+
+

संसद अधिवेशनमा सत्तारुढ र प्रतिपक्षको के छ तयारी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते २०:३२

२१ भदौ, काठमाडौं । भदौ २३ गते संसदको अधिवेशन बोलाएपछि दलहरुले आन्तरिक तयारी थालेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले मंगलबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा संसदमा खेल्नुपर्ने भूमिका, बजेट, विभिन्न अध्यादेश र विचाराधीन विधेयक र आगामी रणनीतिबारे छलफल हुने कांग्रेस सांसदहरुले बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी पनि आन्तरिक तयारीमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको विषय उठाउने तयारी गरेको छ ।

सोमबार सिंहदरवारस्थित नेकपा एमालेको संसदीय दलमा भेटिएका एमालेका एक सांसद भन्दै थिए, ‘अबको संसदमा हाम्रो शक्तिको पनि परीक्षण हुन्छ । एमाले त्यति सहज छैन भनेर देखाउनु छ । त्यसकारण सदन सुरु भएकै दिन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाइएको विषय उठ्छ । त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ हामी त्यसै गरी प्रस्तुत हुन्छौं ।’

सत्तारुढ गठबन्धनको तयारी सदन सुरु भएकै दिन वा भोलिपल्ट बजेट अध्यादेश आवश्यक संशेधनसहित प्रतिस्थापन विधेयक पेश गर्ने छ । तर, प्रतिस्थापन विधेयक समयमै (भदौ ३० गतेभित्र) पास गर्न प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीका कतिपय नियम निलम्बन गर्नुपर्ने छ । नियमावली निलम्बन गर्न विपक्षी दल एमालेको पनि साथ चाहिन्छ ।

सकेसम्म एमालेको समर्थन लिएर अघि बढ्ने कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् । ‘बजेट लगायतका महत्वपूर्ण विषयलाई अगाडि बढाउनुपर्ने छ । यसका लागि सदन सहज ढङ्गले चल्नुपर्ने हुन्छ । सदनलाई सहज रुपमा चलाउने विषयमा प्रमुख प्रतिपक्षी दलसंग छलफल भइरहेको छ’ उनले भनिन् ।

सचेतक भुसालले बजेट महत्वपूर्ण विषय भएकाले यसलाई पारित गर्न एमालेले साथ दिने आशा व्यक्त गरिन् । ‘बजेट जस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने कार्य भयो भने त्यो जिम्मेवार प्रतिपक्षको भूमिका हो भन्ने ठहरिँदैन । त्यस्तो केही गरी संसदमा भयो भने लोकतान्त्रिक प्रक्रिया (बहुमत) का आधारमा निर्णय (नियमावली निलम्बन) गरेर जानुपर्ने हुन सक्छ’ उनले भनिन् ।

तर नियम निलम्बनमा एमालेले साथ नदिने संकेत गरिसकेको छ । ‘सरकारले बजेट पास गर्न नियमावली निलम्बन गर्ने जस्ता विषयमा एमालेसंग औपचारिक छलफल गरेको मेरो जानकारीमा छैन’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।

सांसद सूर्य पाठक नियमावलीको नियम निलम्बनमा साथ नदिने बताउँछन् ‘नियमावली निलम्बन गर्ने कुरामा अघिल्लो सरकारले ल्याएको बजेट जस्ताको तस्तै पारित हुने भयो भने हामीलाई नैतिक संकट पर्छ । अन्यथा नियमावली निलम्बन गर्ने कुरामा एमालेको साथ रहन्न ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि सदन चलाउन जे गर्दा सहज हुन्छ त्यही गरिने बताउँछन् । ‘सदन चलाउन भनेरै लडाइ लडेर आएको हो । त्यसकारण सदनमा अवरोध होला भन्दा पनि हाम्रो ध्यान जे गर्दा सदन चल्छ त्यही गर्नेमा हुन्छ’ गुरुङले भने ।

प्रतिपक्षी दलको कुनै विषयमा विमति भए पनि सदन चल्न रोक्न नमिल्ने गुरुङ बताउँछन् । ‘त्यस्तो भयो भने आवश्यकता अनुसार जे गर्नुपर्छ त्यही गर्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?