+
+

सरकारलाई अर्थ मन्त्रालयको सुझाव-वायु सेवा निगम सुधार गर्न उच्चस्तरीय समिति बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १५:१५

१८ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज सञ्चालन गर्नुपर्नेमा जोड दिए । निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता रहेको बताएका थिए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगमले प्रगति गर्न नसक्ने भन्दै उनीहरुले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताएका थिए ।

छलफलमा निगमका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाइन्सको वर्तमान अवस्था र भावी रणनैतिक विकल्पका सम्बन्धमा आफ्नो धारणा राखेका थिए । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताए । निगम हाल ५० अर्ब ऋण तथा ११ अब सञ्चित नोक्सानीमा रहेको पौडेलले जानकारी दिए । उनले साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताए । उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे ।

छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?