+

नेपालले खेल जितेन, मन जित्यो [ फोटो फिचर ]

२०७८ भदौ  २० गते २२:११ २०७८ भदौ २० गते २२:११
नेपालले खेल जितेन, मन जित्यो [ फोटो फिचर ]

काठमाडौं । दक्षिणएशियाको बलियो राष्ट्र भारत विरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा २-१ को हार बेहोर्‍यो । करिब ५ हजार भन्दा बढी दर्शकको अघि जित्ने लक्ष्यका साथ मैदान उत्रिए पनि नेपालले जित आफ्नो पक्षमा पार्न सकेन ।

नतिजालाई छाड्ने हो भने नेपाली खेलाडी र टिमको प्रदर्शनले मन जित्यो । खेल सकिएपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि नतिजालाई बिर्सेर टिमको प्रदर्शनबाट खुशी भएको बताए । पहिलो खेलको तुलनामा सुधारिएको खेल खेलेको आफू प्रशिक्षकको रुपमा खुशी रहेको बताए ।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो । आइतबार दशरथ रंगशालमा दुवै टिमका प्रशिक्षकले टिममा केही परिवर्तन गरे । नेपालका प्रशिक्षकले ३ र भारतीय प्रशिक्षकले ७ खेलाडी पहिलो रोजाईमा परिवर्तन गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा तीन गोल भयो । भारतले दुई गोल गर्दा नेपालले एक गोल फर्कायो । भारतका लागि ६२औं मिनेटमा वैकल्पिक खेलाडी फारुख चौधरी र ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गरे ।

दुई गोल खाए पनि नेपालले आक्रमण गर्न छाडेन र ८६औं मिनेटमा तेज तामाङले गोल फर्काए । उनले पेनाल्टी एरिया भन्दा बाहिरबाट शानदार गोल गरे ।

तेजको राष्ट्रिय टिममा यो पहिलो गोल हो । प्रशिक्षकले पनि उनको गोलको प्रशंसा गरे । ८६औं मिनेटमा नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । गोलकिपर विशाल श्रेष्ठ र डिफेण्डर राजन गुरुङले पहिलो पटक सिनियर टिमका लागि खेल्ने अवसर पाए ।

यस्तै कप्तान तथा गोलकिपर किरण चेम्जोङले नेपालका लागि सर्वाधिक क्याप जित्ने कीर्तिमान पनि यसै खेलमा बनाए । किरणले नेपालका लागि ७४औं खेल खेल्दै विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान तोडे । उनले भारत विरुद्धको पहिलो खेलमा कीर्तिमान बराबरी गरे ।

भारतसँग खेल गुमाए पनि किरणको कीर्तिमान, विशाल र राजनको डेब्यु अनि तेजको गोलका लागि यो खेल स्मरणीय हुनेछ ।

नेपाल फुटबल भारत
लेखक
विकास श्रेष्ठ/आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय