
१७ भदौ, बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरुले सरकारलाई दबाव दिन थालेका छन् । सन् २०१५ मा शीलान्याश भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा पाँच वर्ष ढिला भइसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसकेपछि उनीहरुले सरकारलाई दबाव दिन थालेका हुन् ।
विमानस्थलको ९८ प्रतिशत भौतिक निर्माण कार्य पूरा भइसकेपनि क्यालिब्रेसन फ्लाइटसम्बन्धी २ प्रतिशत काम पूरा नहुँदा सञ्चालनमा आउन ढिला भएको हो ।
विमानस्थल सञ्चालनमा ढिलाई भएको भन्दै बुटवल उद्योग वाणिज्य संघले बुटवलमा पत्रकार सम्मेलन गरी यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । विमानस्थल सञ्चालनमा आउन भइरहेको ढिलाइले उद्योगी व्यवसायीलाई निरास बनाएको संघका अध्यक्ष उज्ज्वल कसजुले बताए ।
‘अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका उद्योगी व्यवसायीका लागि भाग्यरेखा भएपनि सञ्चालनमा आउन ढिला हुँदा निरास बनाएको छ,’ कसजूले भने, ‘सम्बन्धित सरकारी निकायले यथाशीघ्र सञ्चालनमा ल्याउन संवेदनशील हुनुपर्छ ।’
संघका उद्योग उपाध्यक्ष टंक गैरेले विमानस्थल अझै एक वर्ष सञ्चालनमा आउन नसक्ने देखिएकाले सरकारलाई सबै क्षेत्रबाट दबाव दिनुपर्ने बताए ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी वान) मा सम्झौता गरी २०७१ माघ १ गतदेखि निर्माणको काम शुरु गरेको थियो । कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो ।
क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक सबै उपकरण ल्याइएको आईसीबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए । ‘आवश्यक सबै उपकरण जडान भइसकेको छ, अब परीक्षण उडानको काम बाँकी छ,’ उनले भने, थाइल्याण्डको कम्पनीले क्यालिब्रेसन फ्लाइट सम्झौता अनुसार काम नगरेपछि अर्को कम्पनीबाट गर्दैछौं ।’
निर्माणमा ढिलाइ हुँदा आईसीबी वानअन्तर्गत शुरुआतमा ठेक्का सम्झौता भएकोभन्दा ६० करोड रुपैयाँ लागत वृद्धि भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
प्रतिक्रिया 4