+
+

तयार भयो चोभार सुख्खा बन्दरगाह (फोटोफिचर)

भारत र चीनको समुद्री बन्दरगाहबाट आएका कन्टेनर अब सिधै काठमाडौ

नवीन ढुंगाना/आर्यन धिमाल नवीन ढुंगाना/आर्यन धिमाल
२०७८ भदौ १८ गते १४:३६

१८ भदौ, काठमाडौं । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । सीमा नाकाभन्दा टाढा भित्री सहरमा बनेको पहिलो सुख्खा बन्दरगाह सञ्चालनका लागि तयारी अवस्थामा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

भन्सार, क्वारिन्टिन र प्रशस्त पार्किङ सुविधासहित अत्याधुनिक सूचना प्रविधिमा आधारित सुख्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न भएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । बन्दरगाहको भौतिक निर्माण सकेको छौं, अब प्राविधिक काम सकेर छिट्टै काठमाडौंबाटै भन्सार जाँच पास सुचारु गर्न अतुर छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने । कोभिड महामारीको चुनौतीपूर्ण अवस्थाका बाबजुत पनि बन्दरगाह निर्माणले आकार लिएरै छाडेको उनले बताए ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने माल सामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुने गजुरेलको भनाई छ ।

बन्दरगाहमा यस्ता छन् संरचना

तत्कालिन हिमाल सिमेन्टले ओगटेको २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा प्रशासन, भन्सार, बैंक तथा वित्तीय संस्था र क्वारेन्टाइनका संरचना निर्माण भएका छन् । यस्तै ठूला ५४ मिटर बाई २४ मिटरको तीन वटा गोदाम पनि बन्दरगाहमा रहेका छन् ।

सवारी साधनले ल्याउने सामानको भन्सार प्रयोजनको परीक्षणका लागि तीन वटा स्टपिङ पनि तयार भएको छ । प्रशासनिक र कन्टेनर पार्किङ यार्ड पनि तयार छ । बन्दरगाहमा विद्युतीय सबस्टेसन, लाइटिङ र पूर्ण निगरानी राख्न सकिनेगरी सीसी क्यामेरा पनि जोडिएको छ । बन्दरगाहमा पाँच सय ट्रक र पाँच सयकै हाराहारीमा कन्टेनर अट्ने पार्किङ यार्ड पनि निर्माण सम्पन्न भइसकेको छ ।

भन्सार, क्वारिन्टिन र प्रशासन, कन्टेनर प्रवेश र निर्यातको कन्टेनर बाहिरीने प्रयोजनका लागि तीन वटा छुट्टा छुट्टै प्रवेश गेट पनि निर्माण भएको छ । बन्दरगाहका कारण स्थानीयलाई असर नपुगोस् भनेर ध्वनी प्रदूषण नियन्त्रण गर्ने प्रविधि पनि बन्दरगाहले प्रयोग गरेको छ ।

विकास समितिले बन्दरगाहलाई दुई प्रकारले विभाजन गरेको जनाएको छ । जसमा आन्तरिक र एक्जीम गरि कामको प्रकृति छुट्ट्याइएको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए । गेट तीन र यसको भित्री संरचनाबाट एक्जिम अर्थात वस्तु आयात र यससंग सम्बन्धित काम हुनेछ भने गेट एक र बाँकी संरचना वस्तु निर्यात वा नेपाली व्यवसायीले कन्टेनर वा ट्रक पाकिङ एवम् होल्ड गर्नका लागि प्रयोग हुनेछ ।

समुद्री बन्दरगाहबाट आएका कन्टेनर अब सिधै काठमाडौ

बन्दरगाह भित्र रहने भन्सार, क्वारिन्टिन र प्रशासन संरचनामा जनशक्ति खटाएर बन्दरगाह सञ्चालन गर्न सकिने अवस्थामा पुगेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि र अर्थ मन्त्रालयसँगको समन्वयनमा बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा र जनशक्तिबारे अहिले छलफल अघि बढेको छ ।

त्यसपछि नेपाली व्यवसायीले समुद्री बन्दरगाह हुँदै माल वस्तु ल्याउने कन्टेनर सीमा क्षेत्रमा सामान्य प्रक्रिया पुर्‍याएपछि सिधै काठमाडौं आउने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए । ‘चीन वा भारत भएर आउने कन्टेनरलाई सीमा क्षेत्रमा सिल गरेर सिधै काठमाडौं पठाइने गरी कुरा अघि बढेको छ, चुहावट रोक्ने प्राविधिक उपायबारे पनि छलफल भइरहेको छ,’ कार्यकारी निर्देशक गजुरेलले भने । कन्टेनरहरु सिधै काठमाडौं आउँदा व्यासायीहरुलाई नाकामा हुने झन्जट अन्त्य हुने र समय तथा लागत कम पर्ने उनले बताए ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि निकै महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण आयोजनाले १४ महिना अनावश्यक समय गुजार्नु परेको थियो । तराई मधेश द्रूतमार्गको प्रवेशद्वारमै निर्माण सम्पन्न भएको बन्दरगाह सो सडकपछि अझै उपयोगी हुने अपेक्षा गरिएको छ । बन्दरगाह प्रस्तावित नेपाल भारत तथा चीन नेपाल रेल मार्गको संगम विन्दुमा रहेको इन्टर मोडल यातायता विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?