेकोले नेपालसँगको खेललाई लिएर सचेत छन् । उनले पानी नपरेमा खेल राम्रो हुने अपेक्षा राखेका छन् । यस्तै नेपालका युवा खेलाडीहरुले अवसर पाउँदा विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेको भन्दै नेपालले पछिल्लो समय खेलमा सुधार गरेको समेत बताएका थिए ।
नेपालसँग प्रतिस्पर्धात्मक खेल हुने उनले अपेक्षा राखेका छन् ।

साफको तयारी

नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबर १ देखि सुरु हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छन् । नेपाली टोली पोखरामा दुई साताभन्दा बढी समय बन्द प्रशिक्षक सकाएर काठमाडौं फर्केको हो । त्यसअघि टोलीले काठमाडौंमा प्रशिक्षण गरेको थियो ।

भारतविरुद्धको दुई खेलपछि नेपाली टोली थप तयारी गर्न सेप्टेबर १० मा कतार जाँदैछ । नेपाली टिमका प्रशिक्षक अलमुताइरीले कतारमा कम्तीमा एक मैत्रीपूर्ण खेल खेल्नका लागि प्रयास गर्ने बताएका छन् । भारतले भने कोलकातामा प्रशिक्षण क्याम्प गरेर नेपाल आएको हो ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप दुई मैत्रीपूर्ण खेल खेलाउन लागिएको छ । साफ अक्टोबर १ देखि १६ अर्थात असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

भारतीय टिमका प्रशिक्षक स्टिमाक र कप्तान सुनिलले नेपालसँगको दुई खेल साफ च्याम्पियनसिपको लागि राम्रो तयारी हुने बताएका छन् ।

नेपालका प्रशिक्षक अलमुताइरीले पनि भारतविरुद्धको खेल साफ तयारीको लागि महत्वपूर्ण भएको बताएका छन् । उनले आफ्नो लक्ष्य एसिया कप सम्म पुग्ने रहेकोले भारतविरुद्धको खेलमा जस्तो नतिजा आए पनि राम्रो प्रदर्शन गर्ने र जितकै लागि खेल्नेसमेत बताएका छन् ।

यस्तै कप्तान किरण चेम्जोङले साफअघि नेपालको बलियो र कमजोर पक्ष थाहा पाउन भारतविरुद्धको खेलले सहयोग पुग्ने बताए ।

सन् १९९३ मा साफ कपको नामबाट सुरु भएको दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल फाइनल समेत पुगेको छैन ।

सन् २०१३ मा आफैले आयोजना गरेको साफमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल माल्दिभ्ससँग सेमिफाइनलमा पराजित भएको थियो ।

२०१३ र २०१८ मा दुवै पटक नेपाललाई फाइनल पुग्ने अवसर थियो । तर नेपालले अवसरलाई सदुपयोग गर्न सकेन । यसपटक साफमा ५ टिममात्र सहभागी छन् र राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसमा शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनलमा खेल्नेछन् ।

२०१७ पछि पहिलो खेल

सन् २०१७ पछि नेपाल र भारतबीच पहिलो पटक फुटबल खेल हुन लागेको हो । चार वर्षअघि अँधेरी कम्प्लेक्सस्थित मुम्बई फुटबल एरेनामा भएको त्यस खेलमा नेपाल २-० ले पराजित भएको थियो । त्यो बेला सुनिल क्षेत्री खेलेका थिए । त्यसबेला गोल गरेका सन्देश झिंगन र जेजे लालपेखलुआले गोल गरेका थिए । दुवै खेलाडी अहिले नेपाल आएको टिममा भने छैनन् । उक्त खेलमा नेपालका विराज महर्जनले रातो कार्ड पाएका थिए । विराटले अन्तर्राष्ट्रिय पुटबलबाट सन्यास लिइसकेका छन् ।

यस्तै नेपाल र भारत काठमाडौंमा ६ वर्षपछि खेल्न लागेका हुन् । सन् २०१८ को विश्वकप छनोट अन्तर्गत एसियाली छनोटको पहिलो खेलमा नेपाल र भारतबीच २०१५ मा दशरथ रंगशालमा खेल भएको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक मुम्बईमा खेलेको टिममा अहिले धेरै परिवर्तन भइसकेको छ । त्यो बेला मुम्बई गएका २० मध्ये ९ खेलाडी मात्र अहिले टिममा छन् । गोलकिपर तथा कप्तान किरण चेम्जोङसहित दुई गोलकिपर विकेश कुथु र विशाल श्रेष्ठ अहिले पनि टिममा छन् । यस्तै डिफेन्डरमध्ये अनन्त तामाङ मात्र टिममा छन् भने मिडफिल्डर विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा अनी फरवार्ड नवयुग श्रेष्ठ अहिलेपनि टिममा छन् ।

विमल घर्ती मगर, भरत खवास, रोहित चन्द लगाएका खेलाडी अहिले टिममा छैनन् । यस्तै हेमन गुरुङ र विमल बस्नेत देश छाडेर अष्ट्रेलिया पुगिसकेका छन् ।

विगतमा भारत हाबी

नेपाल र भारतबीचको विगत हेर्दा भारत बलियो देखिन्छ । दक्षिण एसियामा लगभग उस्तै जस्तो देखिए पनि भारतले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा फड्को मार्दै छ । साफ च्याम्पियनसप ७ पटक जितिसकेको भारतले एसिया कप पनि खेलिसकेको छ । जबकि नेपाल साफकै फाइनल पुग्न संघर्षरत छ ।

नेपाल र भारतबीच अहिलेसम्म १९ खेल हादा नेपालले जम्मा दुई खेल मात्र जितेको छ भने ९० मिनेटभित्र एक खेल जितेको छ । सन् १९९३ को साफ गेम्सको फाइनलमा नेपालले भारतलाई ट्राइबेकरमा ४-३ ले हराएको थियो । त्यसपछि सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा समूह चरणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । जुमानु राई र अनिल गुरुङले नेपालका लागि गोल गरेका थिए ।

भारतले नेपाललाई अहिलेसम्म १३ पटक हराएको छ । ४ खेल भने बराबरीमा सकिएको छ ।

नेपालमा भएको पछिल्लो खेल गोलरहित बराबरीमा सकिएको थियो भने भारतमा भएको पछिल्लो खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

१९ खेलमा भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्र गरेको छ । भारत विरुद्ध १३ खेलमा नेपालले गोल गर्न सकेको छैन ।

नेपालले पछिल्लो पटक सन् २०१५ को साफ च्याम्पियनसपमा भारत विरुद्ध गोल गरेको थियो । ४-१ ले पराजित भएको उक्त खेलमा विमल घर्ती मगरले गोल गरेका थिए ।

नेपाली टिम

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेण्डर : सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, राजन गुरुङ

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, आयुष घलान, सुनिल बल, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी

फरवार्ड : मनिष डाँगी, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

भारतीय टिम

गोलकिपर : अमरिन्दर सिंह, धिरज सिंह मोइराङ्गथेम, गुरप्रित सिंह सन्धु

रक्षक : प्रितम कोटल, चिङ्गलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्डर : लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?